नेपालका ११ प्रतिशत महिलाले सूर्तिजन्य पदार्थ सेवन गर्ने: सर्वेक्षण 



Download our app to get more features

 काठमाडौं, ५ मंसिर । नेपालका ११ प्रतिशत महिलाले सूर्तिजन्य पदार्थ सेवन गर्ने गरेको सर्वेक्षणले देखाएको छ । नेपालमा नसर्ने रोगको जोखिम तत्वको सर्वेक्षण स्टेप्स सर्वेले  हाल सूर्तिजन्य पदार्थ सेवन गर्नेको प्रतिशत २८.९ रहेको देखाएको छ । सर्वे फेब्रअरी देखि मे २०१९ सम्म नेपाल स्वास्थ्य अनुसन्धान परिषदले गरेको थियो ।  यो सर्वेक्षण १५ देखि ६९ वर्ष उमेर समुहका वयस्कहरुको जनसंख्यामा आधारित रहेको छ । 

सर्वेक्षणमा  ५ हजार ५सय ९३ जनामा वयस्कहरुको सहभागिता रहेको परिषदले जनाएको छ । उक्त अनुसन्धान अनुसार हाल सूर्तिजन्य पदार्थ सेवन गर्ने पुरुष ४८.३ प्रतिशत छन् भने महिला ११.६ प्रतिशत छन् । 

त्यस्तै गरी हाल दैनिक सुर्तिजन्य पदार्थ सेवन गर्नेको प्रतिशत २४.१ छ भने पुरुष ४०.१ र महिला १० प्रतिशत रहेका छन् । 

उक्त सर्वे अनुसार हाल धुम्रपान गर्नेको प्रतिशत १७.१ रहेको छ । जसमा पुरुष २८ र महिला ७.५ प्रतिशत रहेका छन् । हाल दैनिक धुम्रपान गर्नेको सेवन गर्ने १३.३ प्रतिशत रहेका छन् । जसमा पुरुष २०.८ र महिला ६.७ प्रतिशत रहेका छन् । यसरी हेर्दा सर्वेक्षणले के देखाउछ भने सबै धुम्रपान गर्ने व्यक्तिले नियमित धुम्रपान गर्दैनन् । साथै धुम्रपान गर्नेमा पुरुष भन्दा महिला कम रहेको पनि पाइन्छ । 

त्यस्तै हाल चुरोट सेवन गर्नेको प्रतिशत १४.८ प्रतिशत रहेको छ । सर्वेले उत्पादन गरीएको वा हातले बरेको चुरोट सेवन गर्नेलाई समेटेको छ । जसअनुसार चुरोट सेवन गर्नेमा पुरुषको प्रतिशत २४.६ रहेको छ भने महिलाको ६.२ रहेको छ । 

हाल धुवा रहित सुर्तिजन्य पदार्थ सेवन गर्नेको प्रतिशत १८.३ रहेको छ । यसमा पनि महिलाले भन्दा बढि पुरुषले नै सेवन गर्ने गरेको सर्वेले देखाएको छ । जसका अनुसार पुरुष ३३.३ प्रतिशत र महिला ४.९ प्रतिशत रहेका छन् । 

सूतिजन्य पदार्थको सेवन सर्वे अन्तर्गत हाल दैनिक धुँवा रहित सूर्तिजन्य पदार्थ सेवन गर्नेको प्रतिशत १५.३ रहेको छ । त्यस्तै पुरुष २८.२ र महिला ३.८ प्रतिशत रहेका छन् । त्यस्तैगरी दैनिक धुम्रपान गर्ने मध्ये पहिलो पटक धुम्रपान गर्दाको औषत उमेर १७.८ वर्ष रहेको छ । जसमा पुरुषहरु १७.७ र महिलाहरु १८.४ वर्षमा धुम्रपान शुरु गर्ने गरेको पनि सर्वेक्षणले देखाएको छ । र सर्वेक्षणले हाल दैनिक रुपमा विद्युतिय चुरोट प्रयोग गर्नेको प्रतिशत ०.८ रहेको देखाएको छ । यसमा पुरुषको संम्लग्नता १.७ र महिलाको शुन्य रहेको देखाएको छ ।  

परिषदले विहिवार एक कार्यक्रम गरी तथ्यांक सार्वजनिक गरेको हो । सो कार्यक्रमको अवसरमा स्वास्थ्य तथा जनसंख्या सचिव खगराज बरालले तथ्याक सहि र सत्य हुन आवश्यक रहेको भन्दै सर्वेक्षणका बेला यसमा ध्यान दिनुपर्ने पनि सुझाएका छन् । परिषदका अध्यक्ष अन्जनि कुमार झाले अझै विस्तृत र थप अनुसन्धान भइरहेको जानकारी दिए । उनका अनुसार मानसिक स्वास्थ्य सम्बन्भि अनुसन्धानको रिपोट अव चाडौं आउने छ । 
 

Last modified on 2019-11-24 08:26:29


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts