उपहारको मोबाइलले अस्पतालको दौड 



Download our app to get more features

पञ्चमाया (सबै नाम परिवर्तित छन्) ले श्रीमानलाई विदेश नजान खुबै सम्झाई । दुःख गरेरै भए पनि घरमा सँगै बसी काम गरौं, विदेश नजानु भनी । समाजमा फैलिएको लहरले उसका श्रीमान रहरमानलाई के छाड्थ्यो र । सुनै फल्छ, सबै गएका छन्, महंगी र बढ्दो खर्चले गर्दा घर चल्नै मुस्किल भयो, केही वर्ष त हो... रहरमानको कुराले पञ्चमायाको मन पग्लियो । पञ्चमायाले पनि भएका गरगहना, खेतबारी धितो राखेर श्रीमानलाई विदेश पठाई । पतिसँग बिछोडिँदा पञ्चमाया र पत्नीसँग टाढिँदा रहरमान सोचेभन्दा धेरै नै तड्पिए । कतिबेला त विदेशको बसाइ र काम रहरमानलाई ओकल्नु न निल्नु भयो । तर के गर्नु, जे भए पनि केही वर्षको कुरा न हो भन्दै एकअर्कोलाई सम्झाउँदै समय बिताउन थाले । कुराकानीको अन्तिममा सधै अब फर्केपछि त जान्न र जान दिन्न भन्नेमा टुङ्गिन्थ्यो । 

समय ढिलै भए पनि बित्दोरहेछ । एकले अर्काको समर्पण र विश्वासको आड पाएपछि बिस्तारै प्रतिकुल परिस्थिति पनि अनुकुल बन्दै गयो । रहरमानको लगनशिलताले काममा अलि होलो हुँदै र कमाइ बढ्दै जाँदा ऋण सकिँदै गयो । बचत पनि हुन थाल्यो । यता पञ्चमाया पनि श्रीमानको इमान्दार, बफादार र निष्ठावान पत्नी थिई । परस्परको समझदारीले गर्दा पहिलेका बिछोड र दुःख अब सुखमा अनुवाद भएझैं लाग्थ्यो  । उनीहरुलाई फोन मोबाइलमै भए पनि कुरा गर्दा आनन्द हुन्थ्यो । एकले अर्काको कल कुरेको हुन्थ्यो । यस्तैमा रहरमानको घरै फर्कने बेला पनि भयो । ‘मुटुको टुक्रा जस्ती पञ्चमायालाई के गिफ्ट लानु, कति दिन घोरियो । टाढा बस्दा आफ्नै मोबाइल नभएर अरु कहाँबाट फोनमा कुरा गर्न उसलाई अप्ठ्यारो परेको होला । अलि राम्रो मोबाइल लगि दिनुपर्ला, यता अलि सस्तो पनि हुन्छ’ रहरमानले ठम्यायो । तर श्रीमतीले भने महंगो मोबाइल नचाहिने अड्डी कसिन । श्रीमतीलाई जसोतसो मनाएर मोबाइल उपहार दिने रहरमानले एक मन पनि सोचेका थिएनन, भोलि गएर के हुनेवाला छ ! 

फेरि बिदेश नजाने भन्ने रहरमान र जान दिन्न भनेर नथाक्ने पञ्चमायालाई श्रीमान विदेश हुनु खासै फरक पर्न छाड्यो । परस्परमा माया, विश्वास र समझदारी भएपछि भन्ने दुबैलाई लाग्यो । रहरमान पनि कम्पनीको समय अनुसार खुरुखुरु फर्किहाले । अब त हातमा मोबाइल छ । झन् सजिलो भो, मन लाग्यो कि हेलो गर्यो । 

यता, पञ्चमाया बिस्तारै मोबाइलको उपयोग गर्न थाली, सिक्दै गई । फेसबुक, भाइबर च्याट आदिमा रस लाग्न थाल्यो । फेसबुकबाट साथीभाइ, संगी, नातागोतासँग गाँसिन पनि मज्जा । यस्तैमा एक दिन एउटा फ्रेन्ड रिक्वेस्ट आयो । नाम त सुने जानेको र प्रिय लाग्ने थियो । मान्छे पहिले कता हराएको हो, अब भने बारबार म्यासेज पनि आउन थाल्यो । भेटघाट र कुराकानी पनि बाक्लिन थाल्यो । कुराकानी र भेटघाट बाक्लिएपछि उनलाई विवाहित र सर्वस्व त्याग्ने श्रीमान रहरमानकी पत्नी भएको पनि बिर्से जस्तै हुनथाल्यो । उ पञ्चमायाको पहिलेको मन पर्ने केटासाथी क्लासमेट थियो । 

श्रीमतीको बिश्रृंखलित मनस्थितिको भनक पाएर रहरमान अविलम्ब घर आए । कुरा बुझ्दा छाँगाबाट खसेझैं भए । तै उनले आश मारेनन् र पहिले अरु बिरामी उपचारको लागि आउने क्रममा चिनजान भएको आधारमा दुवै श्रीमानश्रीमती मेरो क्लिनिकमा आए । दुवैले आ–आफ्ना कुरा इमान्दारीपुर्वक राखे । पञ्चमायाले आफू पहिलेको सम्झना, माया र सामीप्यले दिग्भ्रमित र बसिभुत भएको महसुस गरिन । समयमै आगो निभाउन सकेकोमा रहरमानप्रति अनुग्रहित पनि भई । रहरमान अब घरमै परिवारसँगै बस्ने निर्णयमा पुगे । उनीहरूलाई त्यो मोबाइल एउटा अबिस्मरणीय शिक्षा याद दिलाइरहन्छ । 

श्रीमान भट्टराई शहरका जानेमाने व्यक्ति हुन् । अलिकति राजनीति, बढी समाजसेवामा सक्रिय भन्न रुचाउने । उमेरले ६० टेक्नै लागेका सफल व्यापारी, असल र उद्यमशील छोराछोरीहरूका गर्विला पिता र पहिलेका प्रभावशाली शिक्षक । गाउँठाउँमा केही पर्यो, केही आयोजना भयो, कसैलाई केही लाग्यो, तिनका जानकारीबाट पर रहने कुरै भएन । रहँदाबस्दा धेरै महिलापुरुषसँग भट्टराईसरको सम्पर्क भैरहने । उनको सामाजिक सञ्जाल सरदर भन्दा बढी व्यापक भन्ने प्रष्ट बुझिन्थ्यो । मोबाइल, फोन त ज्यादै चलिरहन्छ । उमेरभन्दा अलि बढी नै सक्रिय र अगाडि छन् भट्टराईसर । भाइबर, फेसबुक, ह्वाट्सएप आदि पनि चल्छन् । यस्तैमा उनको सम्पर्क उमेर तीस बत्तीस भए पनि कम लाग्ने एक युवतीसँग भयो । कुराकानी र भेट्ने क्रममा थाहा भयो ती युवतीको डिभोर्स भए पनि हिम्मतका साथ अझै आफ्नो पढाइ र नोकरी गरी राजधानीमा बसेकी रहिछन् । कुराकानी र भेट्ने क्रम बढ्दै गयो । बिदामा केही दिनको लागि घर आएकी । विदा सकेर काठमाडौं जाने भनेर भेट्न पनि आई । किन हो भट्टराई सरलाई ती युवतीलाई के दिउँ के दिउँ भयो । उत्निखेरै नजिकको पसलमा गएर यौटा मोबाइल किनेर उपहार दिएछन् । मोबाइल भएपछि बेलाबेलामा म्यसेज, कुराकानी, च्याट गर्न सहज भयो । कुराकानी, भावनाको साटासाट बढी नै हुन गएछ । दुवैतिरबाट सिमा नै नाघ्ने खालका कुरा र उत्तेजक सामग्री पनि साटिएछन् । थाम्नै नसकेर बुढा हानिएर काठमाडौं पुग्न थालेछन् । एक मनले यो गलत हो, छोरीको उमेरकी युवतीलाई दिग्भ्रमित पारेको ग्लानि, घरमा श्रीमती, डाक्टर पेशामा आबद्ध छोराछोरी, समाज, नातागोताले थाहा पाए भने ! भट्टराईसरलाई सम्झँदै डर त्रास हुन्थ्यो । अर्कोतिर ती युवतीबाट पनि त्यस्तै उत्तेजक म्यासेज र कुराकानी आइरहँदा रोमाञ्चक अनुभव हुन्थ्यो ।

यस्तै अन्यौल र दुविधामा यो सम्बन्धमा करिब २–३ वर्ष पेन्डुलम खेलिरह्यो । यसले भट्टराई सरको निन्द्रा, ध्यान र दैनिकीमा चाल नपाइँदो हिसाबले समस्या आउन थाल्यो । अरुले थाहा पाउला कि, इज्जत खत्तम हुने भयो भन्ने एकातिर अर्कोतिर ती युवतीकै पनि म्यासेज र कल आएको आयै गर्ने । हुँदाहुँदा कसैको मोबाइल घण्टी बज्यो कि झस्किने, तर्सिने र मुटु ढुक्ढुक भएर त्रास हुने हुन थाल्यो । मुटुरोग पो भयो कि भनेर कार्डियोलोजिस्ट पनि कन्सल्ट गरे । निकै अन्योपूर्ण अवस्थामा भट्टराई सर म कहाँ एक मित्रको रेफरेन्स लिएर आइपुगे । परिस्थितिले मानसिक अन्तरद्वन्द्वमा फँसेर भट्टराइ सरलाई एन्जाइटीसम्म पुर्याएको थियो । एन्जाइटीको उपचार, परिस्थितिको सटिक विश्लेषण गरी तनाव व्यवस्थापन र समस्या समाधान नगरी तिनको केश सुल्झिनेवाला थिएन । 
 

Last modified on 2020-01-15 13:09:03


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts