कस्मेटिक सर्जरीबाट गालामा डिम्पल



Download our app to get more features

सुन्दर बन्नका लागि गरिने सर्जरी कस्मेटिक सर्जरी हो भने क्यान्सरलगायत रोग लागेर गरिने सर्जरी रिकन्स्ट्रक्टिभ सर्जरी हो । कस्मेटिक सर्जरी गरेर अनुहार, आँखा, कान, नाक, स्तन मिलाउन सकिन्छ । पछिल्लो समय कस्मेटिक सर्जरी गरेर सुन्दर बन्नेकोे आकर्षण देखिन्छ । 

उमेर ढल्किँदै जाँदा छाला चाउरी पर्दै जान्छ । यसरी चाउरिएको अनुहारको छाला कस्मेटिक सर्जरीबाट टाइट गर्न सकिन्छ, जसलाई फेस लिफ्ट गर्ने भनिन्छ । सर्जरी गरेर छाला टाइट पारेपछि अनुहार चम्किलो देखिन्छ, सुन्दर देखिन्छ । अनुहारको सर्जरी गर्न करिब २० हजार खर्च हुन्छ । 

आजकाल गालामा डिम्पल बनाउने पनि चलन छ । मुखभित्र टाँका लगाएर मुखमा डिम्पल बनाउन सकिन्छ । विशेषगरी युवा–युवतीले गालामा डिम्पल बनाएको देखिन्छ । 

आँखाको पनि कस्मेटिक सर्जरी
चिम्सो आँखाको पनि आकार मिलाउन सकिन्छ । कस्मेटिक सर्जरी गरेर चिम्सो आँखालाई गोलो बनाउन सकिन्छ । सानो आँखा ठूलो बनाउन सकिन्छ । सामान्यतया युवाले आँखा मिलाउन कस्मेटिक सर्जरी गरेको देखिन्छ । उमेर ढल्किँदै गएपछि आँखाको ढकनीको छाला पनि लत्रिएर आँखा हेर्न अप्ठेरोसमेत हुन्छ । सर्जरी गरेर आँखा खुला बनाउन सकिन्छ । अप्रेसन गरेर नमिलेको आँखा मिलाउन सकिन्छ । 
आँखाको कस्मेटिक सर्जरी गर्दा जोखिम खासै हुँदैन । नदुख्ने सुई लगाएर एकदेखि डेढ घन्टामै आँखा मिलाउन सकिन्छ । अस्पतालमा भर्ना भएर बस्नु पनि पर्दैन । तर, करिब एक साता घरमै आराम गरेर बस्नुपर्छ । हल्का सुन्निन्छ पनि । आँखाको सर्जरी गर्नेबित्तिकै बाहिर हिँड्दा हेर्न अप्ठेरो हुने भएकाले आराम गर्नुपर्छ ।

फेरि मिलाइरहनुपर्छ कि ?
एकपटक सर्जरी गरेर मिलाएको आँखा फेरि मिलाउनुपर्दैन । चिम्सो आँखा खोल्दा भने पुनः जीवनभर कस्मेटिक सर्जरी गरेर आँखा खोल्नुपर्दैन । तर, ढल्किँदो उमेरमा आँखाको ढकनीको छाला लत्रिएर गरेको सर्जरीमा भने फेरि पनि छाला लत्रिँदै जान सक्छ । 

धेरै उठेको नाक छ भने सर्जरी गरेर नाकको उठेको भाग बसाउन सकिन्छ । नाकको बीचको भाग (नाकेडाँडी) गाडिएको वा खाल्डो भएको छ भने करङको कुरकुरे हड्डी नाकमा ल्याएर अप्रेसन गरिन्छ । बांगिएको नाक सीधा गर्न सकिन्छ भने सर्जरी गरेर थेप्चो नाक उठाइन्छ ।
 
नाकको अप्रेसन कति जोखिम ?
नाकको अप्रेसन गर्दा भने व्यक्तिलाई बेहोस बनाएर गरिन्छ । नाकको अप्रेसन गर्दा दुई–तीन दिनसम्म अस्पतालमा भर्ना भएर बस्नुपर्छ । अप्रेसन गरेपछि करिब दुई साता आराम गर्नुपर्छ । त्यस्तो धेरै जोखिम भने हुँदैन । कहिलेकाहीँ अप्रेसन गर्दा रगत जम्मा हुन सक्छ । व्यक्तिले चाहना गरेजस्तो आकारमा नाकको आकार नबन्न सक्छ । ठ्याक्कै सोचेजस्तो सेपमा नाक नमिल्न सक्छ । नाक मिलाउने अप्रेसन पनि एकपटक गरे पुग्छ । कहिलेकाहीँ इन्फेक्सनको जोखिम भने हुन्छ । तर, उपचारपछि ठीक हुन्छ । नाकको सर्जरी गर्दा ५० हजारभन्दा माथि खर्च लाग्छ । 

त्यसो भए नमिलेको कान पनि मिलाउन सकिन्छ ?
नमिलेको कान पनि मिलाउन सकिन्छ । कान अगाडि फर्किएको अवस्थामा कानको कस्मेटिक सर्जरी गरेर मिलाउन सकिन्छ । अप्रेसन गरेर मिलाइन्छ । कानको पनि एकदेखि डेढ घन्टामा सर्जरी गरेर मिलाउन सकिन्छ । अस्पतालमै भर्ना हुनु पनि पर्दैन । कानको कस्मेटिक सर्जरी गरेर मिलाउन भने करिब ३५ देखि ४५ हजारको हाराहारीमा खर्च लाग्छ ।

सर्जरीबाट स्तन पनि मिलाउन सकिन्छ ?
सर्जरी गरेर नमिलेको स्तन मिलाउन सकिन्छ । स्तनको सर्जरी दुई तरिकाको हुन्छ । एउटा कस्मेटिक सर्जरी, अर्को हो रिकन्स्ट्रक्टिभ सर्जरी । अप्रेसन गरेर स्तनको सर्जरी गर्न सकिन्छ । स्तनभित्र सिलिकन वा नर्मल स्लाइन राखेर पनि गरिन्छ । ननसर्जरी, जुन सुईको माध्यमबाट गरिन्छ । नेपालमा भने सुईको माध्यमबाट सर्जरी गर्ने चलन छैन । 

स्तनको कस्मेटिक सर्जरी गरेर सानो स्तनलाई ठूलो बनाउन सकिन्छ । ठूलो स्तनलाई सानो बनाउन सकिन्छ । झोलिएको स्तनलाई टाइट बनाउन सकिन्छ । 

इच्छाअनुसारका स्तनका आकार 
महिलाको स्तनभित्र सिलिकन (इम्प्लान्ट) राखेर स्तन ठूलो बनाउन सकिन्छ । सिलिकन एक किसिमको नरम रबर हो । सिलिकन स्तनजस्तै आकारको हुन्छ । कत्रो स्तन बनाउने हो, इच्छाअनुसारका सिलिकनका साइज स्तनमा राखेर महिलाका स्तन मिलाउन सकिन्छ । आफ्नै शरीरको बोसो निकालेर स्तनमा राखेर पनि स्तन ठूलो बनाउन सकिन्छ । स्तनको छालाभित्र आफ्नै शरीरकोे मासु राखेर पनि स्तनको साइज ठूलो बनाउन सकिन्छ । स्तन ठूलो बनाउने विधिमा सिलिकन नै राम्रो विधि हो । नेपालमा स्तनको साइज मिलाउने प्रवृत्ति बढिरहेको देखिन्छ ।
 

Last modified on 2020-01-13 12:22:17


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts