मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रम विस्तार गरिँदै



Download our app to get more features

हेटौंडा, १४ फागुन । बागमती प्रदेशले मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रमलाई विस्तार गर्ने भएको छ । जनतालाई नसर्ने तर प्राणघातक रोगका बारेमा बेलैमा जानकारी होस् भन्ने उद्देश्यले कार्यक्रमलाई प्रदेशका सम्पूर्ण नागरिकको पहुँचसम्म पुर्‍याउने तयारी थालिएको हो ।

कार्यक्रमअनुसार आगामी एक वर्षभित्र प्रदेशका २५ हजार विपन्न परिवारका सदस्यले निःशुल्क सेवा प्राप्त गर्नेछन् भने प्रदेशका अन्य ७५ हजार नागरिकले न्यून शुल्कमा स्वास्थ्य परीक्षण गराउन पाउनेछन् । कतिपय अस्पतालले आजभोलिबाटै र केहीले एक साताभित्रमा कार्यक्रम शुरू गरिसक्ने र आगामी चैतको पहिलो साताबाट सबै नागरिकलाई सेवा दिने गरी कार्यक्रम शुरू गर्ने तयारी गरिएको प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले जानकारी दिए । अघिल्लो आर्थिक वर्षदेखि परीक्षणका रूपमा प्रदेशका ५ जिल्लाका ५ अस्पतालबाट शुरू गरिएको कार्यक्रम अब चैतबाट भने प्रदेशका १३ जिल्लाका १५ अस्पतालबाट एकैसाथ शुरू गर्न लागिएको हो ।

कार्यक्रमको शुरुवाती चरणमा ज्येष्ठ नागरिक, दलित, महिला, विपन्न तथा अल्पंख्यकका लागि सेवा दिइएको भए पनि आगामी दिनमा कार्यक्रमको दायरा फराकिलो बनाएर शुरू गर्न लागिएको हो ।
विशेषगरी प्रदेशका नागरिकलाई नसर्ने रोगको सहज परीक्षण गरी समयमै उपचार गर्न सहजता होस् भन्ने उद्देश्यले प्रदेशका सम्पूर्ण नागरिकको पहुँच पुग्ने गरी कार्यक्रमलाई व्यापकरूपमा विस्तार गर्न लागिएको मन्त्री दुलाल बताउँछन् ।

नसर्ने रोगका बारेमा सम्पूर्ण शरीरको स्वास्थ्य परीक्षण गरेर आफूमा भएका स्वास्थ्य समस्याका बारेमा समयमै जानकारी होस् भन्ने उद्देश्यले कार्यक्रम ल्याइएको उनको भनाइ छ । प्रदेशको हेटौंडा अस्पतालसहितका १५ अस्पतालबाट लक्षित वर्गका नागरिकलाई स्थानीय तहको सिफारिसमा निःशुल्क परीक्षण गर्ने र अन्य नागरिकलाई न्यून शुल्कमा स्वास्थ्य परीक्षण गर्ने गरी कार्यक्रम ल्याइएको मन्त्री दुलालले जानकारी दिए ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts