वारेण्टी एक्सटेन्सन: स्वास्थ्यका उपकरण खरिद प्रक्रियामा खड्किएको बिषय 



Download our app to get more features

स्वास्थ्य क्षेत्र राज्यको प्राथमिकता प्राप्त क्षेत्र हो । नेपालको संबिधान ०७२ को धारा ३५ ले पनि स्वास्थ्य सेवालाई नागरिकको मौलिक अधिकारको रुपमा स्थापित गरेको छ । यस कारण पनि सरकारले स्वास्थ्य क्षेत्रमा नयाँनयाँ उपचार पद्धति  र रोग निदानका लागि नविन प्रविधिसहितका उपकरण प्रयोगमा ल्याएको छ । यो आजको आवश्यकता पनि हो ।

उपचार पद्धतिका लागि प्रयोगमा ल्याईएका नयाँ उपकरणहरू केही दाताबाट प्राप्त छन् भने केही सरकारले आफै खरिद गर्छ । नयाँ प्रविधिका औजार उपकरणहरू मुल्यका हिसाबले महंगो तथा लामो अबधिसम्म खप्ने खालका हुन्छन् । दाताबाट प्राप्त सामान लिन र सामान खरिद गर्न नेपाल सरकारलाई खासै गाह्रो छैन । तर प्राप्त वा खरिद गरेका सामानको वारेण्टी अवधि समाप्त भएपछि त्यसको मर्मत सम्भार नियमित र भरपर्दो नहुँदा केही समयावधि भित्र नै मेसिन औजार थन्किन गइ सेवा प्रवाहमा अवरोध आउने गरेको छ । स्वास्थ्य क्षेत्रका कतिपय मेसिन औजार प्रोप्राइटरी (एक मात्र उत्पादक) हुनको साथै तेस्रो देशबाट आयात गर्नु पर्ने हुन्छ । यस्तो अवस्थामा सामानको वारेण्टी अवधि पश्चात सामानको मर्मत सम्भारको लागि सिएमसी (कम्प्रिहेन्सिभ मेन्टिनेन्स कन्ट्रयाक), एएमसी (एनिवल मेन्टिनेन्स कन्ट्रयाक) वा वारेण्टी एक्सटेन्सन गर्नुपर्ने हुन्छ । कतिपय तेस्रो देशबाट आयात गरिएका प्रोप्राइटरी सामानको सिएमसी अथवा एएमसी गर्न हाम्रो देशमा दक्ष प्राविधिक तथा प्रविधि हुँदैन । मौजुदा सार्वजनिक खरिद ऐन तथा नियमावलीको परिधिभित्र रहि सिएमसी र एएमसी गर्न खासै बाधा पनि छैन । तर वारेण्टी एक्सटेन्सन गर्ने सवालमा ऐन तथा नियमावली मौन छ । वारेण्टी एक्सटेन्सन भनेको मर्मत सम्भार गर्नु भन्दा पहिला नै कम्पनीले सार्वजनिक गरेको मुल्य भुक्तानी गरी सामान वा औजार उपकरण सञ्चालन गर्नु हो । यो प्रक्रिया केही हदसम्म बीमा प्रक्रियासँग पनि मेल खान्छ । यसमा निश्चित अवधिको वारेण्टी एक्सटेन्सनपछि तोकिएको समयमा गर्नुपर्ने नियमित जाँच, मेसिन औजारसँग सम्बन्धित हार्डवयर तथा सफ्टवयरको रिप्लेस गरिन्छ । यस्तो सेवा सम्बन्धित उत्पादक कम्पनीले मात्र प्रदान गर्छ ।

वारेण्टी एक्सटेन्सन भए उपकरण थन्किदैनन्

स्वास्थ्य क्षेत्रमा अहिले नयाँ प्रविधिका मेसिन, औजार उपकरण यथोचित व्यवस्थापको अभावले त्यतिकै थन्किनु परेको वा थन्काइएको समाचार पटक पटक आइरहन्छन् । ठुलो रकम लगानी गरेर भित्र्याइएका मेसिन, औजार त्यतिकै थन्किदा स्वास्थ्य क्षेत्रमा लक्ष प्राप्तिका लागी निर्धारण गरिएका सुचकमाथि अपेक्षित उपलब्धी हासिल गर्न निकै कठिन पर्छ । अत यस्ता मेसिन औजारको ब्यबस्थापनको लागी वारेण्टी एक्सटेन्सन गर्नु सस्तो र भरपर्दो देखिन्छ । तेस्रो देशबाट आयात गरिएका मेसिन औजार को वारेण्टी एक्सटेन्सन गर्न उत्पादक कम्पनीको नेपालस्थित आधिकारिक एजेन्टमार्फत आवस्यक जमानत धरौटी राखी उत्पादक कम्पनीलाई दिइने भुक्तानी रकमको ग्यारेन्टिसहित सेवा सुचारु गर्दा उपयुक्त हुने देखिन्छ ।

राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रको रणनैतिक योजनामा कम्तिमा पनि हरेक जिल्लामा एउटा रियल टाइम पिसीआर मेसिन (जेन एक्सपर्ट) मार्फत क्षयरोग निदान गर्ने भनिएको छ । हालसम्ममा करिब ४० जिल्लामा ९० वटा मेसिन संचालनमा छन् । ती मेसिन सेफिएड भन्ने अमेरिकन कम्पनीले उत्पादन गर्छ । रियल टाइम पिसीआर मेसिनको बार्षिक औषत मर्मत खर्च हालसम्मको आँकडामा करिब १० लाख छ । यो मेसिनको हार्डवयर मेन्टिनेन्स सेवा नेपालमा उपलब्ध छैन । वारेन्टी एक्सटेन्सन सेवा खरिद गर्दा बार्षिक करिब सात लाख पर्न जान्छ । जसमा मेसिनमा आएको हार्डवयर तथा सफ्टवयरसम्बन्धी समस्याको तुरुन्तै समाधान हुने गर्दछ । तुलनात्मक रुपले यो सेवा खरिद सस्तो पनि छ । यी र यस्तै प्रकारका मेसिन तथा औजार नियमित सञ्चालन गर्न भारत, श्रीलंका, म्यानमारलगायत देशले पनि वारेण्टी एक्सटेन्सनबाट सेवा खरिद गरिरहेका छन् । हालसम्म नेपालको सार्वजनिक खरिद प्रक्रियालाई नियमन गर्ने सार्वजनिक खरिद ऐन तथा नियमावलीमा यससम्बन्धी प्रष्ट व्यवस्था नभएको हुँदा वारेण्टी एक्सटेन्सन सेवा लिन दाताको भर पर्नु परेको छ । दाताको उपस्थिति नहुने हो भने क्षयरोग नियन्त्रण कार्यक्रममा सञ्चालनमा रहेका करोडौंका रिएल टाइम पिसीआर (जिन एक्सपर्ट) मेसिन त्यतिकै थन्किने जोखिम छ । यो त एउटा प्रतिनिधि उदाहरण मात्र हो ।
सार्वजनिक खरिद पक्रियामा वारेण्टी एक्सटेन्सन नछुटाउ

तर वारेण्टी एक्सटेन्सन गर्ने प्रक्रियाको लागि सार्वजनिक खरिद ऐन तथा नियमावलीले सम्बोधन गर्नै पर्छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका नीति निर्मातामार्फत वारेण्टी एक्सटेन्सनको आवश्यकता र महत्वको एजेण्डासहित सार्वजनिक खरिद ऐन तथा नियमावलीमा समावेश गर्न तत्तत् सम्बद्ध निकायसम्म सकारात्मक पहल गर्न ढिला गर्नु हुन्न ।

यस्तो पहलकदमीले तेस्रो देशबाट वरेण्टी एक्सटेन्सन सेवा खरिद गर्दा अग्रिम भुक्तानी दिने आधार, सर्त, भुक्तानी दिने माध्यम (जस्तैं एलसी, टिटी) र प्रक्रियाको बारेमा सुनिश्चितता भएमा हाल संचालनमा रहेका डिजिटल एक्स–रे, सि.टी.स्क्यान, एमआरआइ, रियल टाइम पिसिआर मेसिन जस्ता थुप्रै अत्याधुनिक प्रविधिका मेसिन नियमित संचालनमा आउने विश्वास गर्न सकिन्छ ।

Last modified on 2020-01-17 16:49:37


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts