वर्षेनी करोडौं लगानी भएपनि हात्तीपाइले रोगको जोखिम कायमै

What's This?


Download our app to get more features

चैत्र १, बागलुङ । सरकारले हात्तीपाइले रोग निवारणका लागि वर्षेनी करौडौं रुपैयाँ लगानी गरेपनि त्यसको प्रतिफल भने सन्तोषजनक छैन । 

बाग्लुङ जिल्लामा हात्तीपाइले रोग नियन्त्रणका लागि सात वर्षदेखि लगातार कार्यक्रम चले पनि रोगको परजीवी सर्ने क्रम भने अझै रोक्किएको छैन ।  

जिल्ला स्वास्थ्य कार्यालयमा बागलुङमा अझै पनि हात्तीपाइले रोगको जोखिम कायमै रहेको छ । जिल्लामा सञ्चालित रोग निवारण कार्यक्रम सकिन लाग्दा परीक्षणमा भने ‘फाइलेरिया’ नामक परजीवी फेला परेको छ । 

स्वास्थ्य कार्यालयले औषधि सेवन कार्यक्रम छैठौं वर्षमा पुग्दा गत वर्ष गरेको नमुना परीक्षणमा परजीवीको संक्रमण भएका बिरामी फेला परेका हुन् । 

वरिष्ठ जनस्वास्थ्य प्रशासक महेश्वर श्रेष्ठका अनुसार जिल्लाको अमलाचौर गाविसका तीन सय व्यक्तिमा रगत जाँच गर्दा नौ जनामा हात्तीपाइलेको परजीवी पाइएको छ । छ वर्षसम्म लगातार औषधि खुवाउँदा पनि रोग निवारणको अवस्थामा सुधार नआएपछि दुई वर्षलाई कार्यक्रम थप भएको छ । 

औषधिप्रति विश्वस्त हुन नसक्नु र जनचेतनाको समेत कमीले सबै मानिस औषधिको पहुँचमा आउन नसकेको स्वास्थ्य कार्यालयको बुझाइ छ । सरकारले स्वास्थ्य चेतनाका लागि वर्षेनी करोडौं रुपैयाँ खर्च गरेपनि स्थानीयस्तरमा सूचना प्रवाह गर्न जिल्ला स्वास्थ्य कार्यालयले प्रभावकारी भूमिका निर्वाह गर्न सकेको छैन । 

औषधि खान योग्य सबैले हात्तीपाइले विरुद्धको औषधि सेवन गर्नुपर्ने भएपनि प्रभावकारीता भने न्यून भएको जिल्ला स्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल सुपरभाइजर सरोजकुमार झाले स्विरकार गरे । 

दुई वर्ष नपुगेका बालबच्चा, गर्भवती तथा हप्तादिनको सुत्केरी, सिकिस्त बिरामीबाहेक सबैले हात्तीपाइलेको औषधि सेवन गर्नुपर्ने स्वास्थ्यकर्मीहरू बताउँछन् । हात्तीपाइले रोग लाग्न नदिन स्वस्थ व्यक्तिलाई ‘डिइसी’ र ‘अल्बेन्डाजोल’ औषधि खुवाउने गरिएको छ । ‘फाइलेरिया’ परजीवीको संक्रमणबाट लाग्ने यो रोग नेपालको जनस्वास्थ्य समस्याका रूपमा रहेको छ ।

लामखुट्टेको टोकाइबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने यो रोगबाट मानिसको शरीरमा हाइड्रोसिल, यौनाङ्ग सुन्निने, खुट्टा फुल्ने, हिँडडुल गर्न नसक्नेजस्ता समस्या देखा पर्छन् । नेपाल सरकारले सन् २०२० भित्र हात्तीपाइले रोग निवारण गर्ने लक्ष्य लिएको छ । 
 

Last modified on 2016-03-14 13:21:53


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts