नर्सिङ संघका पुरुष उम्मेदवार, भन्छन्ः नर्स भन्ने बित्तिकै महिला नै बुझ्नुपर्छ ?



Download our app to get more features

काठमाडौं, २५ मंसिर । आउँदो पुषको दोश्रो साता हुन लागेको नेपाल नर्सिङ संघको चुनावका लागि यतिबेला उम्मेदवारहरु नर्सहरुसँग भोट माग्नमा व्यस्त छन् । उनीहरु नर्सिङ क्षेत्रका विभिन्न मुद्दाहरु उठाएर भोट बढाउन लागिपरेका छन् । 

त्यसै अन्तर्गत बुधवार राजधानीमा आयोजित एक कार्यक्रममा सत्तारुढ नेकपा निकट मानिएको प्रगतिशिल समूहले पत्रकार सम्मेलन गर्दै १९ बुँदे प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । प्रगतिशिल समूहले आफ्नो प्यानलमा दुईजना पुरुष उम्मेदवारपनि समाहित गरेको छ । प्रगतिशिल प्यानलमा वरिष्ठ उपाध्यक्षमा चितवन मेडिकल कलेजमा मेन्टल हेल्थ एण्ड साइक्याट्री नर्सिङ शाखाको प्रमुख रहेका मेल स्टाफ नर्स रमेश सुब्बालाई उठाएको छ ।

सुब्बाले वीरगञ्ज नर्सिङ क्याम्पसबाट २०५० सालमा स्टाफ नर्स पास गरेका हुन् । तर, स्टाफ नर्समा काम नदिएपछि उनले सुरुमा अनमीका रुपमा काम गरेका हुन् । उनले भने, 'त्यहीबेला देखि नै मलाई नर्सजगतमा रहेका विकृति विसंगति विरुद्ध लाग्नुपर्ने प्रेरणा मिलेको हो ।' त्यसो त स्टाफ नर्स पास गरेको ६ महिनापछि सुब्बाले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अन्तर्वार्तामा नाम निकालेर २०५० को अन्ततिर नर्स भए । त्यसयता नर्सिङ क्षेत्रलाई गरिने विभेद र यसमा रहेका विकृतिहरु विरुद्ध आवाज उठाउँदै आएको सुब्बा बताउँछन् । 

तपाईं पुरुष कोटाबाट उम्मेदवार बनेको हो ? भन्ने प्रश्नमा सुब्बा भन्छन्, 'पहिलेपहिले म आफैपनि आफुलाई मेल नर्स भनेर चिनाउँथे तर, नर्स भनेको नर्स नै हुन्छ महिला वा पुरुष हुँदैन । अमेरिकी नर्सिङ संघको अध्यक्ष नै पुरुष छन् । यसमा कोटा भन्ने त प्रश्नै आउँदैन । म कोटाप्रथाको विरोधी हो । नर्सिङ शिक्षामा १५ प्रतिशत पुरुष कोटो भन्ने विषय पनि मलाई मन परेको छैन ।' 

त्यस्तै संघको निर्वाचनका लागि प्रगतिशिल प्यानलले जनजाती सदस्यमा पनि पुरुषलाई नै उम्मेदवार बनाएको छ । भक्तपुरको भक्तपुर अस्पतालमा नर्सिङ निरीक्षकका रुपमा कार्यरत हरिप्रसाद कोजू उम्मेदवार बनेका छन् । उनी २६ वर्षयता नर्सिङ पेशामा क्रियाशिल छन् । उनले नर्सिङ क्षेत्रमा पुरुषको सहभागिता र अस्तित्वका लागि आफुहरु निर्वाचनमा होमिएको बताए । उनले भने, 'पहिले तीनचार व्याचमात्र पुरुष नर्स भए । त्यसमध्येपनि कतिले पेशा परिवर्तन गरे, कोही विदेश गए तर, हामी ४०-५० जना अझै कार्यरत छौं । अघिल्लो वर्षदेखि त नर्सिङ शिक्षामा पुरुषको १५ प्रतिशत कोटा राखिएको छ ।'

नर्सिङ सेवा विशुद्ध मानवसेवाको काम भएकाले यसमा महिला वा पुरुष भनेर विभेद गर्न नहुने पुरुष उम्मेदवारहरुको भनाइ छ ।

Last modified on 2019-12-19 15:32:10


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts