सार्स र मर्सको मिश्रण भनिएको 'कोरोना भाइरस' नेपालमा पनि, जोखिमबारे अध्ययन हुँदै



Download our app to get more features

काठमाडौं, ३ माघ । कोरोना भाइरस नेपालमा पनि देखिएको छ । 

नितान्त नयाँ भनिएको कोरोना भाइरसको विषयमा विश्व स्वास्थ्य संगठनले अध्ययन सुरु गरेको छ ।

सरुवा रोग विशेषज्ञ डा.शेर बहादुर पुनका अनुसार सन् २००३ मा चीनमा देखिएको सार्स र सन् २०१२ मा अरब देशमा देखिएको मर्स नामक प्राणघातक रोगको समिश्रणको रुपमा  फैलाउने प्रजातिको रुपमा रहेको कोरोना नेपालमा नयाँ देखिएको हो ।

सार्स र मर्स श्वासप्रश्वास सम्बन्धी रोग हुन् भन्दै डा. पुनले उँटबाट सर्ने मर्स मानिसबाट मानिसमै पनि सर्छ । सार्स जनावरबाट मानिसमा सर्छ । तर, नेपालमा देखिएको कोरोना भाइरस सार्स र मर्स नै गराउने हो वा होइन भन्नेबारे थप अध्ययन आवश्यक रहेको पनि बताए ।

डा.पुनले मर्स र सार्समा जस्तै गरि कोरोना भाइरसले संक्रमण गरेपछि ज्वरो आउने, खोकी लाग्ने र निमोनिया हुने गरेको भन्दै यो मर्सपनि पूर्णमा नरहेको र सार्स पनि पूर्ण रुपमा नरहेको बताए ।

सार्स चीनमा देखिएपछि विश्वव्यापी रुपमै फैलिएको छ भने मर्स अरब देशमा मात्रै देखिने गरेको डा. पुनको भनाइ छ । 

विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस मानिसबाट मानिसमै सर्ने संकेत भने गरिसकेको अवस्थामा यस्ता लक्ष्ण देखिए सतर्क रहन आग्रह गरेको छ । मर्स र सार्सको मिश्रण जस्तै देखिएकाले कोरोनाको विषयमा थप अध्ययन र अनुसन्धान भइरहेको संगठनले जनाएको छ । 

डा.पुनले चीनबाट नेपाल आउने पर्यटकको संख्या वर्षेनी बढ्दो भएका कारण नेपालले विशेष सतर्कता अपनाउनु पर्ने बताए । 

यता, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार यो भाइरस नेपालमा नयाँ देखिएको हुनाले तत्काल कुनै कार्यक्रम नभएको जनाएको छ । 

महाशाखाका अनुसार नेपालमा देखिएको कोरोना भाइरसको विषयमा थप अध्ययन भइरहेको हुनाले कस्तो कार्यक्रम ल्याउने हो भन्ने विषयमा छलफल भइरहेको छ । तर, आवश्यक परेको खण्डमा भने यसबाट जोगिन सरकारले चाल्नुपर्ने कदमका लागि भने महाशाखा तयार रहेको महाशाखाका एक कर्मचारीले बताए । 

Last modified on 2020-01-17 16:48:39


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts