‘कर्मचारी समायोजनको कामले’ स्वास्थ्य राज्यमन्त्री यादव थला 



Download our app to get more features

काठमाडौं, २ मंसिर । राज्यका उच्चपदस्थ व्यक्तिहरुले सँधै सरकारी अस्पताललाई उपेक्षा गर्दै उपचारका लागि विदेश तथा निजी अस्पताल जाने प्रचलन छ । भिआईपीले उपेक्षा गर्दा सुनसान बनेको वीर अस्पतालको भीआईपी कक्षले लामो समयपछि बल्ल  एकजना भीआईपी पाएको छ । 

उक्त भिआइपि कक्षमा अरु कोही नभई चिकित्सक समेत रहेका स्वास्थ्य राज्यमन्त्री डा.सुरेन्द्र यादव रहेका छन् । 

सोमबार बिहान करीव ११ बजे वीरको भिआइपी कक्षमा पुग्दा उनी थिएनन् । ढाडको नशा च्यापिने समस्याले ग्रसित उनी फिजियोथेरापी गर्न गएका रहेछन् । वीर अस्पतालको पहिलोतलामा रहेको भिआइपी कक्ष फर्किँदा उनी लिप्ट र त्यसमा पनि दायाँबाँदा साहारा लिएर उपचार कक्षमा प्रवेश गरे । 

उनीसँगै नर्सको पनि प्रवेश भयो । उनले राज्यमन्त्री यादवको रक्तचाप परीक्षण गरिन् साथै ढाडको दुखाइको कस्तो छ भनेर समेत सोधिन् । उनको जवाफ र्फकाउँदै यादवले भने, ‘अहिले अलि ठिक छ ।’ 

चिकित्सकको सल्लाह अनुसार फिजियोथेरापी दिनको दुईपटक गर्ने गरेको उनले बताए । उनी रहेको क्याविनमा आएका सबैलाई उनले स्वास्थ्य अवस्था सुधार हुदै गएको बताए । साथै अझै दुइदिन जति अस्पतालमै रहने सुनाए ।  

कुरा गर्दै जाँदा उनले भने, ‘स्वास्थ्य मन्त्रालयमा समायोजनको चाप धेरै छ । विहानैदेखि बेलुका राति ८–९ बजेसम्म पनि काम गर्दा आफ्नो स्वास्थ्यको ख्यालै भएन ।’ 

उनको भनाइ अनुसार लाग्छ उनी समायोजनकै तनावले बिरामी भएका हुन् । समायोजन सुरु भएको एकवर्ष बित्न लागि सक्दा पनि स्वास्थ्यका कर्मचारीको समायोजन सकिएको छैन् । यहि काममा दिनरात नभनी खटिँदा अस्पतालको बेडसम्म पुग्नुपरेको मन्त्री यादवले दावी गरे ।  

उनको उपचार हाडजोर्नी विशेषज्ञ डा राजिव झाको नेतृत्वमा भइरहेको छ । ढाड दुख्ने र हिँडडुल गर्न नसक्ने भएपछि डा.यादव  शुक्रबार अस्पताल भर्ना भएका हुन् । डा. झाका अनुसार उनको ढाडको नसा च्यापिएको छ र यस्तो अवस्थामा हिँडडुल तथा कुर्सीमा बस्न समस्या हुन्छ । 

साथै उनले सरकारी अस्पतालको उपचार सेवा राम्रो भएको भन्दै प्रशंसा पनि गरे । उनले भीआईपीहरुले सरकारी अस्पताललाई उपेक्षा गरेकोमा दुःख व्यक्त गर्दै भने, ‘हाम्रा सरकारी अस्पताल नै हरेक उपचारका लागि सक्षम छन् । यी अस्पताललाई प्रशय नदिई देशको स्वास्थ्य सेवा सुधार हुनसक्दैन ।’  
 

Last modified on 2019-11-19 11:51:31


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts