दुर्गा प्रसाईंलाई पक्राउ गर्न आदेश दिएको हल्ला झुठो हो- भक्तपुर जिल्ला अदालत



Download our app to get more features

काठमाडौं, २ माघ । झापाको बी एण्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंविरुद्ध चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले महानगरीय प्रहरी परिसर भक्तपुरमा पनि अभद्र व्यवहारसम्बन्धी उजुरी दर्ता गराएका छन् । 

उजुरी दर्ता गराएसँगै घटना सम्बन्धी अनुसन्धान थालिएको परिसर भक्तपुरका एसपी सविन प्रधानले हाम्रो डक्टरलाई जानकारी दिए । भक्तपुर जिल्ला अदालतले उनलाई पक्राउ गर्न आदेश दिएको भन्ने कुरा सत्य नभएको पनि प्रधानले पुष्टि गरे । उनले भने, 'उहाँले अभद्र व्यवहार गरेको भन्ने उजुरी आएको छ । शान्ति सुरक्षाको माग गर्नुभएको छ । त्यसमाथि हामीले अनुसन्धान थालेका छौं । अदालतबाट आदेश ल्याएको भन्ने कुरा सत्य होइन ।'

उता भक्तपुर जिल्ला अदालतका श्रेस्तेदार घनेन्द्र अधिकारीले प्रसाईंसम्बन्धी कुनै मुद्दा र प्रकृयाले अदालतमा प्रवेश नपाएको बताए । अदालतले पक्राउ आदेश दिएको भन्ने कुरा सत्य नभएको अधिकारीले पुष्टि गरे । 

यसअघि डा. गिरीले प्रसाईं विरुद्ध काठमाडौं जिल्ला अदालतमा गालीगलौजसम्बन्धी मुद्दा दर्ता गरिसकेका छन् । प्रसाईंको घर भक्तपुरमा भएका कारण उनीविरुद्ध भक्तपुर प्रहरीमा पनि गिरीले अभद्र व्यवहार र शान्तिसुरक्षा पाउँ भनि उजुरी दिएका हुन् । त्यस उपर जिल्ला प्रशासन कार्यालय भक्तपुरले अनुन्धान गर्न प्रहरीलाई अनुमति दिएको भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन् । 

प्रस्तावित बीएण्डसी मेडिकल कलेजका लागि सम्बन्धन माग्न जाँदा चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. गिरीले आफुसँग २० करोड घुस मागेको प्रसाईले यसअघि आरोप लगाएका थिए । त्यसपछि दुईजनाबीच द्वन्द्व सुरु भएको हो । प्रसाईको आरोपपछि गिरी अदालत गएभने प्रसाईं सम्पति शुद्धिकरण विभाग र अख्तियार पुगेका छन् । 

Last modified on 2020-01-19 11:40:07


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts