कुष्ठरोग नियन्त्रणमा सरकारले चालेको तीन खम्बे रणनीति प्रभावहिन, एकै वर्ष तीन हजार कुष्ठ रोगी थपिए



Download our app to get more features

काठमाडौं, १२ माघ । नेपाल सरकारले कुष्ठ रोग निवारण घोषणा गरेको १० वर्षपछि पनि नयाँ नयाँ कुष्ठ रोगी देखिने क्रम रोकिएको छैन । ५ माघ ०६६ मा सरकारले कुष्ठ रोग निवारणको घोषणा गरे पनि त्यसयता देशभरका सबै जिल्लामा कुष्ठ रोगीहरू देखिइरहेका छन् ।

कुष्ठ रोग निर्मुल पार्न सरकारले देशव्यापी रुपमा अभियान चालिरहेको दावी गरिरहेको छ । तर पछिल्लो नौ वर्षको तथ्यांक हेर्ने हो भने नयाँ रोगी बढ्दै गएको छ । आर्थिक वर्ष ०७५÷७६ मा मात्रै तीन हजार दुई सय ८२ जनामा कुष्ठ रोगी भेटिएको कुष्ठरोग नियन्त्रण तथा अपांगता व्यवस्थापन शाखाले जनाएको छ । शाखाका अनुसार हाल ७७ वटै जिल्लामा कुष्ठरोगका बिरामी खोजी, उपचार र व्यवस्थापन भइरहेको छ । 

नयाँ बिरामी मध्ये बालबालिमा पनि यसको जोखिम बढिरहेको छ । आर्थिक वर्ष ०७५÷७६ मा नयाँ बिरामी मध्ये बालबालिकाको संख्या दुई हजार नौ सय २१ छ । यो विगत नौ वर्षयता कै उच्च तथ्यांक हो । 

सरकारले कुष्ठरोग निवारणमा तीन खम्बे रणनीति अबलम्बन गरेको छ । जसअन्तर्गत कुष्ठरोगको सार्ने र यसको जटिलता रोक्ने, कुष्ठरोगविरुद्धको भेदभाव रोक्ने र समावेशीमा प्रवद्र्धन गर्न र सरकारी स्वामित्व समन्वयन र साझेदारीमा सुदृढीकरण छ । तर सरकारको यो रणनीतिले कुष्ठरोगमुक्त नेपाल बनाउने सम्भावाना न्यून देखिन्छ । ५ माघ ०६६ मै नेपाललाई कुष्ठ रोगमुक्त मुलुक भनेर घोषणा गरिएको थियो । तर पछिल्लो समय हरेक वर्ष कुष्ठ रोगी बढीरहेका छन् । 

७७ जिल्लामै सचेतनामुलक कार्यक्रक
कुष्ठ रोगलाई निर्मूल पार्न चेतनामुलक कार्यक्रम ७७ जिल्लामा नै भइरहेको छ । यस्तै बिरामी सेवा खोजपड्ताल कार्यक्रम, औषधि व्यवस्थापन र अन्य विशेष कार्यक्रम भइरहेको शाखाले जनाएको छ । कुष्ठरोग आँखाले देख्न नसक्ने माइकोब्याक्टेरियम लेप्रे नामको सुक्ष्म किटाणुबाट लाग्ने एक प्रकारको ज्यादै कम सर्ने रोग हो । ९५ प्रतिशत मानिसमा यो रोगसँग लड्ने क्षमता हुन्छ । यो मानिसबाट मानिसमा सर्ने रोग हो । शुरु कै अवस्थामा रोगको निदान र उपचार गरे अरुलाई सर्दैन र अपांगता हँुदैन । 

तराईका १७ जिल्ला बढी प्रभावित
नेपाल हालसम्म बहुऔषधिबाट उपचार पुरा गर्नेको संख्या एक लाख ९२ हजार भन्दा बढी रहेको शाखाले जनाएको छ । शाखाका अनुसार यस रोगका कारण हालसम्म ३१ हजार भन्दा बढि अपांगता भएको अनुमान छ । यो रोगबाट तराईका १७ जिल्ला बढी प्रभावित रहेको तथ्यांक छ । 

त्यस्तैगरी सबैभन्दा बढी प्रदेश २ र सबै भन्दा कम प्रदेश १ मा कुष्टरोग प्रभावित फेला परेको महासाखाले जनाएको छ । 

कुष्ठरोगीलाई कानूनमै विभेद
आइतवार ६७औं विश्व कुष्ठ रोग दिवस कुष्ठरोगविरुद्ध हाम्रो अभियान, भेदभावको अन्त्य, मानव अधिकारको सम्मान भन्ने मुल नाराका मनाइएको छ । तर नेपालको कानुनमा नै यस बारे विभेद देखिएको छ । देवानी आचारसंहिताको भाग ३ मा पूर्ण रुपमा बोल्न वा सुन्न नसक्ने, पूर्ण रुपमा दृष्टिविहिन वा कुष्ठ रोग भएको अवस्थामा विवाह गर्न र गराउन नपाइने व्यवस्था छ । यो व्यवस्थालाई संशोधन गरी कुष्ठ रोगीलाई हटाउन सरकारलाई आग्रह गर्ने पनि शाखाले जनाएको छ । कुष्ठ रोग उपचार गरे निको हुने रोग भएकाले कानुनमा रहेको यो व्यवस्था खारेज गर्न आवश्यक रहेको पनि शाखाको माग छ । यो व्यवस्था अनुसार यदि झुक्याएर विवाह गरे सम्बन्ध विच्छेद हुने व्यवस्था छ । 
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts