मधुमेहले आँखामा पार्ने असर र रोकथाम



Download our app to get more features

शरीरको प्यानक्रियाजबाट निस्कने इन्सुलिन नामको ग्रन्थिरसको कमी भएर वा यसले गर्नुपर्ने काममा रोकावट आएर, रगतमा ग्लुकोजको मात्रा बढ्नुलाई मधुमेह भनिन्छ । प्राय ४५ वर्ष माथिका व्यक्तिलाई देखा पर्ने यो रोगलाई कुनै उमेर तथा लिंगको छेकवार छैन् । यो वंशाणुगत तथा धेरै मोटो, शारीरिक व्याम कम गर्ने व्यक्तिमा चाडै देखा पर्छ । धेरै पिसाब हुने, तिर्खा ज्यादै लाग्ने, राम्ररी खाना खाए पनि दुब्लाउदै जाने, बारबार घाउखटिरा आउने र छिटो निको नहुने, बेहोस हुने जस्ता लक्षण यस रोगमा देखा पर्छन् । 

पहिलो प्रकारको मधुमेह बच्चामा देखिन्छ भने दोस्रो प्रकारको मधुमेह वयस्कमा हुने गर्छ । नेपाल लगायत विश्वभर नै मधुमेह एक विकराल  स्वास्थ्य समस्याको रुपमा दिनप्रतिदिन बढ्दै गएको छ । मधुमेहका बिरामीमा अन्य व्यक्तिको तुलनामा दुई गुणा बढी आँखाको समस्या देखिन्छ । आँखामा हुने समस्याहरु मध्ये डाइबेटिक रेटिनोपेथी दृष्टिविहिन गराउने कारण मध्ये एक हो । 

डाइवेटिक रेटिनोपेथीमा दृष्टि पर्दाका रक्तनलीमा असर पुर्याइ पर्दामा रक्तस्राब र चिल्लो जम्नुका साथै समयमै उपचार नभए दृष्टि पर्दामा अत्याधिक सुजन तथा पर्दा उप्कन गई सधैका लागि दृष्टि गुम्न सक्दछ । डाइवेटिक रेटिनोपेथी मधुमेह रोग नियन्त्रणमा नहुने व्यक्तिहरूमा, मधुमेह रोगको अवधि बढ्दै जाँदा, गर्भावस्था साथमा उच्च रक्तचाप र रगतमा चिल्लो पदार्थको अधिकता, रक्तअल्पता हुने व्यक्ति मिर्गाैलाको समस्या तथा धुम्रपान गर्ने व्यक्तिमा बढी देखिन्छ । 

मधुमेह रोग भएको २० वर्षमा पहिलो प्रकारको मधुमेहको सबै बिरामी र करिब ७० देखि ८० प्रतिशत दोस्रो प्रकारको मधुमेहका बिरामीमा डाइवेटिक रेटिनोपेथी देखिन्छ । 

आँखाको दृष्टि पर्दामा असर भए पनि व्यक्तिमा कुनै पनि लक्षण हुँदैन । आँखा धमिलो हुँदासम्म रेटिनामा अपुरणीय क्षति भइसकेको हुन्छ । आँखाको नानी फुलाई दृष्टि पर्दा जाँच गर्दा नेत्र विशेषज्ञले सुरुको अवस्थामा यस रोगको असर पहिचान गर्न सक्छन् । समयमै लेजर पद्धतिबाट उपचार गर्दा दृष्टि गुम्नबाट बचाउन सकिन्छ तर दृष्टि पर्दामा पहिल्यै धेरै असर परिसकेको छ भने दृष्टि पुनः फर्काउन मुस्किल हुन्छ । मधुमेहका बिरामीले रगतमा चिनी, चिल्लो पदार्थको मात्रा र उच्च रक्तचाप सधैं नियन्त्रणमा राख्नुको साथै धुम्रपानबाट टाढा रहनु पर्छ । डाइवेटिक रेटिनोपेथीको समयमै उपचार भए धेरै हदसम्म दृष्टि बचाउन सकिन्छ । 

मधुमेहले आँखामा पार्ने असरहरू 
मधुमेहले शरीरका महत्वपूर्ण अंगहरु जस्तै स्नायु, मिर्गाैला, मुटुका साथै आँखामा विभिन्न जटिल समस्या निम्त्याउँछ । पटक पटक आनो आउने, आँखा सुख्खा हुने, छिटोछिटो चश्माको पावर परिवर्तन हुने, मोतियाविन्दु छिटो देखा पर्ने, जलविन्दुको सम्भावना बढी हुनेलगायत आँखाको पर्दामा गम्भीर असर देखा पर्छ ।

एक तथ्यांक अनुसार संसारमा ४.८ प्रतिशत अन्धोपना यही कारणले हुने गरेको छ । मधुमेहले मुख्यतः आँखाको पर्दाको रक्तसञ्चारमा प्रभाव पार्छ । 

मधुमेहका कारणले हुने अन्धोपनबाट बच्न अपनाउनु पर्ने सावधानी

  • मधुमेहलाई सधैं नियन्त्रणमा राख्ने । 
  • मधुमेह रोग पहिचान हुनासाथ र त्यसपछि कम्तीमा वर्षमा एक पटक नियमित आँखाको नानी फुलाई नेत्र चिकित्सकद्धारा आँखा परीक्षण गराउने ।
  • मधुमेहले मिर्गाैलामा असर गरिसकेका, उच्च रक्तचापको समस्या भएका र गर्भवती महिलाले विशेष सावधानी अपनाउने ।
  • धुम्रपानबाट टाढै रहने ।

उपचार प्रक्रिया 

लेजर पद्धती 
यो विशेष किसिमको लाइट बिमले आँखाको पर्दामा गरिने एक प्रकारको उपचार हो । लेजरले मधुमेहका कारण आँखाको पर्दामा देखिएको सुजन, रक्तश्राव र नयाँ रक्तनलीहरुको वृद्धिलाई कम गरी अरु बिग्रनबाट जोगाउँछ । 

सुईको माध्यमबाट गरिने उपचार 
मधुमेहको कारणले आँखाको पर्दामा देखिएको अत्याधिक सुजन, रक्तश्राव र नयाँ रक्तनलीहरूको वृद्धिलाई कम गर्न लेजरका साथै सुईद्धारा आँखाको भित्री पानीमा विशेष औषधि पठाई उपचार गरिन्छ । 

भिट्रियोरेटिनल शल्यक्रिया 
आँखाको पर्दा उप्किएमा अथवा आँखाभित्र धेरै समयसम्म अत्याधिक रगत जम्मा भई लेजर गर्न नमिल्ने अवस्थामा शल्यक्रिया गरिन्छ । शल्यक्रिया गर्दा आँखाभित्र जमेको रगत सफा गरिन्छ । साथै उप्केको पर्दालाई यथास्थितिमा राख्न गम्भीरता अनुसार ग्याँस अथवा तेल आँखा भित्रको पानीमा राख्नुपर्ने हुन्छ । यो उपचार पद्धति नै भिट्रियोरेटिनल शल्यक्रिया हो ।  

स्रोत ः डाइवेटिक रेटिनोपेथी कार्यक्रम, तिलगंगा आँखा अस्पताल
 

Last modified on 2020-01-13 12:06:38


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts