मानसिक स्वास्थ्य समस्यालाई कम गर्न प्रदेश ५ सरकार सचेत

प्रदेश अस्पतालहरुमा मानसिक रोगीको उपचारको व्यवस्था मिलाइने



Download our app to get more features

रुपन्देही, ९ माघ । प्रदेश नम्बर ५ सरकार मानसिक स्वास्थ्य समस्यालाई कम गर्न सचेत रहेको जनाएको छ ।

स्वास्थ्य तालिम केन्द्रको बुटवलको आयोजनामा ६ दिने मानसिक स्वास्थ्य सम्बन्धी तालिमको बुधबार उद्घाटन गर्दै सामाजिक विकास मन्त्री सुदर्शन बरालले प्रदेश सरकार मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राखेको बताए । उनले मानसिक स्वास्थ्य समस्या सम्बन्धी जनचेतना फैलाउने, प्रदेशका अस्पतालहरुमा मानसिक रोगीको उपचार हुने व्यवस्था मिलाउने तयारीमा सरकार जुटेको पनि जानकारी गराए । 

मन्त्री बरालले मानसिक समस्याप्रति समाजको दृष्टिकोण सकारात्मक हुन नसक्नु समाजमा गलत धारणा एवं अन्धविश्वास विद्यमान रहनु लगायतका कारणले मानसिक स्वास्थ्य समस्या बढ्दै गएको उल्लेख गरे । 

विश्वभर मानसिक स्वास्थ्य समस्या ठूलो चुनौतिको रुपमा देखा परेको बताउँदै उनले यो समस्या कम गर्नका लागि जनचेतना फैलाउनु सबैभन्दा उपलब्धी पुर्ण हुने दावी गरे ।

प्यूठान, पाल्पा र दाङ जिल्लाका मेडिकल अधिकृत र स्वास्थ्य संस्थाका एचए सहभागी तालिममा मानसिक रोग विशेषज्ञ डा. सुरज तिवारीले नेपालमा ५० लाख भन्दा बढी नेपालीहरु कुनै न कुनै किसिमको मानसिक स्वास्थ्य समस्याबाट प्रभावित भएको बताए । 

डा. तिवारीले हरेक वर्ष ५ हजार बढीको मृत्यु आत्महत्याका कारण हुने उल्लेख गर्दै मानसिक स्वास्थ्य समस्या दिनानुदिन बढ्दै गएकाले यसको निराकरणकालागि आवश्यक परामर्श दिनुपर्ने बताए । 

साना व्यक्तिमा हरेक ५ मा एक र ठुलो व्यक्तिमा हरेक ४ मा एक जना मानसिक स्वास्थ्यको समस्याबाट गुज्रिरहेको उनको भनाइ छ ।

स्वास्थ्य तालिम केन्द्र  प्रदेश ५ का  निर्देशक महेश्वर श्रेष्ठले मानसिक स्वास्थ्यका विषयमा जनचेतना फैलाउने, यस क्षेत्रमा भए गरेका उपलब्धी, समस्या एवं चुनौतीका विषयमा छलफल गर्र्ने, कसैलाई यो समस्या देखिए के कारण हो कारण खोज्नु पर्ने बताए । निर्देशक श्रेष्ठले प्रदेशका ३ जिल्लाका स्वास्थ्यकर्मीलाई मानसिक रोग सम्बन्धी तालिम  दिएको भएपनि अरु जिल्लामा पनि क्रमशः तालिम दिदै जाने बताए । 

Last modified on 2020-01-23 13:10:40


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts