प्रसूति गृहमा प्रसूति गराउने भन्दा स्त्री रोग उपचार गराउने बढी 



Download our app to get more features

काठमाडौं, ५ फागुन । कुनै बेला प्रसूति गराउनेको पहिलो रोजाइमा पर्ने परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल अहिले भने प्रसूतिका लागि भन्दा पनि स्त्री रोग उपचार गर्नेको रोजाइमा पर्न थालेको छ । प्रसूति गृहले सबै प्रकारका स्त्री रोगसम्बन्धी सेवा दिन थालेपछि बिरामीको आर्कषण बढेको हो।

प्रसूति रोग अस्पतालका निर्देशक डा. जागेश्वर गौतमका अनुसार प्रसूति गृहमा सुत्केरी गराउन दैनिक दुई सय पचासदेखि तीन सयसम्म र स्त्री रोग उपचारका लािग  दैनिक चार सयसम्म आउने गरेका छन् । बिरामीको संख्या बढेसँगै अस्पतालको ओपिडीले धान्न मुस्किल भएको उनको भनाइ छ । प्रसूति गृहमा सबै प्रकारका स्त्री रोगसम्बन्धी सेवा पाउन सकिने उनले बताए । अस्पतालप्रतिको पुरानो विश्वास, सस्तो तथा स्तरीय सेवा, सुत्केरी पश्चात् घर फर्कन यातायात खर्च प्रदान जस्ता आकर्षक पक्षले बिरामीको पहिलो रोजाइमा प्रसूति गृह पर्न गएको हो । 
बिरामी चाप बढेपछि शाखा विस्तार 
बिरामीको चाप बढेपछि प्रसुति गृहले गत वर्षदेखि थानकोट तथा भैसीपाटीबाट ओपिडी सेवा दिदैं आइरहेको छ । ओपिडीमा बिरामीको चापलाई धान्न नसके कैं कारण अस्पतालले ओपिडी सेवा विस्तार गरेको डा. गौतमको भनाइ छ । ओपिडीमा परीक्षण गराएका बिरामीलाई शल्यक्रियाको आवश्यकता पर्दा थापथलीबाटै सेवा दिइने उनी बताउँछन् । आगामी दिनमा भक्तपुरलगायत अन्य दुई स्थानमा पनि शाखा विस्तार गर्न सरकार समक्ष प्रस्ताव लाने तयारी भइरहेको डा. गौतमले बताए।ओपिडीका लागि आउनेहरूको संख्या बढ्दै गएमा आगामी दिनमा शाखामार्फत् नै सबै प्रकारका सेवा दिने तयारीमा अस्पताल रहेको उनी बताउँछन् । यद्यपि, विस्तार गरिएका शाखाहरुबाट कसरी सेवा विस्तार गर्ने तथा नयाँ शाखा विस्तारको विषयमा अध्ययन भइरहेको छ । 
डेलिभरीको चाप अत्यधिक
प्रसूति गृहले गतवर्ष २२ हजार एक सय ४७ जनाको डेलिभरी गराएको थियो । यसवर्ष यो संख्या बढेर २४ हजार पुग्ने अनुमान निर्देशक गौतमको छ । संसारमै धेरै डेलिभरी गराउने १० अस्पतालको सूचिमा प्रसूति गृह पनि पर्ने उनको दाबी छ । गौतम भन्छन्, ‘यो स्तरको डेलिभरी गराउनु भनेको असम्भवलाई सम्भव बनाइएको हो ।’ अस्पतालमा आकस्मिक शल्यक्रिया गर्न सक्ने गरी १० जना चिकित्सक रहेको उनले बताए । यसप्रकारको सुविधा कुनै पनि अस्पतालमा नभएको गौतमको दाबी छ ।

अनलाइन टिकट प्रणालीमा प्रसूति गृह
प्रसूति गृहले आइतबारदेखि अनलाइन टिकट सेवा सुरु गरेको छ । अनलाइन टिकट बुकिङ प्रणालीले घन्टौंसम्म लाइन बसेर टिकट काट्नु पर्ने बाध्यता अब अन्त्य भएको गौतमले बताए ।यसअघि सिभिल अस्पताल, गंगालाल अस्पताल र मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा अनलाइन टिकट प्रणाली सुरु भइसकेको छ। 
 

Last modified on 2020-02-17 15:44:57


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts