२५ प्रतिशत नेपालीले खान्छन् उच्च रक्तचापको औषधि

कुन प्रदेशमा कति ? 



Download our app to get more features

काठमाडौं, २० मंसिर । करिब २५ प्रतिशत नेपालीले उच्च रक्तचाप नियन्त्रण गर्ने औषधि खाइरहेको एक अध्ययनले देखाएको छ । स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको स्टेप्स सर्वेका अनुसार कुल २४.५ प्रतिशत नेपालीले रक्तचाप नियन्त्रणसम्बन्धी औषधि सेवान गरिरहेका छन् । औषधि सेवन गर्ने मध्ये २९.८ प्रतिशत पुरुष छन् भने १९.७ प्रतिशत महिला छन् । 

सर्वे अनुसार नेपालमा रगतमा चिनीको मात्रा बढी हुने वा रगतमा चिनीको मात्रा बढि भएकै कारण औषधि सेवन गरिरेका ५.८ प्रतिशत छन् । जसमध्ये पुरुष ६.३ र महिला ५.३ प्रतिशत रहेका छन् । कोलेस्टेरोलसम्बन्धी औषधि सेवन गरिरहेका ११.१ प्रतिशत रहेका छन् । कोलेस्टेरोलको औषधि सेवन गर्नेमा ७.८ प्रतिशत पुरुष छन् भने १४ प्रतिशत महिला छन् । 

मुटुबाट बाहिरिने रगतद्वारा रक्तनलीमा परेको चापलाई रक्तचाप भनिन्छ । ठिक्क रक्तचाप भनेको १२०/८० हो । १८ वर्षभन्दा माथिका मानिसमा यदि माथिल्लो ब्लड प्रेसर (सिस्टोलिक) १४० अथवा त्यस भन्दा बढी र तल्लो (डायस्टोलिक) ब्लड प्रेसर ९० वा त्यस भन्दा बढी पुगे उच्च रक्तचाप भएको मानिन्छ । 

अनुसन्धानअनुसार प्रत्येक ५ जना वयस्क व्यक्तिहरुमध्ये एक जनामा उच्च रक्तचाप पाइएको छ । स्ट्रोक र मुटु रोगले हुने मृत्युको ५० प्रतिशत कारण उच्च रक्तचाप हो । उच्च रक्तचापको कारण करिब १० प्रतिशत बिरामीमा मात्रै पत्ता लाग्ने गर्छ । 

यस्ता व्यक्तिलाई उच्च रक्तचापको जोखिम उच्च
धुम्रपान गर्ने पिउने, रक्सी सेवन गर्ने, शारीरिक क्रियाकलाप पटक्कै नगर्ने, धेरै चिल्लो खाने, धेरै नुन खाने, अत्यधिक मोटोपन भएका, धेरै तनाव लिने, वंशानुगत रुपमा परिवारमा उच्च रक्तचाप भएका व्यक्तिहरुमा उच्च रक्तचापको जोखिम बढी हुन्छ ।

प्रादेशिक अवस्था
उच्च रक्तचापको औषधि खानेमा गण्डकी प्रदेश सबै भन्दा अघि छ भने सबै भन्दा पछि प्रदेश २ छ । 
प्रदेश १:           २६.६
प्रदेश २:           १८.७
प्रदेश ३:            २५.२
गण्डकी प्रदेश :   २९.९
प्रदेश ५:             २८.२
कर्णाली प्रदेश:      २१.४
सुदूरपश्चिम प्रदेश:   २१.०

Last modified on 2019-12-08 06:16:10


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts