एनएमएका नयाँ अध्यक्ष डा. कार्की भन्छन्ः मेडिकल काउन्सिल पुगेको 'सिपीडी' फिर्ता ल्याउँछु
काठमाडौं, २८ माघ । नेपाल चिकित्सक संघको निर्वाचित नयाँ कार्यकारिणी समितिको अन्तिम घोषणा गरिएको छ ।
संघको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा प्रमुख निर्वाचन अधिकृत डा. बाबुराम मरासिनीले विजयी उम्मेदवारहरुको घोषणा गरेका हुन् । निर्वाचितहरुलाई फुलमाला लगाएर बधाईं दिँदै डा. मरासिनीले चिकित्सकहरुको गरिमामय संस्था भएकाले संघलाई थप उचाईंमा पुर्याउन आग्रह गरे । डा. मरासिनी संघका भूतपूर्व महासचिव समेत हुन् ।
सो अवसरमा संघका नवनिर्वाचित अध्यक्ष डा. लोचन कार्कीले सबै चिकित्सकहरुको भावना समेटेर अघि बढ्ने बताए । चिकित्सकहरुमा कुनै जात वा विभाजन हुन नहुने भन्दै कार्कीले सबै चिकित्सक समान भएको धारणा राखे । नेपाल चिकित्सक संघको अवधारणा अनुरुप सुरु भएको चिकित्सकहरुको सिपीडी अर्थात कन्ट्युनियस प्राक्टिस डेभलेप्मेन्टको कार्यक्रम नेपाल मेडिकल काउन्सिलमा पुगेको भन्दै त्यसलाई संघमै फिर्ता ल्याउने प्रतिवद्धता व्यक्त गरे । उनले भने, 'हाम्रा अग्रजहरुले सुरु गरेको सिपीडी कार्यक्रमलाई म संघमै फिर्ता ल्याउने प्रतिवद्धता व्यक्त गर्छु ।'
निर्वाचित कार्यकारी समिति घोषणा कार्यक्रममा संघका पूर्वअध्यक्षहरुले नयाँ कार्यसमितिलाई बधाई एवं शुभकामना दिए । संघका पूर्वअध्यक्ष डा. आनन्द प्रसाद श्रेष्ठ, डा. चोपलाल भुषाल र डा. केदार नरसिंह केसीले आफ्ना अनुभव सुनाउँदै थप उर्जावान भएर काम गर्न नयाँ कार्यसमितिलाई सुझाव दिए । संघको नयाँ कार्यसमितिलाई फागुन दोश्रो साता पोखरामा हुने चिकित्सक संघ परिषदको बैठकबाट निवर्तमान समितिले कार्यभार सुम्पिने छ ।