स्पार्कको वार्षिकोत्सवः समारोह मनाउन छुट्याइएको १ लाख पैसा क्यान्सर पीडित पत्रकारलाई



Download our app to get more features

काठमाडौं, ११ फागुन । योग तथा प्राकृतिक चिकित्सा पद्धति र त्यसको उपचारको क्षेत्रमा नेतृत्वदायी र सफल संस्थाका रुपमा रहेको स्पार्क हेल्थ होमले आफ्नो वार्षिकोत्सवको औपचारिक कार्यक्रम रद्द गरेर नमूना कार्य गरेको छ । 

आफ्नो २८ औं वार्षिकोत्सव मनाइरहेको यस संस्थाले औपचारिक कार्यक्रममा लाग्ने खर्च बराबरको पैसा रक्तक्यान्सरबाट पीडित पत्रकार कमल पौडेललाई सहयोग गरेको छ । करिब २ दशकदेखि पत्रकारितामा सक्रिय पौडेलको जीवनरक्षाका निम्ति अस्पतालले सहयोग गरेको जनाएको छ । अस्पताल परिसर कालिमाटीमा आयोजित सहयोग हस्तान्तरण कार्यक्रममा संस्थाका अध्यक्ष हरिशरण रिजाल लगायत पदाधिकारीहरुले पत्रकार पौडेलका छोरा अभिन्न पौडेललाई सहयोग रकम हस्तान्तरण गरे । 

कार्यक्रममा संस्थाका अध्यक्ष रिजालले अस्पतालले औपचारिक कार्यक्रम भन्दा पत्रकारको जीवनरक्षा गर्न योगदान गर्नु चाहीँ वाञ्छनीय लागेर सहयोग गरेको बताए । अस्पतालका मेडिकल निर्देशक डा. सुनील पौडेलले प्राकृतिक चिकित्सालाई प्रवद्र्धन गर्न र स्पार्क अस्पतालको सेवालाई प्रवद्र्धन गर्न पत्रकार पौडेलले भूमिका खेलेको भनाइ राखे । स्पार्क अस्पतालका निर्देशक रुपेश अधिकारीले पत्रकारजगतलाई संस्थाले सँधै सम्मान गर्दै उनीहरुसँग सहकार्य गर्ने बताए । सोही नीति अनुरुप कार्यक्रमको सट्टा सहयोग हस्तान्तरण गरेको उनको भनाइ छ । कार्यक्रममा स्वास्थ्य पत्रकार मञ्चकी अध्यक्ष कल्पना आचार्यले विविध खर्चमा सकिने रकम पत्रकारको उपचारार्थ सहयोग गरेर संस्थाले ठूलो पूण्य गरेको भन्दै प्रशंसा गरिन् । 

अस्पतालले रक्तक्यान्सर पीडित पौडेलका साथै पेटको क्यान्सर भएका अस्पतालका कर्मचारी काजी श्रेष्ठलाई पनि ५० हजार सहयोग गरेको छ । सो मध्ये २५ हजार अस्पताल र २५ हजार स्पार्क अस्पताल रहेको भवनको घरबेटी सहयोग गरेका हुन् । 

अस्पतालले वार्षिकोत्सवका अवसरमा निःशुल्क स्वास्थ्य शिविर र रक्तदान कार्यक्रमको पनि आयोजना गरेको छ ।

२८ वर्षअघि योग तथा प्राकृतिक चिकित्सा अनुसन्धान केन्द्रका रुपमा सुरु भएको स्पार्कले विसं २०६० मा अस्पतालको स्वरुप लिएको हो । त्यसयता सो संस्थाले प्राकृतिक चिकित्सा उपचार पद्धतिमा ठूलो फड्को मार्दै विभिन्न स्थानमा शाखा र सेवा विस्तार गरिरहेको छ । पछिल्लो समय विभिन्न दीर्घरोग, ढाड, नशासम्बन्धी समस्या लगायत विभिन्न रोगका बिरामीहरु आधुनिक चिकित्साबाट निराश भएर प्राकृतिक चिकित्सा पद्धतितर्फ आकर्षित भएका छन् । प्राकृतिक चिकित्साका पद्धति र उपचार प्रतिअसर रहित हुने र उपचार दिगो हुने यसक्षेत्रका विज्ञहरुको दावी छ । 

Last modified on 2020-02-23 17:21:01


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts