प्रदेश ५ ले खरिद गर्न लागेको अक्सिजन कन्सन्ट्रेटर र अटोक्लेभ मेसिनको स्पेसिफिकेसनमा त्रुटि



Download our app to get more features

बुटवल, ३ माघ । सामाजिक विकास मन्त्रालय अन्तर्गतको प्रदेश स्वास्थ्य आपूर्ति ब्यवस्थापन केन्द्र बुटवलले खरिद गर्न लागेको अक्सिजन कन्सन्ट्रेटर र फोहर ब्यवस्थापन गर्ने अटोक्लेभ मेसिनको स्पेसिफिकेसन गलत रहेको पाइएको छ । अटोक्लेभ मेसिनमा सर्जिकललगायतका सामाग्रीको स्टेरिलाइजेसन गर्न मिल्ने खालको स्पेसिफिकेसन बनाइएको छ । यसैगरि अक्सिजन कन्सन्ट्रेटरका मुख्यमुख्य बँुदामा नै त्रुटिपूर्ण छ ।

अक्सिजन कन्सन्ट्रेटरको स्पेसिफिकेसन हेर्दा एक वा बढीमा दुई जना बिरामीको लागि प्रयोग गर्न सकिने भनिएको छ । सँगै निबुलाइजरको पनि सुबिधा हुनुपर्ने भनेको छ । विज्ञहरूका अनुसार एक जना बिरामीको लागि करिब २ लिटर प्रतिमिनेट गरि २ जना बिरामीको लागि प्रयोग गरे चार लिटर अक्सिजन प्रति मिनेट खपत हुन्छ । निबुलाइजरले कम्तीमा १०–१५ लिटर प्रति मिनेट खपत गर्छ । दुई जना बिरामी र निबुलाइजर सुविधासहित मेसिन सञ्चालन गर्दा सामान्य बिरामीको लागि पनि मेसिनको क्यापासिटी १४–१८ लिटर प्रतिमिनेट हुनु पर्नेमा जम्मा ५ लिटर प्रतिमिनेट राखिएको छ । निबुलाइजर सुविधा नभएको र घरायसी प्रयोजनको लागि मात्रै हो भने यो उपयुक्त देखिन्छ । तर यो प्रदेश अन्तर्गतका अस्पतालहरूमा वितरण गर्न खरिद गरिएको र खासगरी अस्पतालहरूमा इमर्जेन्सी वा गम्भीर बिरामीको लागि प्रयोगमा आउने भएकाले कम्तीमा १० लिटर प्रति मिनेट चाहिने हुँदा अनुपयोगी छ । १० लिटर प्रति मिनेट भन्दा धेरै चाहिने अवस्थामा भेन्टिलेटरको आवश्यकता पर्छ । यसकारण अस्पतालहरूमा १० लिटर प्रति मिनेट भन्दा धेरै क्यापासिटीको मेसिन उपयुक्त हन्छ । तर यहाँ निबुलाइजर सुविधा समेत राख्ने हो भने एक जना बिरामीको लागि मात्र प्रयोग गर्ने हो भने पनि कम्तीमा २० लिटर भन्दा ठुलो क्यापासिटीको मेसिन आवश्यक पर्छ ।

संघीय मन्त्रालयको आपूर्ति व्यवस्थापन शाखाको स्पेसिफिकेसन बैंक हेर्दा पनि यति सानो क्यापासिटी भएको मेसिनमा निबुलाइजर सुविधा राखिएको देखिदैन । त्यसैले यहाँ निर्धारण गरिएको आवश्यकता भन्दा मेसिनको क्यापासिटी मेल नखाने हुँदा बोलपत्रको मुल्यांकन कसरी गरिन्छ प्रश्न खडा भएको छ ।

यसैगरि बुँदा नम्बर ४.५ र ९.१ एक अर्कामा बिरोधाभास देखिन्छ । मोलिकुलरको कार्य क्षमता कम्तीमा १० हजार घन्टा भनिएको छ । जुन ४ सय १६ दिन हुन आउँछ । तर मेसिनको वारेन्टी दुई बर्ष अथवा ७ सय ३० दिन राखिएको छ । यो हिसाबले मेसिनको कार्य क्षमता १८ हजार घन्टा भन्दा धेरै हुनु पर्ने हो । संघीय मन्त्रालयको आपूर्ति व्यवस्थापन साखाको स्पेसिफिकेसन बैंक हेर्दा मेसिनको वारेन्टी एक बर्ष मात्र राखेको भए पनि मेसिनको वर्किन आवर १५ हजार घन्टा भन्दा धेरै राखिएको छ ।

सार्बजनिक खरिद ऐन र नियमावलीको बर्खीलाप
अटोक्लेभ मेसिनको स्पेसिफिकेसनमा पनि त्रुटिनै त्रुटि छन । विज्ञहरूका अनुसार अटोक्लेभ मेसिनको प्रयोग २ तरिकाले गरिन्छ । पहिलो स्टेरिलाइजेसन गर्ने सामग्रीहरू जस्तैं ओटिमा प्रयोग हुने सर्जिकल सामग्रीहरू, ल्याबमा प्रयोग सामग्रीहरू डेन्टलमा प्रयोग हुने सामग्रीहरू ड्रेसिङग सामाग्रीहरू, अस्पतालमा प्रयोगमा आउने लिनिन (लत्ताकपडाहरू) जो स्टेरिलाइजेसन गरि पुनः प्रयोगमा ल्याउने गरिन्छ । त्यस प्रकारका सामाग्रीहरूको स्टेरिलाइजेसन गर्ने र यसप्रकारको अटोक्लेभ मेसिन सस्तो हुने गर्छ । दोस्रो अस्पतालबाट निस्किने विभिन्न प्रकारका फोहर वस्तुहरु जस्तंै पोस्टमार्टम गर्दा निस्कने फोहर, संक्रमित बिरामीबाट निस्कने फोहर, हेमोडाइलाइसिस गर्दा निस्कने फोहर, ल्याबबाट निस्कने रगतलगायतको फोहर सर्जरी गर्दा निस्कने मानव अंगहरु, प्रयोग भैसकेका तर पुनः प्रयोगमा नआउने निडिल, सिरिन्ज, सर्जिकल ब्लेडहरु, म्याद सकिएका औषधिहरू, भ्याक्सिनहरू, प्रयोग भइ सकेका ग्लोब्स मास्कहरूलगायत विविध केमिकलको अस्पतालभित्र ट्रिटमेन्ट गरि नगरपालिकामा वा ल्यान्डफिल साइडमा लग्नु पुर्व स्टेरिलाइजेसन गर्नपर्ने फोहोरहरू पर्दछन् । यस्ता फोहरहरूलाई संक्रमणमुक्त बनाउन काम गर्ने अटोक्लेभ मेसिनको नेपाली बजार मुल्य करिब ८० लाख भन्दा धेरै हुने गर्छ । तर, पुन प्रयोगमा आउने सामग्रीहरुको स्टेरिलाइजेसन गर्ने अटोक्लेभ क्षमता हेरि ५ लाख देखि २० लाखसम्म पर्ने हुन्छ । सामाजिक बिकास मन्त्रालयले बजेट निर्धारण गर्दा प्रष्ट रुपमा अस्पतालहरूमा पÞmोहोर ब्यवस्थापनको लागि भनी तोकेको छ र बजेट पनि एक करोड निर्धारण गरिएको छ । यो मेसिनबाट अस्पतालमा रहेका फोहोर मैलाहरुलाई गुणस्तरीय ब्यवस्थापन गर्ने, फोहरमैलाबाट हुने सक्रमण नियन्त्रण गर्ने र महामारी रोकथाम गर्ने उल्लेख गरेको छ । 

बायोमेडिकल क्षेत्रका बिज्ञ र यस खालका उपकरण सप्लाइ गर्ने सप्लायर्सहरुका अनुसार फोहर ब्यवस्थापन गर्ने अटोक्लेभ भन्नु र यो स्पेसिफिकेसनमा भएको अटोक्लेभ एकै नभएको बताए । यो सामान्य गल्ती भन्दा पनि खरिदसम्बन्धी ज्ञानको कमी साथै खरिद ऐन नियमको र प्राविधिक दक्षता र अनुभवको कमी देखिन्छ ।

स्पेसिफिकेसन बनाउँदा सामान्य भन्दा सामान्य कुरामा समेत ध्यान नदिएको पाइयो । संघीय मन्त्रालयको स्पेसिफिकेसन बैंकमा रहेको सिएसएसडि पुनः प्रयोगमा आउने सामग्रीहरूको स्टेरिलाइजेसन गर्ने युनिटको लागि बनाइएको ४ सय ३० लि. को स्पेसिफिकेसन हुबहु राखेको तर डिस्क्रिप्सन अफ फंसनको अन्तमा हस्पिटल वेस्ट भनी थपेको देखिन्छ । यसलाई पुष्टि हुने गरि कतै कुनै बुँदा थपेको देखिदैन र फोहोर प्रयोजनको लागि हो भने पछि पनि यो डबल डोर हुनु पर्ने किनकी सिंगल डोर हँुदा स्टेरिलाइजेसन नगरेको फोहोर र स्टेरिलाइजेसन गरेको फोहर राख्ने निकाल्ने एउटै ढोका हुन्छ । यो प्राक्टिकल्ली राम्रो मानिदैन । पछि झनै ठुलो गल्ती स्पेसिफिकेसनको संसोधनमा गरिएको छ । पहिला मेसिन सञ्चालन गर्ने तरिका सेमी अटोमेटेड राखिएकोमा थप गरि फुल्ली अटोमेटेडलाई पनि विकल्पमा राखिएको छ । बिज्ञहरूका अनुसार मिनिमम स्टान्डर्ड राखिसकेपछि त्यो भन्दा धेरै गुण भएको सामान त्यसै स्वीकार्य हुन्छ र फुल्ली अटोमेटेड राख्नुको अर्थ छैन तर यहाँ गम्भीर त्रुटि के गरिएको छ भने फुल्ली अटोमेटेडलाई प्राथमिकता दिइने छ भनिएको छ । पहिलो कुरा फुल्ली अटोमेटेडको र सेमी अटोमेटेडको मुल्य एकै हुँदैन यसले लागत अनुमानमा फरक पर्छ र लागत अनुमान स्पेसिफिकेसन तयार गरेपछि मात्र बनाइन्छ । सुरुमा लागत अनुमान सेमी अटोमेटेडको बनाइ पास गरेको र सोही अनुसार बोलपत्र प्रकासन गरेको देखिन्छ ।  लागत अनुमान बनाइ पास गरिसकेपछि यसलाई बदल्न पाइदैन । तर यहाँ फुल्ली अटोमेटेडलाई प्राथमिकता गरिने छ भनिएकाले फुल्ली अटोमेटेडलाई अनिवार्य गरिएको जस्तो भयो । सेमिअटोमेटेड मेसिनको लागत अनुमानबाट फुल्ली अटोमेटेड मेसिन खरिद गर्न लागेको जस्तो भयो जुन खरिद ऐन बिपरित छ । अर्को यदि कसैले सेमी अटोमेटेड मेसिन राख्यो मुल्य पनि कम राख्यो र कसैले फुल्ली अटोमेटेड राख्यो तर मुल्य बढी राख्यो भने फुल्ली अटोमेटेडलाई प्राथमिकता कसरी दिने । यस्तो अवस्थामा बोलपत्र मुल्यांकन कसरी गर्ने भन्ने प्रश्न आउँछ । विज्ञहरू भन्छन ‘यो सार्बजनिक खरिद ऐन र नियमावलीको बर्खीलाप हुन्छ ।’

स्पेसिफिकेसनमा कुनै त्रुटि छैन: चापागाईं
प्रदेश आपूर्ति केन्द्रका निर्देशक दिनेश चापागाईंका अनुसार एनजी बायोमेड नेपालगन्जका सञ्चालक ईन्जिनीयर नेत्र सापकोटालाई विज्ञको रुपमा नियुक्ति गरिएको र उनले नै स्पेसिफिकेसन तयार गरेका हुन् । यसकारण कुनै त्रुटि नरहेको उनको दावी छ । उनले आफुले अझ एडभान्स रुपमा काम गर्न खोजेको बताए । उनले भने, ‘केही स्पेसलिस्टको स्पेसिफिकेसनसँग यो स्पेसिफिकेसन नमिल्न पनि सक्छ तर यो त्रुटिपूर्ण भने छैन ।’

Last modified on 2020-01-19 11:57:39


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts