पैसाका लागि मात्रै नर्सले बाहिर जानुपर्दैन



Download our app to get more features

नीलम चन्द, अनमि    

रौतेली विचवा स्वास्थ्यचौकी, कञ्चनपुर

नेपालमा नर्स वा अनमिका लागि राम्रो अवसर र राम्रै तलबमा काम गर्ने वातावरण बन्दै गएको छ । पहिले जुन रूपमा नर्स र अनमिलाई स्वयंसेविकाका रूपमा काममा लगाइन्थ्यो, त्यो क्रम अहिले हट्दै गएको छ ।  दुर्गममा काम गर्ने वा सुगममै काम गर्ने नर्सले आफ्नो क्षमताअनुसार काम गर्दा पारिश्रमिक राम्रै पाउँछन् ।

अतिरिक्त समयमा काम गर्नाले वा नेपालमै बसेर पनि अध्ययन बढाउने हो भने शिक्षण पेसाबाट पनि राम्रै आम्दानी गर्न सकिन्छ ।  नेपालमा नर्सिङ पेसामा राम्रो तलब नभएकै कारण विदेश जानुपर्ने अवस्था भने छैन । किनकि विदेशमा जाँदा के–कस्तो छ भन्ने थाहा नहुँदा झन् बढी श्रम शोषणमा पर्न सक्ने सम्भावना हुन्छ । जसले गर्दा नेपालमा पढ्दाको खर्च र बाहिर विदेश जाँदाको खर्च झन् बढी थपिने हुँदा घरपरिवारमा आर्थिक भार पर्न सक्छ । त्यसले परिवारका साथै आफूलाई पनि मानसिक तनाव हुन सक्छ । त्यसकारण जति पैसा खर्च गरेर नेपालमा पढिन्छ त्यसलाई नै सदुपयोग गरेर काम गर्ने हो भने कमाउनकै लागि पनि विदेश जानुपर्दैन । 

विदेशमा जस्तो मिहिनेत गरे नेपालमै राम्रो छ

सुलोचना चौधरी, बिएन नर्स

नर्सिङ पढेका र यो पेसामा लागेकाका लागि राम्रो अवसर नेपालमै पनि छ । नर्स पढेर विदेश गएर राम्रो आम्दानी हुन्छ भन्ने सोच गलत हो । किनकि नर्स पढ्दा जति खर्च गरिन्छ त्यहीअनुसारको मिहिनेत नेपालमा गर्ने हो भने राम्रो तलबमा काम गर्न सकिन्छ ।  निजी क्षेत्रमा केही समस्या होला, तर पछिल्लो समय निजी अस्पतालले पनि राम्रो ज्ञान भएका नर्सलाई राम्रो तलबसहितको सेवा–सुविधा दिइरहेका छन्, जुन नर्स पढ्ने र काम गर्नेका लागि राम्रो कुरा हो ।  त्यति मात्र होइन संघीय संरचनामा गइसकेपछि केन्द्रीय सरकारका साथै प्रदेश र स्थानीय सरकारले पनि आ–आफ्नो सुविधाअनुसार स्वास्थ्यकर्मीका लागि बजेट छुुुट्याउने गरेका छन् । जसले उनीहरूलाई प्रोत्साहन गर्ने काम पनि गरेको छ । 

सरकारी जागिरमा अवसरैअवसर

लक्ष्मी केसी, पूर्व महासचिव, नेपाल नर्सिङ संघ

नेपालमा बर्सेनि पाँच हजारभन्दा बढी नर्स उत्पादन हुने गरेका छन् । जसमध्ये अधिकांश विदेश जाने गरेका छन् । तर, नेपालमै पनि नर्सका लागि राम्रो अवसर छ । सकेसम्म सरकारी क्षेत्रमा नर्सहरूले जागिरका लागि आवेदन दिनु राम्रो हुन्छ । त्यसका साथै गैरसरकारी संस्थाहरूमा पनि काम गर्ने नर्सहरूको भविष्य राम्रो र तलब पनि राम्रो हुन्छ ।  नेपालमा हाल स्टाफ नर्स मात्रै नभई उच्च तहका पनि अध्ययन हुने हुँदा त्यसका लागि पनि अब विदेश जानुपर्ने अवस्थाको अन्त्य भएको छ । नेपालमै पढेर नर्सिङ पढाउन पाउनुका साथै काम पनि गर्न सकिन्छ । विशेषगरी निजी क्षेत्र र त्यसमा पनि नयाँ खुलेका संस्थामा काम गर्नुभन्दा पढ्दै गरेको अवस्थामा सरकारी जागिरका लागि आवेदन दिनु राम्रो हुन्छ ।  पछिल्लो समय सरकारले पनि स्वास्थ्य क्षेत्रमा काम गर्नेका लागि विभिन्न सेवा–सुविधाको व्यवस्था गरेको हुनाले नेपालमै पनि नर्सको राम्रो तलब र सेवा–सुविधा पाइने हुनाले विदेश जानुपर्ने अवस्था छैन ।  




 

Last modified on 2020-01-29 12:04:53


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts