डाक्टरहरुको संगठन बलियो हुँदै, तीनवर्षमै चिकित्सक संघमा सदस्य संख्या दोब्बर

यस्तो छ आसन्न निर्वाचन तालिका



Download our app to get more features

काठमाडौं, १५ मंसिर । चिकित्सकहरुको छाता संगठन नेपाल चिकित्सक संघमा सदस्यता लिने चिकित्सकहरु ह्वात्तै बढेका छन् । 

तीनवर्ष अघि भएको अधिवेशनमा ६ हजार चिकित्सक सदस्य रहेको संघमा यो पटकसम्म आउँदा झण्डै दोब्बर सदस्य पुगेका हुन् । आसन्न अधिवेशन अघि खुल्ला गरिएको सदस्यता आवेदन दिने सदस्यमात्र करिब साँढे ५ हजार पुगेको संघका प्रमुख प्रशासकीय अधिकृत मिलनचन्द्र खनालले जानकारी दिए । अघिल्लो पटकको अधिवेशनसम्म संघमा जम्मा ६ हजार ७२ चिकित्सक सदस्य थिए । 'यो पटक ह्वात्तै सदस्य बढेका छन् । यो अभूतपूर्व हो ।' प्रमुख प्रशासकीय अधिकृत खनालले हाम्रो डक्टरसँग भने । 

किन बढ्यो आकर्षण ? 
अघिल्लो वर्ष संसदबाट पास भएको मुलुकी संहितामा राखिएको चिकित्सक लक्षित व्यवस्थाको विरोध गर्दै चिकित्सकहरु निरन्तर आन्दोलनमा रहनुले पनि संघमा सदस्य बढाउनमा भूमिका खेलेको छ । त्यस्तै चिकित्सकहरु लामो समयदेखि कार्यस्थलमा चिकित्सकमाथि हुने दुव्र्यवहार र हिंसाका विषयमा पनि आवाज उठाइरहेका छन् । उनीहरुले कार्यस्थलमा चिकित्सकमाथि हिंसा गर्नेहरुलाई बिना धरौटी जेल चलानको माग गर्दै आएका छन् । जेल विथवाउट बेलको व्यवस्था स्थापित गराउन चिकित्सा क्षेत्रका नेताहरुले धेरैभन्दा धेरै चिकित्सकहरुलाई संघमा सदस्य बन्न प्रोत्साहित गर्नुले पनि यो पटकसम्म आउँदा सदस्यको संख्यामा भारी बढोत्तरी देखिएको छ । 

मनोनयन र दावी विरोध ३० गतेसम्म
संघको सदस्यता आवेदन लिने समय सकिएको छ । अब आगामी २४ र २५ गते सदस्यहरुमा दावी विरोध गर्ने समय राखिएको छ । संघको आसन्न निर्वाचनका लागि २६ गते मनोनयनको फारम वितरण र अन्तिम नामावली प्रकाशन गर्ने कार्यसूचि रहेको छ । त्यस्तै २७ गते र २८ गते उम्मेवारहरुको मनोनयन दर्ता गर्ने र २८ गते पहिलोपटक उम्मेवारहरुको नामावली प्रकाशन गरिने छ । मंसिर ३० गतेका लागि उम्मेदवारी फिर्ता लिने समय दिएर सोही दिन अपरान्हसम्म उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरिने कार्यतालिका रहेको संघका प्रमुख प्रशासकीय अधिकृत खनालले जानकारी दिए । 

साताव्यापी चुनाव हुने 
संघको यसपालीको चुनाव साताव्यापी रुपमा हुने भएको छ । मंसिर ३० गतेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेपछि थप एकमहिना प्रचार प्रसारलाई समय राखिएको छ । माघको सुरु देखि भने निर्वाचन कार्यक्रम रहेको छ ।  संघको देशभर रहेका १६ वटा शाखामा माघ ४ र ५ गते दुईदिन निर्वाचन हुँदैछ भने माघ १७ गतेदेखि केन्द्रमा पाँचदिन मतदान गर्ने तालिका बनाइएको छ । धेरैजसो व्यस्त रहने पेशाकमी भएकाले मतदानका लागि यथेष्ट समय दिइएको संघले जनाएको छ । धेरैभन्दा धेरै चिकित्सक सहभागी गराउन संघले समयावधी लम्व्याएको हो । संघको अघिल्लोपटक सम्मको चुनावमा खासै धेरै चिकित्सक मतदानमा सक्रिय रुपमा सहभागी भएका छैनन् । तीनवर्ष अघि भएको चुनावमा पनि करिब आधामात्र मत खसेको थियो । यो पटक धेरै चिकित्सक उत्साहपूर्ण किसिमबाट संघको सदस्य बनेकाले मतदान गर्नेको सख्यापनि बढ्ने अनुमान गरिएको छ । 
 

Last modified on 2019-12-02 07:45:17


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts