लुम्बिनी प्रादेशिक अस्पतालबाट सबै तहका सेवा दिने व्यवस्था मिलाउछौं : मन्त्री गिरी



Download our app to get more features

रुपन्देही, १६ फागुन । प्रदेश ५ का उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरीले  लुम्बिनी प्रादेशिक अस्पतालबाट सबै तहका सेवा दिने व्यवस्था मिलाउने बताएका छन् । उपचारका लागि काठमाडांै धाउने र देश बाहिर समेत जानुपर्ने बाध्यता अन्त्य गर्न प्रदेश सरकारले गौरवको योजनामार्फत सुविधासम्पन्न अस्पताल बनाउने उनले बताए ।

लुम्बिनी प्रादेशिक अस्पतालको ११०औं वार्षिक उत्सवका अवसरमा आयोजित साप्ताहव्यापी कार्यक्रमको विहीबार समापन गर्दै मन्त्री गिरीले यस्तो बताएका हुन् । संघीयता कार्यान्वयन भए पनि कर्मचारीको मानसिकता परिवर्तन नभएकोले अझै परिर्वतनको आवश्यक रहेको उनले जोड दिए । उनले गलत कामको प्रतिस्पर्धा होईन राम्रा कामको सिको गर्न सबै लाग्नुपर्ने सुझाव दिए । प्रमुख अतिथि समेत रहेका गिरीले संघीयता कार्यान्वयनसँगै कर्मचारी व्यवस्थापनमा केही समस्या भए पनि मिलाउदै जाने प्रतिबद्धता जनाए । 

लुम्बिनी प्रादेशिक अस्पतालमा रहेका ११ तहका चिकित्सकलाई अन्य ठाउँमा जानु नपर्ने बताउँदै मन्त्री गिरीले जिम्मेवारीका साथ काम गर्न सुझाव दिए । कामचोर कर्मचारीको मानसिकता त्याग्न उनले कर्मचारीलार्ई आग्रह पनि गरे । 

साइनबोर्ड मात्रै बदलियो, व्यवहार बदलिएन : न्यौपाने 
कार्यक्रममा प्रदेश सभा अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति दधिराम न्यौपानले साईनबोर्ड बदले पनि विगतका व्यवहार बदल्न नसक्दा जनताले कुनै पनि ठाउँमा परिवर्तनको अनुभव गर्न नसकेको बताए । उनले हतियार बोकेर मात्र विद्रोह नहुने भन्दै नयाँ कुरालाई सुरु गर्नु पनि विद्रोह भएको बताए । न्यौपानेले लुम्बिनी प्रादेशिक अस्पतालमा चिकित्सक, नर्ससहित कुनै पनि तहबाट सर्वसुलभ  र मुस्कानसहितको सेवा बिरामीले नपाएको आरोप लगाए । उनले भने, ‘अस्पताल आउने हाजिर गर्ने अनि बाहिर क्लिनिकमा जाने भइरहेको छ । काम अनुसार सरकारले कर्मचरीलाई सेवा सुविधा नदिएको भए मलाई भन्नुहोस् ।’

प्रदेश सभा सदस्य रमा अर्यालले लुम्बिनी प्रादेशिक अस्पतालबाटै सहज र सुलभ स्वास्थ्य सेवाको व्यबस्था मिलाउन जोड दिइन । यस क्षेत्रका सेवाग्राहीको भरोसाको केन्द्र लुम्बिनी प्रादेशिक अस्पताललाई  प्रदेशबाट आवश्यक सहयोग गर्न तयार रहेको उनको भनाइ छ । 

कार्यक्रममा लुम्बिनी प्रदेशिक अस्पताल विकास समितिका निर्वतमान अध्यक्ष रमेश खनालले अस्पतालको बारेमा निर्णय लिँदा पहिलादेखि काम गरेका व्याक्तिहरूसँग राय लिन आग्रह गरे । उनले ११औं तहका चिकित्सकलाई राख्न सक्ने अस्पतालको रुपमा विकास गर्नुपर्ने सुझाव पनि दिए । 

सुधारका लागि जस्तोसुकै पहल गर्न अस्पताल तयार छ : खनाल
लुम्बिनी प्रादेशिक अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन डा. राजेन्द्र खनालले अस्पतालको अवस्था, अबको रणनीति बारे जानकारी गराएका थिए । उनले अस्पताल सुधारका लागि जस्तोसुकै पहल गर्न पछि नपर्ने बताए । यस्तै अस्पताल विकास समितिका अध्यक्ष सूर्यबहादुर भट्टराईले अस्पतालका कर्मचारीको मनोबल उच्च हुने तरिकाले काम गर्ने बताए । अध्यक्ष भट्टराईले कर्मचारीलाई कामको लोड बढी भएका कारण मुस्कानसहितको सेवा नभएको जवाफ दिए । उनले भने, ‘अब त्यसलाई सुधार गर्दै जाने छौं ।’

९ फागुनदेखि सुरु भएको सप्ताहब्यापी कार्यक्रममा आयाजित प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय भएका प्रतियोगीलाई पुरस्कार बितरण गरिएको थियो । सप्ताहब्यापी कार्यक्रम सञ्चालन अस्पतालका नर्सिड प्रमुख ज्योति पौडेलले गरेकी थिईन ।
 

Last modified on 2020-02-28 15:32:04


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts