नेपाल आयुर्वेद औषधि व्यवसायी संघ प्रदेश २ को प्रथम अधिवेशन सम्पन्न

१७ सदस्यीय कार्यसमिति चयन



Download our app to get more features

जनकपुरधाम, माघ ८ । नेपाल आयुर्वेद औषधि व्यवसायी संघ प्रदेश २ को प्रथम अधिवेशन सम्पन्न भएको छ । 

बुधबार भएको नेपाल आयुर्वेद औषधि व्यवसायी संघ प्रदेश २ को प्रथम अधिवेशनबाट श्याम सुन्दर झाको नेतृत्वमा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ । 

संघको उपाध्यक्षमा रोहित चन्द्र ठाकुर, महिला उपाध्यक्षमा विभा साह, सचिवमा रोशन मिश्र, सह–सचिवमा सुबोध यादव र कोषाध्यक्षमा राकेश झा सर्वसम्मत चयन भएका छन् । 

त्यस्तै, सदस्यहरुमा श्रीराम साह (¬धनुषा), ममता कुमारी यादव (महोत्तरी), अतिक अनवर (सिरहा), राज कुमार सर्राफ (बारा), विरेन्द्र प्रसाद चौधरी (सप्तरी), सुशिल कुमार साह (पर्सा), मोहम्मद जहागिर रौकी (रौतहट) र सागेन्द्र महतो (सर्लाही) रहेका छन् । त्यस्तै, समावेशी सदस्यहरुमा महिला तर्फ रंजिता पण्डित, जनजाती तर्फ राम विनय मण्डल र खुल्ला सदस्यमा सिता कुमारी यादवलाई चयन गरिएको छ । 

अधिवेशनका प्रमुख अतिथि प्रदेश २ का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र कुमार यादवले मधेश भन्दा ठुलो ज्ञानभूमि संसारमा कहिंपनि नरहेको बताउँदै आयुर्वेदिक चिकित्साको सबैभन्दा ठुलो इतिहास जनकपुरधामकै भूमिपुत्री  सिताको रहेको जिकिर गरे । 

उनले भने, ‘मावन सभ्यताको सिर्जना भएदेखि नै आयुर्वेद चिकित्सा पद्धतिको शुरुवात भएको हो । तसर्थ यस पद्धति भन्दा पुरानो कुनै पद्धति छैन् ।’ मन्त्री यादवले आम नागरिकमा आयुर्वेदिक औषधीप्रति विश्वास जगाउन औषधी व्यवसायीहरु इमान्दार हुनुपर्नेमा समेत जोड दिए । उनले प्रदेश सरकारले आयुर्वेदिक सेवालाई विस्तार गर्न आवश्यक कानुन, नीति निर्माण गरिरहेको जानकारी दिए ।

कार्यक्रममा नेपाल आयुर्वेद औषधि व्यवसायी संघका केन्द्रिय अध्यक्ष जंगराज गिरीले मानव विकाससँगै सुरु भएको आयुर्वेद उपचार पद्धतिको लोकप्रियता बढ्दै गएको बताए । 

आयुर्वेद औषधिमा संलग्न व्यवसायीले गुणस्तरीयतामा ध्यान दिनुपर्ने समेत उनले बताए । मेडिकलले नगरेका उपचार आयुर्वेद र योगबाट निको भएको उनको दावी छ । उनले नेपालमा झण्डै चार हजारको हाराहारीमा आयुर्वेदिक औषधि व्यवसायी रहेको बताउँदै आयुर्वेद औषधि व्यवसायीलाई संगठित र एकता गराएर व्यवसायभित्र भएका विकृति तथा विसंगतिको अन्त्य गर्नुपर्ने आवश्यकता रहेको बताए । 

नेपाल आयुर्वेद औषधि व्यवसायी संघका अध्यक्ष सरोज राय यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा स्वास्थ्य महाशाखाका प्रमुख डा.सुजित शर्मा, जनकपुर अञ्चल आयुर्वेदका प्रमुख डा.सिमा झा लगायतका वक्ताहरुले समेत आ–आफ्नो मन्तव्य राखेका थिए । 

Last modified on 2020-01-23 13:08:34


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts