प्रदेश ३ मा सबै भन्दा धेरै एचआइभी संक्रमित



Download our app to get more features

काठमाडौं, १५ मंसिर । स्वास्थ्य सेवा विभाग अन्तर्गतको राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रका अनुसार सबै भन्दा धेरै एचआइभी एड्स संक्रमित प्रदेश नम्बर ३ मा रहेका छन् । केन्द्रका अनुसार प्रदेश ३ मा ५५८ जना एचआइभी संक्रमित छन् । यस्तैगरी सबै भन्दा कम संक्रमित कर्णाली प्रदेशमा रहेका छन् । कर्णाली प्रदेशमा जम्मा २५ जना मात्रै संक्रमितको पहिचान भएको केन्द्रले जनाएको छ । 

यस्तै गरी क्रमशः प्रदेश १ मा २८७, प्रदेश २ मा ३७३, गण्डकी प्रदेशमा १६५, प्रदेश ५ मा ५५२ र सुदुरपश्चिम प्रदेशमा ३१३ जना संक्रमित रहेको केन्द्रको तथ्यांकमा उल्लेख छ ।  

नेपालमा ३० हजार एचआइभी संक्रमित
केन्द्रको तथ्यांक अनुसार २९ हजार ९ सय ७४ जना एचआईभी संक्रमित रहेका छन् । जसमध्ये पुरुषको संख्या १७ हजार ७ सय ६२ र महिलाको संख्या १२ हजार २ सय १२ जना रहेका छन् ।

नेपालका वयस्क ( १५ देखि ४९ वर्षको उमेर समूह ) जनसंख्यामा एचआईभीको उच्च जोखिम दर ०.१४ प्रतिशत छ । नेपालमा करिब ७६ प्रतिशत एचआईभी संक्रमण असुरक्षित यौन सम्पर्कबाट भएको पाईएको छ । 
नेपालमा  सुईद्वारा लागूपदार्थ प्रयोगकर्ता, यौनकर्मी, पुरुष समलिंगी तथा तेस्रोलिंगी, रोजगारीका लागि विदेशिनेहरू र जेलका कैदीहरू एचआईभी संक्रमणको  जोखिममा छन् । यीमध्ये पनि सुईद्वारा लागूपर्दाथ प्रयोग गर्ने र पुरुष समलिंगी यौनकर्मीमा एचआईभी संक्रमणको जोखिम उच्च छ । 

एड्स कार्यक्रम सञ्चालनमा साढे ५४ करोड
स्वास्थ्य मन्त्रालयले एचआईभी एड्स कार्यक्रम सञ्चालनका लागि ५४ करोड ६९ लाख बजेट विनियोजन गरेको छ । सो रकम औषधि खरिद, संक्रमण भएका व्यक्तिहरूको उपचार, तालिम लगायतमा खर्च गरिने केन्द्रले जनाएको छ । विश्वमा सन् २००४ लाई सबैभन्दा बढी एचआईभी संक्रमितको मृत्यु भएको वर्षका रूपमा चिनिन्छ । भने सन् २०१९ मा आइ पुग्दा एचआईभी संक्रमितको मृत्युदर ५६ प्रतिशतले घटेको छ ।  

सन् २०१८ मा विश्वका २ करोड ३३ लाखले एचआइभी उपचार पाएका छन् । जसमा सन् २०१९ जुलाईसम्म १७ हजार ९ सय ८७ जना नेपाली एचआइभी उपचार गराइरहेका छन् । सन् २०२० सम्म संक्रमितहरूले आफ्नो संक्रमण अवस्थाबारे ९० प्रतिशतले थाहा पाउने, ती मध्ये ९० प्रतिशतको औषधि उपचारमा पहुँच हुने र ती औषधि खानेहरूमध्ये ९० प्रतिशतको शरीरमा भाइरसको भार न्यून भएको हुने केन्द्रले जनाएको छ ।
 

Last modified on 2019-12-02 07:45:26


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts