पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप अभियान

चैत ६ गतेसम्म सञ्चालन हुने

What's This?


Download our app to get more features

चैत्र १, चितवन । चितवनका ग्रामीण किशोरीहरूलाई लक्ष्य गरी आइतवारदेखि पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप अभियान सञ्चालन गरिएको छ ।

 
नेपालमा पहिलोपटक चितवन र कास्की जिल्लामा सुरु गरिएको यो खोप दोस्रो चरणमा चितवनका साबिकका सम्पूर्ण गाविसमा यही चैत ६ गतेसम्म सञ्चालन हुने छ । यसअघि चितवनको साबिक भरतपुर नगरपालिका र रत्ननगर नगरपालिकाका किशोरीलाई फागुन ९ देखि १७ गतेसम्म यो खोप दिइएको थियो । 

जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका कोल्डचेन अधिकृत वेदप्रसाद अधिकारीका अनुसार आजदेखि ती क्षेत्रका विद्यालयका कक्षा ६ मा अध्ययनरत किशोरीलाई खोप दिन सुरु गरिएको हो । विद्यालय नगएका १० वर्ष उमेरका किशोरीलाई पनि खोप दिइँदैछ । गाभी नामक अन्तर्राष्ट्रिय संस्थाको सहयोगमा यो खोप अभियान सञ्चालन गरिएको हो । तिनै किशोरीलाई ६ महिनापछि पुनः दोस्रो मात्रा दिइने छ ।  

चितवनमा ६ हजार किशोरीलाई खोप दिने लक्ष्य राखिएको छ । यस अभियानमा २२२ भेक्सिनेटर र ७८ जना स्वास्थ्यकर्मी प्रत्यक्ष रूपमा सहभागी भएको अधिकारीले बताउनुभयो । सहजीकरणका लागि एक हजार ६० जना स्वास्थ्य स्वयम्सेविका परिचालन गरिएको छ । ह्यूमेन पपिलोमा भाइरसविरुद्धको यो खोपले पाठेघरको क्यान्सरलाई रोक्छ । 

नेपालमा महिलामा हुने क्यान्सरमध्ये सबैभन्दा बढी अर्थात् ७० प्रतिशत क्यान्सर पाठेघरको मुखको हुने गरेको तथ्याङ्कले देखाएको छ । 

विश्व स्वास्थ्य सङ्ठनका अनुसार संसारभरमा प्रत्येक वर्ष दुई लाख ७० हजारभन्दा बढी महिलाको पाठेघरको मुखको क्यान्सरको कारण मृत्यु हुने गर्दछ जसमध्ये ८५ प्रतिशत मृत्यु विकासोन्मुख देशमा मात्रै हुन्छ । 

सन् २०१२ को तथ्याङ्कअनुसार संसारभरमा त्यस वर्ष पाँच लाख २८ हजार महिलामा पाठेघरको मुखको क्यान्सरको निदान भएको थियो । सो वर्ष दुई लाख ६६ हजार महिलाको मृत्यु यस रोगका कारण भएको थियो । 

पाठेघरको मुखको क्यान्सर ३५ देखि ६४ वर्षसम्मका महिलामा धेरै हुने गरेको छ । नेपालमा प्रत्येक वर्ष करिब १० हजार २० जनामा यो रोग हुने अनुमान गरिएको छ जसमध्ये ५० प्रतिशतको मृत्यु हुने गर्छ । प्रारम्भिक  अवस्थामै निदान गरी उपचार गर्न सकिएमा यो रोगबाट बच्न सकिन्छ ।

-रासस
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts