अमेरिकामा पनि कोरोना भाइरस भेटियो, नेपाल सरकार सतर्क अवस्थामा

कोरोना भाइरसबाट चीनमा १५ जना स्वास्थ्यकर्मी पनि संक्रमित



Download our app to get more features

काठमाडौं, ८ माघ । नोवेल कोरोना भाइरसबाट हुन सक्ने जोखिमलाई ध्यानमा राखेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हेल्थ डेस्कको स्थापना गरिएको छ । 

पर्यटन वर्ष र अन्य समयमा पनि चीनबाट नेपाल आउने पर्यटकको संख्या बढी हुने हुनाले विमानस्थलमै स्वास्थ्य जाँचकालागि हेल्थ डेस्क राखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । 

महाशाखाका महानिर्देशक डा.विवेक कुमार लालले हाम्रो डाक्टर न्यूजलाई बताए अनुसार विशेषगरि चीनबाट आउने पर्यटकलाई ध्यानमा राखेर हेल्थ डेस्कको स्थापना गरिएको छ ।

पछिल्लो समय चीन सहित जापान, थाइल्याण्ड, दक्षिण कोरियामा पनि यो भाइरस फैलिदै गएकाले सरकार उच्च सतर्कतामा रहेको उनले बताए ।

डा.लाले भने, ‘बाहिरबाट आउने प्रत्येक पर्यटकलाई उच्च निगरानिमा राखिएको छ । जुन व्यक्ति शंकास्पद देखिन्छन् अर्थान् रुघाखोकीले ग्रसित वा ज्वरो लागेको व्यक्ति छन् भने तुरुन्तै विमानस्थलमा जाँच गरिन्छ र शंका लागेको अवस्थामा उनलाई फिर्ता पनि पठाइन्छ ।’

चीन, भारत, जापान लगायतका मुलुकबाट नेपाल आउने पर्यटकको संख्या बढी हुने र यो रोग सरुवा रोग भएकाले अन्य मुलुकमा फैलन सक्ने सम्भावना पनि रहेकाले सरकार तयारी अवस्थामा र सतर्क अवस्थामा रहेको उनको भनाइ छ ।

चीनका सबै क्षेत्रका नागरिकमा नोवेल कोरोना भाइरसले संक्रमण गरेको अवस्था नरहेपनि यसबाट जोखिम हुने भएकाले चीनमा रहेका नेपाली नागरिकलाई पनि त्यस क्षेत्रमा नजान उनले आग्रह गरेका छन् ।

डा.लालले नेपालमा नोवेल कोरोना भाइरस आउन सक्ने सम्भावना रहेपनि आत्ति हाल्नु पर्ने अवस्था नरहेको भन्दै सबै नागरिक सचेत हुनुपर्ने बताए । उनले भने, ‘कुनैपनि रोगबाट जोगिन सबैभन्दा पहिले नागरिक आफै सचेत हुनुपर्छ । त्यसका लागि बाह्य देशबाट आउँदा वा नेपालमै पनि सामान्य स्वास्थ्य समस्या देखिँदा चिकित्सकसँग परामर्श गर्नु उचित हुन्छ ।’

सरुवा रोग एक मानिसबाट अर्को मानिसमा वा जनावरबाट मानिसमा सर्ने वा अन्य माध्यमबाट पनि सर्ने भएकाले यस्तो अवस्थामा नागरिकनै सचेत हुनु आवश्यक रहेको उनले बताए ।

डा. लालले भने अनुसार विश्व स्वास्थ्य संगठनले अहिलेसम्म कुनैपनि मुलुकमा आवतजावत गर्न, कुनैपनि एक मुलुकबाट अर्को मुलुकमा नागरिकलाई जान रोक लगाउने निर्देशन जारी नभएकाले त्यसै अनुसारको सतर्कता नेपालमा पनि अपनाइएको छ ।
तर, जहाँ जुन देशमा यो भाइरसले संक्रमित बनाउँदै सकेसम्म त्यस मुलुकमा भ्रमण नगर्नु नै उचित हुने उनको भनाइ छ ।

गत डिसेम्बर महिनामा देखिएको नोवेल कोरोना भाइरसका कारण चीनमा मात्रै अहिलेसम्म ६ जनाको मृत्यु भइसकेको छ भने प्रभावित हुनेको संख्या ४ सय पुगेको छ । ती मध्ये १५ जना स्वास्थ्यकर्मी रहेका छन् ।

यसैबीच संयुक्त राज्य अमेरिकामा पनि कोरोना भाइरसबाट प्रभावित भएको पत्ता लागेको छ । अमेरिकाको वासिंगटन डिसी राज्यमा कोरोना भाइरसबाट एक जना प्रभावित भएको त्यहाँको संघीय स्वास्थ्य कार्यालयले जनाएको छ ।

एकपछि अर्को गर्दै विभिन्न मुलुकमा कोरोना भाइरस फैलिन थालेपछि विश्व स्वास्थ्य संगठनले आज बैठक आह्वान गरेको छ । 

Last modified on 2020-01-23 13:09:41


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts