नोवेल कोरोना भाइरसः ३ सय जनामा गम्भीर निमोनिया, ३ हजार सङ्क्रमित

चीनले भाइरस नियन्त्रण गर्न नसक्ने भन्दै वैज्ञानिकले दिए चेतावनी



Download our app to get more features

बीबीसी, १३ माघ । चीनमा कोरोनोभाइरसको सङ्क्रमणका कारण मृत्यु हुने व्यक्तिको सङ्ख्या ८० पुगेको अधिकारीहरूले बताएका छन् । अहिलेसम्म झन्डै ३ हजार जनामा उक्त भाइरसको सङ्क्रमण भएको पुष्टि भएको छ ।

चीनको सरकारी सञ्चारमाध्यमका अनुसार हुबे प्रान्तमा ३ सय जनाभन्दा धेरै मानिस सो भाइरसका कारण गम्भीर न्युमोनियाको सिकार भएका छन् । अधिकारीहरूले उक्त प्रान्तमा ७६ जनाको मृत्यु भएको सोमबार बताएका छन् । मृत्यु हुने अन्य चार व्यक्ति अरू स्थानका हुन् । सङ्क्रमणको केन्द्रमा रहेको उक्त प्रान्तको वुहानमा २ हजार शय्याका दुईवटा अस्पतालको निर्माण हुँदैछ ।

स्वास्थ्यसेवाका पाँच लाख कर्मचारीलाई उक्त भाइरसको रोकथाम, नियन्त्रण र उपचार गर्न परिचालित छन् । थप मास्क तथा सुरक्षित पोसाक बनाउन कारखानाहरूमा तीव्र गतिमा काम भइरहेको छ ।

सरकारले कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण गर्न नयाँ वर्षको बिदा लम्ब्याउने घोषणा गरेको छ । जनवरी ३० सम्म रहेको चिनियाँ नयाँ वर्षको बिदा अब फेब्रुअरीको दोस्रो सातासम्म लम्ब्याइएको छ ।

यसअघि अधिकारीहरूले सङ्क्रमण पहिलेभन्दा चाँडो फैलिरहेको चेतावनी दिएका थिए । लक्षण देखिनुअघि नै मानिसले यो सङ्क्रमण अरू मानिसमा सार्न सक्ने भएकाले यसलाई नियन्त्रण गर्न थप कठिन हुने बताइएको छ ।

बीबीसी संवाददाता रुपर्ट विङ्फिल्ड हेयज भन्छन्, “यो कोरोनाभाइरस मानिसबाट मानिसमा सजिलै सर्ने देखिन्छ । जसले गर्दा यो चीनभरि र अन्यत्र अझ फैलने सम्भावना छ ।”

तर उनका अनुसार उक्त भाइरसको सङ्क्रमण हुँदा ज्यान जाने सङ्ख्या कम भएको देखिन्छ । सङ्क्रमित व्यक्तिमध्ये २ देखि ३ प्रतिशतको मात्र ज्यान गएको बताइएको छ ।

कोरोनाभाइरसको सङ्क्रमणबारे कुराकानी गर्न विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक टेड्रोस एड्हानोम गहब्रहयसस बेइजिङ जाँदैछन् ।

चीनका राष्ट्रपति सी जिन्पिङले घातक कोरोनाभाइरस तीव्र गतिमा फैलिरहेको चेतावनी दिएका छन् । चिनियाँ नयाँ वर्षका दिन बिदाको बेलामा आयोजित एउटा उच्चस्तरीय बैठकपछि उनले वरिष्ठ चिनियाँ अधिकारीहरूलाई देश “गम्भीर परिस्थिति” मा रहेको बताएका थिए ।

कोरोनाभाइरस के हो?
कोरोनाभाइरस रुघाखोकी लगाउने भाइरसहरूको परिवारको एउटा सदस्य हो । तर अहिले फैलिएको यो भाइरस पहिला देखिएको थिएन। त्यसैले यो नयाँ भाइरसलाई द्दण्ज्ञढ(लऋयख नामकरण गरिएको छ । अन्य पशुपक्षीबाट सरेपछि नयाँ भाइरसहरू मानिसमा सामान्य बन्छन् ।

चमेरोबाट बिरालोजस्तो देखिने सिभिट र त्यसपछि मानिसमा भाइरस सरेपछि सन् २००३ मा श्वासप्रश्वासम्बन्धी रोग सार्सको प्रकोप फैलिएको थियो । यो नयाँ भाइरसले पनि श्वासप्रश्वास प्रणालीमा गम्भीर खालको सङ्क्रमण गराउँछ । ज्वरो आउनु, त्यसपछि सुक्खा खोकी लाग्नु र केही हप्तापछि सास फेर्न गाह्रो हुनु यो रोगका लक्षण हुन् । सङ्क्रमण भएका केही बिरामीलाई अस्पताल लगेर उपचार गर्नुपर्ने स्थिति उत्पन्न हुन्छ । यो रोगको छुट्टै औषधि वा खोप छैन ।

कोरोनाभाइरसको सङ्क्रमण भएका एकचौथाइ मानिसलाई मात्रै गम्भीर समस्या हुने बताइन्छ । मृत्यु हुनेमा अधिकांश वृद्धावस्थाका वा स्वास्थ्यसम्बन्धी अन्य समस्या भएका व्यक्ति छन् ।

चिनियाँ अधिकारीहरूले “वन्यजीवनको अवैध कारोबार” गर्ने समुद्री खाद्यपदार्थको एउटा बजारबाट उक्त भाइरस फैलिएको आशङ्का व्यक्त गरेका छन् ।

भाइरस नियन्त्रणबारे के भन्छन् वैज्ञानिक ?
यूकेस्थित एमआरसी सेन्टर फोर ग्लोबल इन्फेक्शस डिजीज अन्यालसिसमा कार्यरत वैज्ञानिकहरूले चीनले यो भाइरस नियन्त्रण गर्न नसक्ने सम्भावना भएको चेतावनी दिएका छन् । उनीहरूका अनुसार अहिले फैलिएको महामारीको रूप हेर्दा कोरोनाभाइरस मानवबाट मानवमा सरेको हुन सक्छ । प्रत्येक सङ्क्रमित व्यक्तिले सालाखाला २.५ जनालाई कोरोनाभाइरस सारिरहेको उनीहरूको आकलन छ ।

उक्त संस्थाले भाइरस नियन्त्रण गर्ने चीन सरकारको प्रयासको प्रशंसा गरेको छ । तर उसका अनुसार महामारी नियन्त्रण गर्न भाइरसको प्रसारण ६० प्रतिशतले घटाउन सक्नुपर्छ । त्यसो गर्न ठूलो चुनौती भएको उनीहरूको धारणा छ । किनभने त्यसका लागि सामान्य लक्षण भएका बिरामी फेला पार्नु र तिनलाई छुट्याएर अलग्गै राख्नुपर्ने हुन्छ । ल्याङ्कस्टर यूनिभर्सिटीका अनुसन्धानकर्ताहरूको एउटा टोलीले कोरोनाभाइरसबाट ११ हजार व्यक्ति प्रभावित भएको आकलन गरेका छन् । यदि सही हो भने यो सङ्ख्या सार्सको भन्दा बढी हुन्छ ।

कहाँकहाँ फैलिएको छ ?
कोरोनाभाइरस चीनबाट अन्यत्र पनि फैलिसकेको छ । तर प्रभावित व्यक्तिको सङ्ख्या कम छ । अहिलेसम्म चीनबाहिर कम्तीमा ४२ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको विश्व स्वास्थ्य सङ्गठन तथा सम्बन्धित देशले बताएका छन् । कोरोनाभाइरसबाट सङ्क्रमित व्यक्ति एशिया, अस्ट्रेलिया, युरोप तथा अमेरिकामा पनि भेटिएका छन् ।
थाईल्यान्डः ८
अमेरिका, अस्ट्रेलियाः ५/५
सिङ्गापुर, ताइवान, मलेशियाः ४/४
फ्रान्स, जापानः ३/३
दक्षिण कोरिया, भियतनामः २/२
नेपाल, क्यानडाः १/१
सबैजसो व्यक्ति वुहानबाट फर्किएका हुन् ।

यूकेमा परीक्षण गरिएका ३१ व्यक्तिमा कोरोनाभाइरस नभेटिएको सरकारले जनाएको छ । चीनको हुबेबाट भर्खरै फर्किएका झन्डै २,००० व्यक्तिको स्थिति पत्ता लगाउन अधिकारीहरूले खोजिरहेका छन् ।

Last modified on 2020-01-27 14:31:31


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts