बागलुङमा अनुगमनका क्रममा म्याद गुज्रिएका औषधि भेटियो 



Download our app to get more features

बुर्तिवाङ, ५ चैत । बागलुङस्थित ढोरपाटन नगरपालिका-१ बुर्तिवाङ बजारमा सञ्चालित बुर्तिवाङ सिटी क्लिनिकले म्याद सकिएका औषधिको बिक्री गर्दै आएको खुलेको छ।

घरेलु तथा साना उद्योग कार्यालय बागलुङसहित सरोकारवाला संस्थाले गरेको अनुगमनका क्रममा बुर्तिवाङ सिटी क्लिनिकले म्याद गुज्रिएका औषधि बिक्री वितरण गरिरहेको भेटाइएको हो। क्लिनिकमा भएका दश किसिमका औषधि सबैको म्याद गुज्रिएको फेला पारेको कार्यालय प्रमुख गुमादेवी शर्माले जानकारी दिईन। जिल्ला प्रशासन कार्यालय, यातायात व्यवस्था कार्यालय, राष्ट्रिय उपभोक्ता मञ्चलगायतका सङ्घ संस्थाका प्रतिनिधि सम्मिलित अनुगमन समितिले उक्त क्लिनिकका औषधिको म्याद सकिएको भेटाएको थियो। 

म्याद गुज्रेका सबैखाले औषधि नियन्त्रणमा लिएर आवश्यक कारवाहीका लागि जिल्ला प्रशासन कार्यालयमा बुझाइएको उपभोक्ता मञ्चका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठले बताए। उक्त क्लिनिकलाई कारवाही गर्न उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय पोखरामा समेत कारवाहीका लागि सिफारिस गरिने श्रेष्ठले जानकारी दिए। क्लिनिक सञ्चालकलाई प्रशासनले सात दिनभित्र उपस्थित हुन निर्देशन दिएको छ। 

जिल्ला सदरमुकामबाट अनुगमन निस्केको टोलीले काठेखोला गाउँपालिकाको दृश्यावलोकन स्तम्भ आसपासको बजार, गलकोट नगरपालिकाको हटिया बजार र ढोरपाटन नगरपालिकाको बुर्तिवाङ बजारमा अनुगमन गरेको थियो। अनुगमनका क्रममा अधिकांश पेय पदार्थमा धेरै म्याद गुज्रिएका पाइएको श्रेष्ठले बताए। उपभोक्ता हित विपरीत कारोवार गर्ने सबै व्यवसायीलाई आवश्यक चेतावनी दिइएको कार्यालय प्रमुख शर्माले बताए। टोलीले भेटेका सबै सामग्री नष्ट गरेको छ। रासस 

Last modified on 2020-03-18 14:00:19


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts