कास्कीमा दादुरा-रुवेला रोगविरुद्ध खोप अभियान  चैत १० गतेदेखि २२ सम्म संचालन हुने 

What's This?


Download our app to get more features

पोखरा, ७ चैत । राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत यही चैत १० गतेदेखि २२ गतेसम्म दादुरा-रुवेला रोगविरुद्ध खोप अभियान सञ्चालन हुने भएको छ। जिल्ला स्वास्थ्य कार्यालय  र पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाले संयुक्तरूपमा अभियानका बारेमा जानकारी दिन बिहीबार आयोजित अन्तरक्रिया कार्यक्रममा दुई चरणमा पाँच वर्षमुनिका करिब ५० हजार दुइ सय ६० बालबालिकालाई दादुरा-रुवेला रोगका विरुद्ध खोप दिने लक्ष्य राखिएको  जानकारी दिइएको छ।
 
यहि चैत १० गतेदेखि १७ गतेसम्म  माछापुच्छ्रे, रुपा, अन्नपूर्ण र मादी गाउँपालिकाका वडा तथा पछिल्लो समय महानगरमा मिसिएका साविकका गाविसहरुमा चैत २० गतेदेखि २२ गतेसम्म महानगरका वडामा खोप कार्यक्रम सञ्चालन हुने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख बाबुराम आचार्यले जानकारी दिएका छन्। खोप अभियानमा ४२० खोपकेन्द्र तथा  ६४७ जना खोपकर्ता परिचालन हुनेछन्। अभियानको क्रममा खोप कार्यकर्तालाई तालिम, महिला स्वास्थ्य स्वयंसेविका, वडाका जनप्रतिनिधिलाई अभिमुखीकरण र हरेक लक्षित बालबालिका भएका घरमा निमन्त्रणा कार्ड वितरण गरिएको छ।

दादुरा-रुवेला रोगविरुद्ध खोपको पहुँच देशभरमा ९५ प्रतिशतभन्दा माथि भएको सुनिश्चित हुनुपर्ने साथै अभियानको अवसरमा नियमित खोपको समेत सुदृढीकरण गर्ने लक्ष्य रहेको बताइन्छ। नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०१६ का अनुसार देशका २१ प्रतिशत बालबालिका अझै पनि पूर्ण खोपबाट बञ्चित रहेको र एक प्रतिशत बालबालिकामामा खोप पुग्न नसकेको (शून्य डोज) सकेको छैन। नेपालमा विसं २०३४ मा विफर उन्मूलनपछि खोप थपिदै जाने क्रममा हाल ११ वटा खोप सञ्चालनमा रहेको छ।
 
बाल मृत्युको कारणमध्ये दादुरासमेत एक भएकाले यसबाट बालबालिकालाई बचाउन सरकारले उच्च प्राथमिकता साथ खोप कार्यक्रम सञ्चालन गर्दै आएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्राथमिकता कार्यक्रमभित्र खोप कार्यक्रम रहेको छ। सन् २०२३ भित्रमा नेपालबाट दादुरा-रुवेला निवारणको राष्ट्रिय प्रतिबद्धता रहेकाले अभियानको रुपमा खोप कार्यक्रम शुरु गर्न लागिएको हो। देशका केही प्रदेशमा भने अभियान सम्पन्न भइसकेको छ। विसं २०७५ भदौ १३ गते गण्डकी प्रदेशलाई पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा गरिएको थियो। 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts