अनुमानको भरमा प्रादेशिक अस्पताल जनकपुरमा कोरोनाको जाँच, आवश्यक सामग्रीको अभावमा काम गर्दै चिकित्सक



Download our app to get more features

 

जनकपुर, ८ चैत । विश्व कोरोना भाइरसको महामारीको मार झेल्दै आएको बेला प्रदेश २ को केन्द्रय प्रादेशिक अस्पताल जनकपुरमा उपचार सामाग्री आभावले शंकास्पद व्यक्तिको पहिचान अनुमानकै भरमा हुँदै आएको छ ।

प्रादेशिक अस्पताल जनकपुरधाममा हालसम्म कोरोना भाइरसको कुनै पोजेटिभ केस फेला नपरेपनि अनुमानित उपचार प्रविधिले पोजेटिभ नेगेटिभ छुटयाइदै आएको छ । शंकास्पद संक्रमितको उपचार गर्ने प्रादेशिक अस्पतालका स्वास्थ्यकर्मी नै असुरिक्षत छन् ।

प्रदेशका ८ वटै जिल्ला हेर्ने केन्द्रीय प्रादेशिक अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीहरुलाई उपचारका लागि सुरिक्षत एप्रोन, मास्क थर्मल स्क्यानर लगायतका कुनै पनि उपचार सामाग्रीको व्यवस्था नरहेकाले जोखिम मोल लिएर चिकित्सकहरु उपचार गर्दै आएको मेडिकल सुपरिडेन्ट डा. नागेन्द्र यादवले बताए ।

उनका अनुसार हालसम्म कुनै पोजेटिभ केस परेको छैन तर सम्भावित जोखिमको तयारीका लागि यहाँ सुविधायुक्त प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, दक्ष स्वास्थ्यकर्मी र पहिचान गर्ने कीट सहितका उपचार सामाग्रीको व्यवस्था छैन । आभावका बीच चिकित्सकहरु शंकास्पद संक्रमित आउँदा प्रारम्भिक चरण अवस्थाको अनुमानको भरमा यहाँका चिकित्सकहरुले उपचार गरिरहेका छन ।

शंकास्पद संक्रमित व्यक्तिको चेकजाँच अस्पतालका चिकित्सकहरुले संक्रमित क्षेत्र वा विदेशबाट फर्केको छ कि, उच्च ज्वरो, थकान, हाडजोर्नीको दर्द, सुक्खा खाँसी, दमाको समस्या, श्वास फेर्न समस्या लगायतका अवस्थाको आधारमा पोजेटिभ निगेटिभ रिर्पोट तयार पार्ने गरिएको मेसु यादवले बताए ।

यस्तो गम्भीर प्रकृतिको रोगमा मात्र लक्षणको भरमा उपचार गर्नु वा रिपोर्ट दिनु कतिको जायज हो भन्ने जिज्ञासामा उनले भने संक्रमित पहिचान गर्ने प्रारम्भिक तरिका नै त्यही हो, तर थप स्पष्टताका लागि चेकजाँच वा उपचार गर्ने सामाग्री नै छैन हामी त्यसमा के गर्न सक्छौ ।

हाल प्रादेशिक अस्पतालमा मात्र ३ वटा आइसोलेशन रहेको छ, केही भेन्टीलेटर छ त्यो आईसीयू शाखामा छ, जहाँ कोरोना भाइरस संक्रमितलाई उपचार गर्नु झन घातक नै रहेकोले भन्दै मेसु यादवले संक्रमित वा शंकास्पद व्यक्तिको चेकजाँच र उपचारका लागि छुट्टै अस्पताल र क्वारेन्टाईनको व्यवस्था सम्बन्धित निकालय गर्नुपर्ने बताए ।

उनले भने हामीले प्रदेश, संघीय र स्थानीय सरकारलाई छुट्टै अस्पताल, प्रयोगशाला, क्वारेन्टाईनको व्यवस्था र उपचार सामाग्री उपलब्ध गराई दिन पटक पटक अनुरोध गर्दा पनि कसैले चासो लिएको छैन ।

अस्पतालमा अन्य उपचार सामाग्रीको कुरै छाडौ उच्च ज्वरो मापन उपकरण थर्मल स्कानर पनि थिएन, शुक्रवार मात्रै एउटा किनेर ल्याइएको मेसु यादवले बताए । उनले खुल्ला सीमानाका भएको कारण प्रदेश नै उच्च जोखिममा रहेको अवस्थामा सम्बन्धित निकायद्वारा अस्पतालमा पुर्व तयारी गर्न नसकेको कारण कथमकदाचित संक्रमण फैलियो भने समस्याबाट लड्न ठूलो चुनौती नै हुन्छ ।

उसो त प्रादेशिक अस्पतालमा हालसम्म दर्जनभन्दा बढी शंकास्पदमा एउटा पनि कोरोनाको पोजेटिभ केस फेला परेको छैन । तर बिना उपचार सामाग्रीको अनुमानको भरमा गरिएको उपचारले त्यो रिपोर्ट सही हो कि गलत आफैमा शंकास्पद रहेको अस्पतालमा कार्यरत चिकित्सकहरुको भनाइ छ ।

Last modified on 2020-03-21 16:34:35


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts