पार्किङ शुल्क समेत नछाड्ने अस्पतालका अध्यक्षको सार्क आपतकालिन कोषमा सहयोग गर्ने रहर

अस्पतालमा 'खडेबाबा नर्स', टुइटरमा भने रवाफ प्रदर्शन



Download our app to get more features

काठमाडौं, ८ चैत । काठमाडौंमा एउटामात्र त्यस्तो निजी अस्पताल छ जसले उपचार गर्न आएका बिरामीसँग अस्पताल भित्र त महंगो रकम लिन्छ लिन्छ बिरामी कुरुवासँग अस्पताल परिसरमा पार्किङ गरेको पैसासमेत घण्टा गनेर असुल गर्छ । पार्किङको समेत पैसा असुल गर्ने नर्भिकबाहेक सायदै कुनै निजी अस्पताल होला । 

आफ्नै सेवाग्राहीसँग समेत पार्किंङ शुल्क लिने अस्पताललाई यो प्रश्न सोध्दा ठेक्कामा दिएको र ठेकेदारले पैसा उठाउने गरेको रेडिमेड जवाफ दोहोर्याउँछ । स्मरण रहोस् नर्भिक बाहेक राजधानीका ठूला भनिएका ग्राण्डी, मेडिसिटी, ह्याम्स, वयोधा लगायत कुनैपनि अस्पतालले सवारी साधन पार्क गरेको पैसा लिँदैनन् । 

यतिमात्र हैन नर्भिक अस्पतालले सरकारले तोकेको अधिकतम चिकित्सक परामर्श शुल्कभन्दा अधिक पैसा असुल गर्ने गर्छ । अस्पतालमा रहेका नाम चलेका केही चिकित्सकलाई देखाउन नर्भिक अस्पतालमा विभिन्न बहानामा एकहजारसम्म शुल्क तिर्न पर्छ । जबकी सरकारले तोकेको अधिकतम ओपिडी शुल्क ५ सय रहेको छ । अस्पतालले नर्सिङ परामर्श र विभिन्न बहानामा सरकारले तोकेको भन्दा बढि शुल्क लिइरहेको छ । नियमनकारी निकाय उदासिन हुँदा उसको यो रजाईं अझै चलिरहेको छ । 

निजी अस्पताल सञ्चालक संघका अध्यक्ष समेत रहेका नर्भिकका अध्यक्ष बसन्त चौधरीले शनिवार गरेको एउटा टुइटलाई लिएर सामाजिक सञ्जालमा राम्रै चर्चा बटुल्यो । मापदण्ड नपुगेको अस्पताल परिसरको जग्गामा भवन बनाउन स्वास्थ्य मन्त्रालय र भवन विभागले नमानेपछि स्वीकृति दिलाउन शक्तिकेन्द्र धाइरहेका चौधरीले शनिवारको टुइटमा भने देशलाईमात्र होइन सार्कस्तरीय इमर्जेन्सी फण्डमा नै पैसा दान गर्न खाजेको आशय व्यक्त गरे । उनले टुइटमा लेखेका छन्- 'सार्क आपतकालिन कोषमा सदस्य राष्ट्र बाहेक सर्वसाधारणले पनि आर्थिक सहयोग गर्न मिल्ने हो कि हैन ? कसरी थाहा पाउने होला । कसैसँग आधिकारिक जानकारी भए आभारी हुने थिएँ । '

जबकी यो सार्कस्तरीय आपतकालिन कोष हो र यसमा राष्ट्रहरुले रकम योगदान गर्ने हो नकी व्यक्तिले । व्यक्तिले गर्नेभए चौधरीभन्दा कयौं गुणा बढि धनाढ्य दक्षिण एशियामा रहेका छन् । यसैले पनि उनको यो टुइट सहयोग गर्ने आशयमा भन्दा पनि रवाफ देखाउन अभिप्रायले लेखिएको स्पष्टै हुन्छ । 

उनको यो टुइटमा पूर्वमुख्यसचिव एवं चीनका लागि निवर्तमान राजदूत लीलामणि पौडेलले रिप्लाई दिँदै चौधरीको सहयोग सार्कस्तरीय कोषमा समुन्द्रमा एक थोपा पानी हुने र सहयोग आवश्यक भएका नजिकैका मानिसले समेत नपाउने भन्दै आफै च्यारिटी फण्ड बनाएर नेपालका अस्पतालका क्षमता विस्तार गर्न सहयोग गर्नुपर्ने सुझाव दिए । 

अर्का एकव्यक्तिको जिज्ञासामा चौधरीले उक्त फण्डलाई धेरै नभएर एकआध करोड सहयोग गर्न खोजेको बताएका छन् । उनको ट्विटको स्कृन सट राखी सामाजिक सञ्जालमा सार्कलाई सहयोग गर्ने धक्कु लाउनुको साटो अस्पतालमा आउने गरिब बिरामीलाई राहत दिन धेरैले सुझाव दिएका छन् । 

पित्तथैलीको ढुंगा निकाल्न अढाई लाख, मन्त्रालयको अनुगमन आउँदा खडेबाबा नर्स
कविका रुपमा समेत धेरथोर परिचय बनाएका चौधरी अध्यक्ष रहेको अस्पतालले सामान्य पित्तथैलीको ढुंगा निकाल्ने शल्यक्रियाको समेत २ लाखभन्दा बढि रकम असुल गर्छ । जबकी यसको सरकारी अस्पतालहरुमा करिब २० हजार र अन्य निजी अस्पतालमा समेत सामान्यतया ५० हजारदेखि १ लाखसम्म हुन्छ । 

यस्तै अस्पतालले कुल शैयामध्ये १० प्रतिशत गरिब निमुखालाई छुट्याउन पर्ने शैयाको समेत उचित विवरण नबुझाई भनसुनका आधारमा मन्त्रालयबाट नविकरण लिने गरेको मन्त्रालयको उच्च अधिकारीहरु बताउँछन् । उनै अध्यक्ष रहेको अफिनको दबाबमा मन्त्रालयले शुक्रवार गरेको  सामान्य बहिरंग सेवा बन्द गर्ने निर्णय समेत शनिबार नै उल्टिएको छ । 

स्वास्थ्य मन्त्रालयले अस्पताल नविकरण गर्न र सेवा स्वीकृति दिन अस्पतालका अन्य पक्षसँगै कर्मचारी र सेवाको अनुपात हेर्छ । जसका लागि अस्पताल निरीक्षण गरिन्छ । तर, स्रोतका अनुसार अत्यन्त न्यूनसंख्यामा नर्स तथा पारामेडिक्स राखेर सेवा चलाइरहेको नर्भिकले सरकारी अनुगमन आउँदा नर्सहरुको नक्कली ड्यूटी रोस्टर बनाउँछ । अस्पतालमा हुँदै नभएका, छाडेका नर्सको समेत नाम राखेर ड्यूटी रोस्टर बनाउने गरिएको छ । पहुँचका आधारमा अनुगमन आउनु पहिले नै सूचना लिएर सो दिन संख्याको अनुपात पुर्याउन नर्सहरुलाई डबल ड्यूटीमा समेत खटाउने गरिन्छ । साथै, न्यून पारिश्रमिकमा काम गर्ने नर्सहरुको तलब अनुगमन टोलीका अगाडी कागजमा बढि देखाइने गरेको अस्पताल निकट स्रोतको दावी छ । 

अस्पतालको सामाजिक दायित्व पूरा नगर्ने, राज्यका अंग र व्यक्तिलाई प्रभावमा परि मनलाग्दी शुल्क असुल गर्ने नर्भिकका अध्यक्षले सार्क कै इमर्जेन्सी फण्डमा पैसा दान गर्ने मनशाय बनाउनुलाई केही व्यक्तिले सकरात्मक टिप्पणी गरेपनि धेरैले मजाक र चौधरीको घमण्डका रुपमा व्याख्या गरेका छन् । चौधरीले यसअघि भूकम्पका बेलामा पनि घोषणा गरे अनुरुप राहत वितरण नगरेको भन्दै उनको र उनका दाई विनोध चौधरीको चौधरी ग्रुपको अझै आलोचना हुने गरेको छ । 
 

Last modified on 2020-03-21 22:14:52


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts