टेकु अस्पतालबाट भागेका भुजेल इटहरी पुगेको प्रहरीको भनाइ

काठमाडौं, २२ फागुन । कोरोनाको आशंकामा टेकु अस्पतालको आइसोलेशन वार्डमा राखिएका तर बिहीबारदेखि सम्पर्कविहीन भएका व्यक्ति इटहरी पुगेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले बताएका छन् । इटहरी उनको घर हो । उनको नाम पारसमणि भुजेल भएको प्रहरीनिकट स्रोतले जनाएको थियो । उनी ३८ वर्षका हुन् । यद्यपी, हाम्रो डक्टर न्यूजले खुलासा गरेको पहिलो समाचारमा नाम गोप्य राखिएको थियो । सञ्चारमाध्यमहरुले अहिले उनको नाम सार्वजनिक गर्न थालिसकेका छन् ।
परिवारमा सम्पर्क गर्दा उनी घरमै रहेको जानकारी दिएको डिएसपी बोगटीले जानकारी दिए । दक्षिण कोरियामा काम गर्दै आएका ती व्यक्तिलाई त्यहाँ कोरोना संक्रमणको आशंकामा नेपाल फर्काइएको अस्पताल स्रोतको दावी छ । नेपालमा उनलाई विमानस्थलबाट बुधबार राति सिधै टेकु अस्पताल पुर्याइएको थियो । यद्यपी यसलाई अस्पतालले पुष्टि गरेको छैन । प्रहरीले भने उनी मंगलबार नेपाल आएको र बुधवार परिवारले उनलाई जाँचका लागि टेकु लगेको जनाएको छ ।
अस्पताल स्रोतका अनुसार उनको रगत परीक्षणका लागि तयारी हुँदै गर्दा भागेका थिए । ती व्यक्तिलाई अहिले ज्वरो नआएको बोगटीले दाबी गरे ।
यो पनि
दक्षिण कोरियाबाट फर्केका एकजना 'कोरोना' संक्रमितु टेकु अस्पतालबाट फरार