प्रधानमन्त्रीले नेपालमै मिर्गौला प्रत्यारोपण गर्नु राम्रो, प्रत्यारोपण सफल हुने विश्वास: डा. काफ्ले

डा. दिक्षितको प्रश्न: प्रधानमन्त्रीले अहिले नै प्रत्यारोपण गर्नुपर्ने कारण के थियो ?



Download our app to get more features

काठमाडौं, २१ फागुन । वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. ऋषिकुमार काफ्लेले प्रधानमन्त्री केपी शर्मा ओलीले पूनः मिर्गौला प्रत्यारोपण नेपालमै गर्न लागेकोमा धन्यवाद दिँदै यो निर्णयसँगै नेपाली चिकित्सकहरुप्रतिको भरोसा बढाएको टिप्पणी गरेका छन् । उनले भने,‘उहाँ पूनः प्रत्यारोपणको लागि विदेशपनि जान सक्नुहुन्थ्यो, तर उहाँले नेपालमै गर्ने निर्णय गर्नुभयो । यो अत्यन्तै राम्रो पक्ष हो । यो हामी नेपाली चिकित्सकहरुले आर्जन गरेको कुरा पनि हो । हामी सेवा दिन सक्छौं भन्ने पक्ष हो ।’

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले प्रधानमन्त्रीको मिर्गौलाको पूनः प्रत्यारोपणको तयारी राम्रो भएकोले शल्यक्रिया सफल हुने विश्वास दिलाए । उनले भने,‘प्रत्यारोपणपूर्व गरिएका महत्वपूर्ण चेकजाँचका रिपोर्ट राम्रो आएका छन् । मुटु, कलेजो र फोक्सोको अवस्था राम्रो छ । यी सबै टेष्ट गर्दा पूर्ण रुपमा स्वस्थ देखियो । त्यही भएर अस्पताल भर्ना गरिएको हो ।’ नेपालमा ९८ प्रतिशत प्रत्यारोपण सफलता भएको सुनाउँदै यो नेपालको लागि पनि सुखद पक्ष भएको काफ्लेको टिप्पणी छ । उनले भने,‘हिजो प्रधानमन्त्रीज्यू भर्ना हुनुभयो, आज अब्जरभेशनमा राखिएको छ ।’

साक्षात्कारमा बोल्दै उनले मिर्गौलाको सफल प्रत्यारोपणपछि प्रधानमन्त्री अझै १५–२० वर्ष स्वस्थ रहने पनि विश्वास दिलाए । उनले भने,‘शरिरले साथ दिएसम्म उहाँ स्वस्थ हुनुहुन्छ । कुनै ईन्फेक्शन भएन, हृदयघात वा सडेन डेथ भएन भने लामो समयसम्म चल्न सक्छ ।’ नेपालभित्रै मिर्गौला प्रत्यारोपण गर्ने प्रधानमन्त्री ओलीको निर्णय अत्यन्तै सकारात्मक भएको उनको तर्क छ । उनले प्रत्यारोपण सफल हुने भन्दै यसमा शंका नगर्न आग्रह गरे । 

वरिष्ठ चिकित्सक डा. सुन्दरमणि दिक्षितले पनि प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो मिर्गौलाको पूनः प्रत्यारोपण नेपालमै गर्ने निर्णय गर्नु सुखद पक्ष भएको बताए । नेपालका नेताहरुले सानो रोग लाग्दापनि विदेश गएर उपचार गरेकोमा उनले दुःख मानेको सुनाउँदै पछिल्लो पटक प्रधानमन्त्री ओलीले लिएको निर्णय सुखद् र सकारात्मक भएको प्रतिक्रिया दिए । 

उनले भने,‘ओलीले पनि यसअघिका पाप धोए । केही महिनाअघिपनि उनले सिंगापुरमा उपचार गरेका थिए । अहिले मिर्गौलाको पूनः प्रत्यारोपण नेपालमै गर्ने निर्णय गरेर नेपालीहरुको ईज्जत बढाईदिए । त्यतिमात्रै होईन, नेपाली डाक्टरहरुको पनि ईज्जत बढाए ।’ उनले प्रत्यारोपणको लागि छनौट गरिएको अहिलेको समयमा भने केही गुनासो पोखे । उनले भने,‘अहिले कोरोना भाईरसको समय चलिरहेको छ । अहिले नै प्रत्यारोपण गर्नुपर्ने कारण के थियो ? उहाँले त नियमित डायलायसिस गरिरहनुभएको थियो ।’

डा. दिक्षितले चीनबाट फैलिएको कोरोनाको संक्रमण विश्वभरि फैलिएकोले नेपालले पनि सतर्कता अपनाउनुपर्नेमा जोड दिए । उनले नेपालले कोरोनाको संक्रमणबाट जोगिनको लागि तत्काल अन्तर्राष्ट्रिय हवाई आवातजावत बन्द गर्नुपर्ने भनेर आफूले यसअघि पनि बोलिसकेको स्मरण गराए ।

उनले भने,‘तर, नेपाल सरकारलाई नेपाल भ्रमण वर्ष–२०२० को प्रचार गर्नतिर ध्यान दियो । हाम्रो सरकारलाई पैसा कमाउनेमात्रै ध्यान भयो । कोरोना भाईरसको बारेमा खासै वास्ता गरेन् । यो दुःखद् पक्ष हो ।’ कोरोना भाईरस आज साथ अफ्रिकासमेत पुगिसकेको सुनाउँदै उनले नेपालले यसरी बेवास्ता गर्नु गलत भएको जनाए । उनले थपे,‘त्यत्रो टाढा फैलिईसकेको छ भने नेपाल नआईकन बसेको होला र ?’ उनले दक्षिण कोरियाको एउटा चर्चमा ९ हजारमा यो भाईरसको संक्रमण फैलिएको सुनाए । 

डा. दिक्षितले चीन, दक्षिण कोरियालगायत कोरोना फैलिएका देशबाट खुलेआम नेपाल आउन दिन नहुने तर्क गरे । जापानमा पनि यसको संक्रमण फैलिएपछि अहिले उसले कडा व्यवस्था अपनाएको सुनाउँदै यस्तो बेलामा नेपालबाट २५० जनाको जम्बो टोली नेपाल एयरलाईन्सको फ्लाईटमा जापानको नारिता उडेको भन्दै उनले उक्त कदमप्रतिपनि कडा निन्दा गरे । उनले भने,‘सर्वोच्च अदालतले समेत रोक लगाएको अवस्थामा नेपाल वायु सेवा निगमले अटेरी गरेर जापान गयो । यो दुःखद् पक्ष हो ।’ 

काठमाडौं उपत्यकामा कोरोना भाईरस देखिए यसको संक्रमण नराम्रोसँग फैलिनेतर्फ पनि सचेत गराए । उनले भने,‘यो ज्वरो नापेरमात्रै थाहा हुँदैन् । हामी सबैको लागि खतरानक कुरो हो ।’ यद्धपी उनले नेपालीहरुसँग रोगसँग लड्ने क्षमता भने बढि रहेको सुनाए। उनले कोरोनाको डर प्रशस्तै मात्रामा भएपनि तर्सिनुपर्ने अवस्था भने नरहेको स्पष्ट पारे । उनले यसबाट बच्नको लागि सतर्कता अपनाउनसमेत सबैलाई आग्रह गरे । 

Last modified on 2020-03-04 08:06:24


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts