चिकित्सक संघमा उम्मेदवार टुंग्याउन प्रजातान्त्रिक समूहलाई सकस, पूर्व अध्यक्षहरु नै विभाजित



Download our app to get more features

काठमाडौं, ४ मंसिर । स्थापनायता चिकित्सक संघमा आफ्नो वर्चस्व कायमै राखेका प्रजातान्त्रिक धारका चिकित्सकहरुलाई आसन्न अधिवेशनका लागि उम्मेदवार टुंग्याउन हम्मेहम्मे परेको छ । 

मनोनयन दर्ता गर्न तीनहप्ता बाँकी रहँदा केहीदिन यता प्रजातान्त्रिक समूहका चिकित्सकहरुले उम्मेदवार टुंग्याउन प्रयत्न गरेपनि साझा सहमति जुट्न नसकेको हो । यद्यपी उनीहरुले अध्यक्षको नाममा भने सहमति जुटाइसकेका छन् । वर्तमान महासचिव डा. लोचन कार्कीलाई अध्यक्षको उम्मेदवार बनाउन सबै एकमत भएपनि त्यसबाहेकका उम्मेदवार टुंग्याउन भने मुश्किल पर्ने देखिएको हो । 

निवर्तमान अध्यक्षको नेतृत्वमा पूर्व अध्यक्षहरु सम्मिलित छनोट कमिटिले उम्मेदवारहरुको नामावली टुंग्याउने प्रजातान्त्रिक समूहको अभ्याँस छ । तर, सो प्रकृया अनुसार टुंग्याइएको भनेर चर्चामा ल्याइएका नामहरुमा सहमति नजुटिसकेको चिकित्सक संघका एकजना पूर्व अध्यक्षले बताए । 

संघका वर्तमान अध्यक्ष मुक्तिराम श्रेष्ठको नेतृत्वमा बनेको कमिटिले पदाधिकारीहरुको नामावली टुंगो लगाएको भनिएपनि छनोट कमिटिमै रहेका ती पूर्व अध्यक्षले यसलाई अस्वीकार गरेका हुन् । उनले भने, 'मनोनयनको समय अझै बाँकी छ, हामी सबैसँग सल्लाह गर्दै छौं, केहीदिनमा सर्वसम्मत रुपमा उम्मेदवारहरु टुंग्याउँछौं ।' बाहिर आएका नामहरु के हुन् त भन्ने प्रश्नमा उनले थपे, 'खोई त्यो नामहरु कसरी आयो वर्तमान अध्यक्षलाई सोध्न पर्ला तर, यति बुझ्नुस् अध्यक्ष बाहेकको पदाधिकारीहरुमा अन्तिम सहमति भैसकेको छैन ।' 

अर्का एक पूर्वअध्यक्षले पनि मनोनयन दर्ता नगर्दासम्म सहमतिको सम्भावना रहने भन्दै यही नाम अन्तिम नहुनसक्ने बताए । तर, उनले अहिले बाहिर आएको सूचिमा धेरै हेरफेर हुने सम्भावना कम रहेको बताए । 'यो नाम पनि छलफलबाटै टुंग्याइएको हो यसमा कतिको असहमति हुनसक्छ, त्यो लोकतन्त्रमा स्वभाविक हो । विस्तारै सबैलाई मिलाउँदै लाने हो ।' उनले भने । उनको भनाइलाई आधार मान्ने हो भने संघको आसन्न चुनावका लागि लोकतान्त्रिक समूहको पदाधिकारीहरुको उम्मेदवारहरु परिवर्तन हुने सम्भावना कम छ । 

संघको चुनावका लागि पाँचजनाले महासचिवमा आकांक्षा देखाएका छन् । जसमध्ये २ जनाले खुलेरै पछिल्लो पटक सहमति भएको भनिएको नाममा असन्तुष्टि जनाइसकेका छन् । महासचिवका आंकाक्षी डा. प्रकाश बुढाथोकी, डा. अनिलविक्रम कार्की लगायतले डा. बद्री रिजाललाई महासचिवको उम्मेदवार बनाउने निर्णय आफुहरुलाई मान्य नहुने बताइसकेका छन् । अन्य आकांक्षी पनि पछिल्लो निर्णयमा असन्तुष्ट देखिन्छन् ।

तर, ती नामहरुमा पछिल्ला अध्यक्षहरु नै एकमत हुन नसकेपछि उम्मेदवार छनौट गर्ने प्रजातान्त्रिक चिकित्सकहरुको कमिटिमै मतभेद रहेको देखिएको छ । महासचिवका उम्मेदवार भनेर नाम टुंग्याइएका भनिएका डा. बद्री रिजाल र छनोट कमिटिका संयोजक रहेका वर्तमान अध्यक्ष डा. मुक्तिराम श्रेष्ठ एमबीबीएसको क्लास मेट भएकाले पनि यो छनोट निश्पक्ष नभएको कतिपयको तर्क छ । केही असन्तुष्टले भने डा. रिजालले आफुभन्दा ढिलो एमडी गरेकाले जुनियर भन्दै असन्तुष्टि व्यक्त गरिरहेका छन्  ।
 

Last modified on 2019-11-24 08:22:38


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts