मधुमेहका बिरामीलाई कोरोनाको जोखिम, यस्ता छन् रोकथामका उपाय



Download our app to get more features

कोरोना भाइरस अर्थात (कोभिड १९) हाल विश्वमा महामारीको रुपमा फैलिरहेको छ। कोरोना भाइरस विभिन्न किसिमका छन्। यसका लक्षणहरुमा लक्षणविहीन हुनेदेखि लिएर साधारण रुघाखोकी  ज्वरोका साथै गम्भीर लक्षणहरु जस्तै निमोनिया, मिर्गौलाले काम गर्न छाड्ने, फोक्सोले काम गर्न कम हुने र मृत्यु समेत हुने गर्दछ।  

भाईरस भएका व्यक्ति या जीवसँग संगतमा भएको ३ देखि ७ दिनभित्र यस भाईरसको लक्षण देखाउन थाल्दछ भने कसैकसैमा १४ दिनपछिमात्र लक्षण देखाउँछ।  यो भाइरसको जोखिम हरेक उमेरका व्यक्तिमा उत्तिकै छ । तरपनि बालबालिका,वृद्ध र दीर्घरोगबाट ग्रसित जस्तैः मधुमेहका रोगी, मुटुरोगी, मिर्गौलाका रोगी साथै क्यान्सरका रोगीहरुलाई छिटो असर गर्दछ।

मधुमेहका बिरामीमा कोरोना भाइरसले छिटो आक्रमण गर्दछ र साथै आक्रमण गरेपश्चात साधारण लक्षण देखि गम्भीर लक्षणहरु देखा पर्दछ। दुवै अवस्थामा मधुमेहका रोगीलाई उपचार गर्न गाह्रो हुन्छ र कोरोना भाइरसका कारण द्रुत मृत्यु हुन जान्छ।

मधुमेह रोगीहरुमा कोरोना भाईरसले आक्रमण गर्नुका कारणहरु
१. शरीरको कमजोर प्रतिरक्षा प्रणाली
२. मधुमेहले हुने जटिलता
३. भाईरस संक्रमण पश्चात सामान्य अवस्थामा रहेको रगतको ग्लुकोजको मात्र बढ्ने
४. रगतमा उच्च ग्लुकोजको मात्र रहेको अवस्थामा भाईरसको संक्रमण शक्ति वृद्धि हुनु

मधुमेहका रोगीहरुले कोरोना भाईरसबाट बच्ने उपायहरु
१. भाईरसको संक्रमण हुन् सक्ने ठाउँ तथा संक्रमण भएका व्यक्तिबाट टाढा रहने
२. फ्लु जस्तो लक्षण देखिएमा तुरुन्त डाक्टरकोमा जाने तथा आफुलाई अरुबाट अलग राख्ने
३. बारम्बार राम्ररी हात धुने
४. भाइरसको संक्रमणले ग्लुकोजको परिमाण बढाउने हुनाले बेला बेलामा ग्लुकोजको परिमाण नाप्ने साथै प्रशस्त पानी पिउने र घरमा स्वच्छ पानीको जोहो गरेर राख्ने
५. आफुलाई आवश्यक औषधिको जोहो गरेर राख्ने
६. मधुमेहका रोगीमा हाईपोग्लाईसेमिया अर्थात रगतमा ग्लुकोजको परिमाण कम हुने सम्भावना हुन्छ ,त्यस्तो अवस्थामा बच्नको लागि आवश्यक सामाग्री तथा सावधानी अपनाउने  
७. कोरोना भाइरसले निमोनिया गर्ने हुनाले मधुमेहका रोगीले निमोनियाको खोप लिनुपर्दछ ।

खोपको नामः Pneumovax 23, PPSU23, Prevnar 13 , PCV 13

कसले कति लिने ? 

क. ६५ वर्षभन्दा मुनिका मधुमेहका रोगी जसले यो खोप लिएका छ्रैनन् उहाँहरुले एउटा डोज लिने

ख. ६५ वर्षवा सोभन्दा माथिका मधुमेहका बिरामीले पहिलो खोप लिएका छैनन भने PCV 13 खोप लिने र केहिगरी पहिले खोप लिइसकेका छन् भने Pneumovax को दाश्रो डोज लिने । यो दोश्रो डोज चाहीँ पहिलो डोज लिएको ५ वर्षपछि मात्र लिन सकिन्छ ।

कोरोना भाइरस नौलो भाइरस भएका कारण यसका बारे धेरै तथ्यहरु आउन बाँकी  रहेको अवस्थामा सबैजना सचेत रहनु आवश्यक छ र सचेतनाका लागि कुराहरु विश्वसनीय स्रोतबाट मात्र लिनु आवश्यक देखिन्छ । कोरोना भाइरस लाग्नबाट आफुपनि बचौं र समाजलाई पनि बचाउन सहयोग गरौं ।

डा. श्रेष्ठ वयोधा अस्पताल बल्खुमा कार्यरत छिन् ।

Last modified on 2020-03-18 13:46:40


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts