विश्व श्रवण दिवस

नेपालका ३० लाख मानिसमा श्रवण शक्तिमा समस्या

बहिरोपन रोकथामका लागि ध्यान दिनुस् यी कुरामा



Download our app to get more features

काठमाडौं, २० फाल्गुन । आज मार्च ३ तारिख अर्थात् विश्व श्रवण दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइँदैछ ।

‘जीवनका लागी श्रवण —श्रवणशक्ति कम भई आफ्नो गती वा जीवनयापनलाई सिमित हुन नदेऊ’ भन्ने नारासहित यो वर्षको विश्व श्रवण दिवस मनाइँदैछ । 
 
दिवसका अवसरमा नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, ईएनटी सोसाईटी, स्पिच एण्ड हेयरिङ अफ नेपाल, बीपी आई फाउन्डेसन, चियर्स अस्पताल, शिक्षण अस्पताल, नर्भीक अस्पताल लगायतले विभिन्न जनचेतनामुलक कार्यक्रमको आयोजना गर्दैछ ।

उपचारात्मक महाशाखाका विभाग प्रमुख डा. प्रकाश बुढाथोकीका अनुसार बहिरोपन अपाङ्गतामध्ये प्रमुख अपाङ्गतामा पर्दछ । विश्व स्वास्थ्य संगठनको २०१८ को तथ्याङ्कअनुसार विश्वमा ४६ करोड अर्थात् ६ दशमलव १ प्रतिशत मानिसहरुमा श्रवण अशक्तता छ भने ३४ करोड बालबालिकामा यो समस्या देखिएको छ । 

नेपालमा ३० लाख मानिसमा श्रवणमा समस्या छ भने हरेक दिन ४ देखि ६ जना बहिरोपनासहित नवजात जन्मने गरेको डा. बुढाथोकीको भनाइ छ । 

विद्यालयका हरेक ३ मा १ विद्यार्थीमा कान, नाक र घाँटीको समस्या छ, जसमा एक तिहाईमा कानको समस्या छ । कानको समस्या भएका बालबालिकामा एक तिहाईमा श्रवणको समस्या छ । साढे १ लाख बालबालिकामा कम सुनाई छ, जसले स्वास्थ्यका अतिरिक्त शिक्षामा समेत असर परेको उनले बताए ।

डा.बुढाथोकीका अनुसार नेपालमा ईएनटी सर्जन १ सय ८६, अडियोलोजि तथा स्पिच लेड्डवेज प्याथोलोजिष्ट ६० जना तर नेपालमा कार्यरत २५ जना छन । विश्व स्वास्थ्य संगठनले पहिलोपटक सन् २०२० को मार्चमा वल्र्ड हियरिङ रिर्पाेट सार्वजनिक गर्दैछ ।

बहिरोपन रोकथाम गर्नको लागि ध्यान दिनुपर्ने कुराहरुः 
१. रुघाखोकी लागेमा मध्यकान र नाकको पछाडि भाग जोड्ने नली बन्द हुन जान्छ । यो नली लामो समयसम्म बन्द भईरहेमा मध्य कानमा असर पर्दछ । यो समस्या बच्चाहरुमा बढी देखापर्ने भएकोले बच्चाहरुलाई रुघाखोकी लाग्नबाट बच्नको लागि आमाको दुध खुवाउने, दुध खुवाउदा वच्चाको टाउको उठाएर खुवाउने, घर वरिपरि पाईने ताजा खानेकुरा खुवाउने र जङ्क फुड खुवाउन बन्द गर्नुपर्दछ । रुघा लागेमा तातो तातो झोल पदार्थ खुवाउनु पर्दछ र निको नभएमा नजिकैको स्वास्थ्यचौकी वा अस्पतालमा लैजानु पर्दछ । 
२. कानको वरिपरि चोट लागेमा वा कान कोट्याउदा कानको जाली फुटने सम्भावना हन्छ । त्यसैले कान कोट्याउने बानी सबैले हटाउनु पर्छ र बच्चालाई पनि कान कोट्याउनु हँुदैन भनि सिकाउनु पर्दछ । 

३. केहि कारणवस कान पाकि हालेमा नजिकैको चिकित्सकको सल्लाह लिनु पर्दछ । 

४. कानमा तेल अथवा अरु कुनै पनि झोल पदार्थ हाल्नु हुँदैन । 

५. गर्भवती भएको पहिलो तीन महिनासम्म आफु खुसीे औषधिको सेवन गर्नु हँुदैन, गर्नै परेमा डाक्टरलाई जँचाएर मात्र सेवन गर्नुपर्दछ । गर्भवती आमाले जाँडरक्सी र चूरोट सेवन गर्नुहुदैन । 

६. गाडीको हरन वजाउन निषेध गरेजस्तै सार्वजनिक ठाउँमा वाजागाजा पनि धेरै चर्को बजाउन निषेध गरिनु पर्दछ ।  

७. मोवाइल वा ईयर फोन धेरै समयसम्म प्रयोग गर्नु हुदैन । यसबाट निस्केको तरंगले भित्री कानमा असर पर्दछ । 

८. चर्को ध्वनी आउने ठाउँमा काम गर्दा इएर प्लग लगाउनु पर्दछ । यस्ता व्यक्तिहरुको समय समयमा सुनाईको जाँच गराउने व्यवस्था गर्नुपर्दछ । 

९. युवा तथा सर्वसाधारणलाई श्रवण असक्तताको कारण, रोकथाम र समयमा पत्ता लगाउने विधिहरुबारे जानकारी गराउनु पर्दछ । 

१०. कानको श्रवण कम भएमा छिट्टै उपचार गर्नुपर्दछ, किनभने बोलीको विकास हुन सक्दैन ।

११. श्रवण समस्या हुने जोखिममा रहेका नवजात शिशुहरु जस्तै तौल कम, समयपुर्व जन्मिएका, सघन कक्षमा राखिएका बच्चा, रुबेला संक्रमित आमाको बच्चालाई जतिसक्दो छिटो जाँच र उपचार गर्नुपर्दछ । 
    


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts