भरतपुर अस्पतालको आइसोलेसन वार्डमा सीसीटीभी, टेलिफोन र इन्टरनेट



Download our app to get more features

चितवन, ९ चैत । भरतपुर अस्पतालको आइसोलेसन वार्डमा सीसीटीभी, टेलिफोन र इन्टरनेटको सुविधा विस्तार गरिएको छ ।

आइसोलेसन वार्डमा सीसीटीभी, टेलिफोन र इन्टरनेटको सुविधा विस्तार गरिएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट (मेसु) डा. श्रीराम तिवारीले हाम्रो डक्टर न्युजलाई जानकारी दिए । 

सम्भावित कोरोना (कोभिड–१९) भाइरस संक्रमणको जोखिमलाई लक्षित गर्दै उपचारलाई थप प्रभावकारी बनाउने उद्देश्यले सुविधा विस्तार गरिएको उनले बताए ।

‘स्वास्थ्यकर्मीले छुट्टै बसेर सीसीटीभीको माध्यमबाट बिरामीको निरन्तर निगरानी गर्नुहुनेछ र टेलिफोनको माध्यमबाट विरामीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुहुनेछ ।’ मेसु डा. तिवारीले भने, ‘अनि समय(समयमा सबै शरीर ढाक्ने सुरक्षित पोशाक सहित चिकित्सक र अन्य स्वास्थ्यकर्मीले बिरामीको हेरचाह गर्नुहुनेछ ।’ यसले उपचारमा संलग्न स्वास्थ्यकर्मी र बिरामी दवैलाई फाइदा पुग्ने उनले बताए ।

इन्टरनेटको माध्यमबाट स्वास्थ्यकर्मीले विश्वभर कोरोना (कोभिड–१९) भाइरस संक्रमणको अवस्था र उपचार विधिबारे नयाँ अपडेट लिनेछन् । यसले बिरामीलाई आफ्नो स्वास्थ्यको हेरचाह कसरी गर्ने भन्नेबारे थाहा पाउन सहयोग पुग्ने छ । 

इन्टरनेटको माध्यमबाट विभिन्न सामाजिक सञ्जाल मार्फत आफ्नो आफन्तसँग संम्पर्क गर्न पाउने हुँदा उनिहरूमा एक्लोपनको महसुस नहुने अस्पतालका मेसु डा. श्रीराम तिवारीको विश्वास छ ।

अस्पतालले १९ शय्याको आइसोलेसन वार्ड स्थापना गरेको छ । यस्तै १३ सदस्यीय कोभिड –१९ आउटब्रेक म्यानेजमेन्ट टीम बनाएको छ  । आम नागरिक एवं सरोकारवालाहरूको स्वास्थ्यप्रति विशेष चनाखो रही अस्पताल आई स्वास्थ्य सेवा लिन अनुरोध पनि गरेको छ । 

पछिल्लो १० दिनयता रुघाखोकी लागेर परीक्षणका लागि अस्पताल पुगेका, कोरोना जोखिम देश भ्रमण गरेका वा त्यस्ता व्यक्तिहरुसँग सम्पर्कमा आएका व्यक्तिलाई अस्पतालको कोठा नम्बर २०१ मार्फत सिधै सेवा लिन अस्पतालले अनुरोध समेत गरेको छ ।

अहिले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको आशंकामा दुई जनालाई अस्पतालले आइसोलेसनमा राखेको छ । हालसम्म चार जनाको कोरोना परीक्षण भएकोमा चारै जनाको रिपोर्ट नेगेटिभ आएको छ । 

Last modified on 2020-03-22 07:46:24


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts