सुदूरपश्चिमका सीमा नाकामा राखिएका हेल्थ डेस्कले रोक्ला त कोरोना ? 



Download our app to get more features

धनगढी, ५ चैत । कोरोना भाइरस (कोभिड–१९) विश्वका एक सय ६७ देशमा फैलिसकेको छ । डिसेम्बर ०१९ मा चीनको वुहान शहरमा पहिलो पटक देखिएको यो भाइरस तीन महिनामा विश्वभर पुगिसकेको छ । 

यस भाइरसबाट अहिलेसम्म एक लाख ९९ हजार ३ सय ३९ जना संक्रमित भइसेका छन् । ती मध्ये सात हजार नौ सय ९४ जनाको मृत्यु भइसक्यो । त्यस्तै संक्रमितमध्ये ८२ हजार आठ सय ६ जना उपचारपश्चात सकुशल घर फर्किएका छन् । कोरोना भाइरसबाट संसारमा ‘ग्रीन जोन’मा पर्ने देश नेपाल मात्रै भएको छ । तर यसको मतलब यो होइन की नेपाल कोरोनाबाट चोखो बस्न सक्छ । नेपालमा हालसम्म एक जनामा मात्र कोरोना पोजेटिभ देखिएको छ । उनी पनि ठिक भएर घर फर्किसकेका छन् । यद्यपि, भाइरसबाट जोगिन नेपालले विभिन्न सर्तकता अपनाइरहेको छ । नेपालभरका नाकामा स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) स्थापना गर्नेदेखि विभिन्न अस्पतालमा आइसोलेसन वार्ड स्थापना गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकार र यस प्रदेशका विभिन्न स्थानीय तहले पनि कोरोना भाइरसबाट जोगिन र संक्रमण फैलिए नियन्त्रण गर्न विभिन्न निर्णय र काम गरेको छन् । हालसम्म सुदूरपश्चिममा कोरोना भाइरसका बिरामी नदेखिए पनि पूर्व तयारीलाई मजबुत बनाउने निर्णय प्रदेश सरकारको छ ।

सम्भावित जोखिमबाट बँच्न सबै जिल्लामा आइसोलेसन कक्ष र क्वारेन्टाइन स्थापना गर्ने निर्णय प्रदेश सरकारले गरिसकेको छ । स्वास्थ्य निर्देशनालय डोटीका अनुसार ९ जिल्ला रहेको सुदूरपश्चिम प्रदेशका नाका र जिल्लागरी प्रदेशभरीमा २४ वटा हेल्थ डेस्क र ४९ वटा आइसोलेसन बेड स्थापना भएका छन् । ती नाकाहरुमा खटिएका स्वास्थ्यकर्मीले भारतबाट आउने यात्रुहरुको तापक्रम नाप्ने र परामर्श दिइरहेका छन् । तर हेल्थ डेस्कमा चेकजाँच गरेर कोरोनाका संक्रमितलाई रोक्न सकिन्छ त ? के त्यसरी नेपालमा कोरोना भित्रिदैन त ? 
सेती प्रादेशिक अस्पताल धनगढीका वरिष्ठ  फिजिसियन डा. निराजनदत्त शर्मा भन्छन्, ‘कुनै स्वस्थ मानिस कोरोना संक्रमितको सम्पर्कमा आइसकेपछि उसलाई २ देखि १४ दिनसम्म ज्वरो आउँछ । ज्वरो नआउन पनि सक्छ । सीमा नाकामा स्क्रिनिङ अर्थात तापक्रम मापक ‘गन’ले तापक्रम मात्रै नाप्ने हो, यदि कोरोना संक्रमणको सुरुवाती चरण छ भने अथवा उसलाई ज्वरो नै आएको छैन भने त्यो व्यक्ति नेपाल भित्रिन सक्छ ।’ 

कोरोना संक्रमितलाई १००.४ डिग्रीको ज्वरो आउने, खोकी लाग्ने तथा स्वावप्रश्वासको समस्या हुने गरेको उनले बताए । तर सबै संक्रमितलाई ती लक्षण केहीदिनपछि मात्रै देखिने भएकाले सीमा नाकाबाट त्यस्ता संक्रमित बचेर आउने सम्भावना धेरै भएको डा शर्माले बताए । सुदूरपश्चिमबाट रोजगारीको लागि धेरैजसो मानिस भारतमा बस्दै आएका छन् । कोरोनाको त्रासले ती नेपाली अहिले धमाधाम स्वदेश फर्कदैछन् । कतिपय पूर्वी जिल्लाका नेपाली समेत कैलाली र कञ्चनपुरका नाकाबाट भित्रिएका छन् । 

सीमा नाका ‘लक डाउन’नै उत्तम उपाय


विश्वस्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोनाभाइरसलाई ‘विश्वव्यापी महामारी’को दर्जा दिएको छ । साथै उसले स्वास्थ्य आपतकाल घोषणा गरेसँगै विभिन्न राष्ट्रहरुले कोरोनाबाट जोगिन विभिन्न उपाय अबलम्बन गरिरहका छन् । कतिपय देशले सीमा नाका बन्द गरेर सेल्फ क्वारेन्टाइनमा बस्न अनुरोध समेत गरेको छन् । 

नेपालको सीमानाकासँग जोडिएको भारतमा हालसम्म एक सय ४८ जनामा कारोना संक्रमण देखिएको छ । जसमध्ये तीन जनाको मृत्यु भइसकेको छ भने संक्रमितधमध्ये १४ जनाको उपचार भइसकेको छ । भारतमा कोरोनाको भयावह अवस्था भइरहेका बेला भने नेपालका सीमा नाकाबाट दैनिक हजारांै मानिस दैनिक आवजावत गरिरहेका छन् । ‘विश्वले अहिले सेल्फ क्वारेन्टाइन अर्थात एक्लै भएर बस्ने अभ्यास गरिरहेको बेला नेपालमा भने खुला सीमा नाकाबाट मानिस आवतजावत गर्दैछन्’ वरिष्ठ फिजिसियन डा. निराजनदत्त शर्माले भने, ‘नेपालले बोर्डर लकडाउन (सीमानाका बन्द) गरेपश्चात कोरोना संक्रमित भित्रिने सम्भावना कम हुन्छ, तसर्थ अत्यावश्यक काम तथा वस्तुहरुका लागि मात्रै सीमा खोल्ने गर्नुपर्छ ।’ त्यस्ता अत्यावश्यक काममा जाने र आउने मानिसले पनि १४ दिन क्वारेन्टाइनमा बस्न आवश्यक रहेको उनले बताए । हेल्थ डेस्कमा भइरहेको चेकजाँचले मात्रै कोरोना भित्रिन सक्दैन भन्ने ग्यारेन्टी दिन नसिकिने उनले बताए । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts