बाजुराका दुर्गम दुई गाउँः बिरामी पर्दा भगवान भरोसा, न परिवार नियोजन न बच्चालाई खोप



Download our app to get more features

बाजुरा । एक महिनादेखि ज्वरोले थलिएकी सञ्चुरा गुरुङ्ग जडिबुटिको सहारामा उपचार गरिरहेकी छन् । सामान्य सिटामोल समेत नपाएर उनी रोगसँग लडिरहेकी छिन् । उनलाई उपचारको लागी स्वास्थ्य चौकी जान डेढ दिन लाग्छ । 

त्यहाँ उपचार गर्न एक दिन । र, उपचार गरेर गाउँ फर्कन अर्को डेढ दिन । यसरी ज्वरोको उपचारका लागी उनले लगभग ५ दिन खर्चनुपर्ने हुन्छ । बाजुराको गुम्बा गाउँकी उनीलगायत अरु सबैको हालत एउटै हो । ‘के गर्नु घरमै जडिबुटि खाने गरेको छु, स्वास्थ्यचौकी पुग्न त्यत्रो समय लाग्छ’ उनले पीडा सुनाइन् ।  

उनी जस्तै बाजुराको हिमाली गाउँपालिका ३ मा रहेका गुम्बा र लाम्पाटागाउँका सबै स्थानीय  भगवानको भरोसमा बाँचेका छन् । ‘बिरामी हुँदा उपचार गर्न जानका लागि उपचार गर्ने ठाँउ छैन । बिरामी बोकेर लाने कुनै सम्भावना नै छैन्’ अर्की स्थानीय ममता कुँवरले भनिन, ‘त्यही जडिबुटिको भरमा बसेका छौं । सरकारले निःशुल्क रुपमा दिने सामान्य औषधि लिन जानका लागि पनि बाटोमा बास बस्नुपर्ने बाध्यता छ, के गर्नु।’

जहिलै राज्यको उपेक्षामा रहेका यी दुवै गाउँ बाजुराको उत्तरी क्षेत्रका अन्तिम गाउँ हुन् । गुम्बा र लाम्पाटा गाउँवासीलाई सामान्य सिटामोल, जीवनजल लगायतका आधारभूत स्वास्थ्य सेवा लिन जान बास बस्नुपर्ने बाध्यता रहेको छ । 

गुम्बा गाउँमा २५ परिवार र लाम्पाटामा १३ परिवार बसोवास गर्दै आएका छन् । हुम्लासँग सीमा जोडिएका यी गाउँबाट गाउँपालिकाको वडा नम्बर १ मा रहेको बिच्छँया स्वास्थ्य चौकी पुग्न दुई दिन लाग्छ ।  स्वास्थ्य संस्था धेरै टाढा भएकाले यहाँका स्थानीय जडिबुटिको भरमा रहेको वडा सदस्य जगतबहादुर लामाले बताए । 

हालसम्म परिवार नियोजनका साधन प्रयोग गरिएनन्

स्वास्थ्य चौकी जान दुई दिन लाग्ने भएकाले अहिलेसम्म यी गाउँमा कसैले पनि परिवार नियोजनका साधन प्रयोग गरेका छैनन् । स्वयंसेविका पासाङ्ग लामाले भनिन्,‘कण्डम, पिल्स र डिपो प्रयोग तथा ल्याउन धेरै टाढा जानुपर्ने भएकाले यी गाउँमा अस्थायी साधन प्रयोग भएका छैनन् । स्थायी बन्ध्याकरण त परको कुरा हो ।’ परिवार नियोजनको साधन प्रयोग नगर्ने भएकाले यहाँ रहेका एक दम्पतिले ५ देखी ११ बच्चासम्म जन्माउने गरेको उनले सुनाइन् ।

बालबालिकाले खोप पाएनन्

जिल्ला सदरमुकाम मार्तडीबाट ५० कोष टाढा अर्थात पैदल ५ दिन लाग्ने भएकाले लाम्पाटा र गुम्बागाउँवासीले अहिलेसम्म सरकारी सेवाको अनुभूति समेत गर्न पाएका छैनन् । स्थानीय इन्द्र गुरुङ भन्छिन, ‘लाम्पाटा गुम्बा गाउँभन्दा ४ घण्टा अझै टाढा छ । लाम्पाटा गाउँमा ५ वर्ष मुनिका १५ जना बालबालिका रहेका छन तर ती मध्ये कसैलेपनि अहिलेसम्म खोप लगाएका छैनन् ।  गाउँका कुनै महिला सुत्केरी हुँदा खोप तथा अन्य सेवा सुविधा नपाउने गरेको उनले बताइन् । 

Last modified on 2020-02-29 14:46:40


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts