चिकित्सक संघको निर्वाचन: विजयी हुने अध्यक्षका दुवै उम्मेदवारको दावी



Download our app to get more features

काठमाडौं, ३ माघ । चिकित्सकहरूको पेशागत संगठन नेपाल चिकित्सक संघको मतदान शनिवारदेखि सुरु हुँदैछ । पहिलो चरणमा उपत्यकाबाहिर ४ र ५ माघमा र दोस्रो चरणमा उपत्यकाभित्र १७ देखि २१ माघसम्म हुँदैछ । संघको अध्यक्ष पदको लागि लोकतान्त्रिक समूह र पेशागत समावेशी समुहबाट क्रमशः डा. लोचन कार्की र पुष्पमणि खरालले उम्मेदवारी दिएका छन् । चुनावी प्रचारप्रसार सकेर काठमाडौंमा रहेका उनीहरु दुवैले आफैले जित्ने दावी गरेका छन् ।

यसकारण मेरो जित सुनिश्चित: डा. कार्की

लोकतान्त्रिक समूहका उम्मेदवार डा. लोचन कार्कीले आफ्नो जित सुनिश्चित रहेको दावी गरेका छन् । देशभर चुनावी प्रचारमा रहँदा मतदाताबाट सकारात्मक सहयोग मिलेको उनले बताए । विगतमा गरेका कामका आधारमा आफुले प्रशस्त भोट पाउने उनले जिकिर गरे । तीन वर्षमा चिकित्सा क्षेत्रमा उठेका आन्दोलन, चिकित्सकका पक्ष साथै चिकित्सा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसीको आन्दोलनमा एनएमएले आवाज उठाउदै आएको उनले बताए । उनले भने, ‘तीन वर्षमा गरेका कामको आधारमा भोट पाउने आधार प्रसस्त छ । २८औं कार्यसमिति मेरै नेतृत्वमा हुन्छ ।’

मेरो प्राथमिकता

कार्कीले जितपछि समग्र देशको स्वास्थ्य अवस्था सुधार गर्न लाग्ने बताए । उनले हाम्रो डक्टरसँग भने, ‘चिकित्सकका मात्रै नभइ बिरामीको हक र अधिकारका पक्षमा चिकित्सक संघले काम गछ ।’ साथै भिजन २०२० मार्फत नेपालको चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारका सन्दर्भमा यस क्षेत्रका विज्ञहरू, सरोकारवाला निकायहरू, नीति निर्माताहरू, जनस्वास्थ्यविज्ञहरू, स्वास्थ्यकर्मी तथा नर्सिङलगायत प्रतिनिधिहरूसँग प्राज्ञिक बहस गरी ‘भिजन २०२०’ तय गरी त्यसलाई कार्यान्वयन गर्ने उनले बताए । साथै जितपछि चिकित्सकहरूको पेसागत सुरक्षा र वृत्तिविकास, गुणस्तरीय चिकित्सा शिक्षा र स्वास्थ्य सेवा, नीति निमार्ण जस्ता कामलाई प्राथमिकता दिने उनले बताए ।

संघमा नयाँ नेतृत्वको माग छ: डा. खराल

तीन दिनअघि मात्रै चुनावी प्रसार सकेर काठमाडौं आएका समावेशी समुहका अध्यक्षका उम्मेदवार डा. पुष्पमणि खरालको पनि आफैले जित्ने दावी गरे । यसअघिका चुनावी गतिविधि भन्दा यो पटकको चुनावी प्रचारप्रसार भव्य भएको उनले बताए । प्रचारप्रसारका क्रममा भेटिएका सबै चिकित्सकले संघमा नयाँ नेतृत्वको माग गरेको उनले जनाए । उनले हाम्रो डक्टरसँग भने, ‘संघमा नयाँ नेतृत्वको आवश्यक छ । यो पटकको जित सुनिश्चित छ ।’ उनले संघको यसअघिको कार्यसमितिले प्रभावकारी रूपमा काम गर्न नसकेको बताए ।

मेरो प्रथामिकता

खरालले जितपछि पहिलो प्रथामिकतामा चिकित्सकको सुरक्षा हुने पनि बताए । उनले ‘जेल विथ आउट बेल’लाई प्राथमिकतामा राखेको बताए । साथै संघमार्फत सम्पूर्ण चिकित्सकको बीमा गर्ने उनको भनाइ छ । चिकित्सको तलबको बारेमा पनि कमिटि गठन गरी स्वास्थ्य मन्त्रालयमार्फत सरकारलाई दबाब दिने उनको भनाइ छ । चिकित्सको तलब अहिलेको मंहगी अनुसार ज्यादै न्युन रहेको र यसलाई समयसापेक्ष बढाउन आवश्यक रहेको बताए । यस्तै एमबीबीएस अध्ययन गरी बसेका सबै चिकित्सकले कोटा कम भएका कारण पिजि अध्ययन गर्न नपाउने अवस्था छ । पीजीको कोटा बढाउन पहल हुने उनले दावी गरे । सरकारी चिकित्सकका समस्याहरूमा दरबन्दी कम तथा समायोजनका समस्या समाधान गर्न तत्काल पहल हुने पनि बताए । संघको सदस्यता लिने प्रणालीलाई अनलाईन मार्फत व्यवस्थापन गर्ने लगायतका काम पहिलो प्रथामिकतामा रहेको डा. खरालले बताए ।

Last modified on 2020-01-19 12:09:19


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts