मानव शरीरको रोग प्रतिरक्षा प्रणालीमा नयाँ खोजले क्यान्सर उपचारमा नयाँ आशा



Download our app to get more features

बीबीसी, ७ माघ । हाम्रो शरीरको रोग प्रतिरक्षा प्रणालीको नयाँ पत्ता लागेको हिस्सा प्रयोग गरी क्यान्सर रोगको उपचार गर्न सकिने वैज्ञानिकहरूले बताएका छन् ।

कार्डिफ विश्वविद्यालयका वैज्ञानिकहरूले प्रोस्टेट, स्तन, फोक्सो र अन्य सबै खाले क्यान्सरको उपचार गर्ने विधिको प्रयोगशालमा परीक्षण गरेका छन् ।

क्यान्सरका बिरामीहरूमा यसको परीक्षण गरिएको छैन तर वैज्ञानिकहरूले यसले क्यान्सरको उपचार गर्न ठूलो सम्भावना बोकेको बताएका छन् ।

नेचर इम्युनोलोजी नामक जर्नलमा प्रकाशित अध्ययनको नतिजाको आधारमा वैज्ञानिकहरूले यो सुरुवाती चरणमा भएपनि निकै उत्साहजनक देखिएको दावी गरेका छन् ।

के पत्ता लाग्यो ?
हाम्रो शरीरको प्रतिरक्षा प्रणालीले रोगहरू लाग्न नदिन पर्खालको काम गर्छ ।

वैज्ञानिकहरू ट्युमरविरुद्ध प्रतिरक्षा प्रणालीको प्राकृतिक आक्रमण गराउन परम्परागत ढाँचाभन्दा फरक र यसअघि पत्ता नलागेका विधिको खोजीमा थिए ।

उनीहरूले मानिसको रगतभित्र टी–सेल नामक कोष फेला पारे । त्यो प्रतिरक्षा प्रणाली सक्रिय पार्ने कोष हो जसले शरीरभित्र कुनै खतरा छ भन्ने थाहा पाउने गर्छ ।

त्यसले शरीरमा क्यान्सर फैलाउन सक्ने कोषहरूलाई पनि आक्रमण गर्छ ।

एक अनुसन्धानकर्ता प्राध्यापक एन्ड्रु सेवेलले बीबीसीसँग भने, “अब सबैखाले बिरामीलाई उपचार गर्न सकिने मौका हाम्रो सामु छ ।” “यसअघि कसैले पनि यस्तो हुन सक्छ भनी सोचेका थिएनन् ।”

कसरी काम गर्छ ?
अनुसन्धानकर्ताहरूका अनुसार रगतमा हुने टी–सेल नामक कोष प्रयोग गरी विभिन्न प्रकारका क्यान्सरलाई आक्रमण गर्न सकिन्छ ।

उनीहरूका अनुसार टी–सेल लाई एमआर १ भनिने शरीरमा प्रत्येक कोषको सतहमा रहने भागसँग अन्तरक्रिया गराएर क्यान्सर कोषमा रहेको विकारबारे थाहा पाउन सकिन्छ ।

क्यान्सर भएको बिरामीबाट रगतको नमुना लिएपछि त्यसलाई आनुवंशिक रूपमा बदल्नु पर्छ र त्यसले क्यान्सर पत्ता लगाउँछ । त्यसपछि प्रयोगशालामा त्यस्ता कोषहरू धेरै परिमाणमा उत्पादन गरेर बिरामीको शरीरभित्र पठाउनु पर्छ ।

अहिलेसम्म त्यो अनुसन्धान जनावरहरूमा मात्र गरिएको छ । त्यसलाई मानवमा परीक्षण गर्नु अघिका सुरक्षा जाँच हुन बाँकी नै छ । अझै धेरै अध्ययन गर्न बाँकी भएपनि वैज्ञानिकहरूले यो नयाँ प्रयोगबाट सबैखाले क्यान्सर निको पार्न सकिने विश्वास व्यक्त गरेका छन् ।

विज्ञ के भन्छन् ?
स्विट्जरल्यान्डको बासेल विश्वविद्यालयका लुसिया मोरी र जेनारो डी लिबेरोले नयाँ अनुसन्धानले धेरै सम्भावना बोकेको बताए ।

“यसले उपचारका लागि प्रतिरक्षा प्रणालीको प्रयोग गर्ने हुनाले हामी निकै उत्साहित भएका छौँ,” उनीहरूले भने ।

तर, म्यान्चेस्टर विश्वविद्यालयका इम्युनोलोजीका प्राध्यापक ड्यानियल डेभिसले भने, “अहिलेसम्म यो सुरुवाती अनुसन्धान मात्रै हो र यो बिरामीको लागि औषधि बन्ने अवस्थामा पुगिसकेको छैन ।” तर यो नयाँ खोज भविष्यमा बन्न सक्ने नयाँ औषधिको लागि निकै उत्साहजनक रहेकोमा दुई मत नरहेको उनले बताए ।

Last modified on 2020-01-23 13:32:32


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts