राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत नौ हजार भन्दा बढी बालबालिकालाई खोप लगाइँदै

What's This?


Download our app to get more features

बेनीबजार, ९ चैत । राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत सोमबारदेखि २९ गतेसम्म म्याग्दीमा दादुरा-रुवेला रोगविरुद्ध खोप अभियान सञ्चालन हुने भएको छ। जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीले शनिबार एक कार्यक्रमको आयोजना गरेर दुई चरणमा नौ महिनादेखि पाँच वर्षसम्मका नौ हजार ३५२ बालबालिकालाई सो रोगविरुद्ध खोप दिने लक्ष्य राखिएको जानकारी गराएको छ । 

यही चैत १० देखि १८ गतेसम्म धवलागिरि, मालिका र मङ्गला गाउँपालिकाका सबै वडामा र चैत २१ देखि २९ गतेसम्म बेनी नगरपालिका, रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकाका वडामा खोप कार्यक्रम सञ्चालन हुने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख एकनारायण लम्सालले जानकारी दिए । खोप अभियानमा ३६५ खोप केन्द्रमा ७४० खोपकर्ता परिचालन हुनेछन् । अभियानका क्रममा खोप कार्यकर्तालाई तालिम, महिला स्वास्थ्य स्वयंसेविका, वडाका जनप्रतिनिधिलाई अभिमुखीकरण र हरेक लक्षित बालबालिका भएका घरमा निमन्त्रणा गरिने लम्सालले बताए।

जिल्लामा खोप कार्यक्रमलाई प्रभावकारी बनाउन तथा खोपपछि बालबालिकामा देखिने समस्यालाई समाधान गर्न बेनी अस्पतालका चिकित्सक नवराज बस्ताकोटी र दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रका चिकित्सक तिलक गौतमको संयोजकत्वमा दुई भेगमा फरक फरक टोली गठन गरिएको छ । प्रत्येक खोप केन्द्रमा सो टोलीको विवरण पु¥याइने भएकाले खोपपछि आउनसक्ने समस्या प्रभावकारी ढङ्गले समाधान गरिने स्वास्थ्य कार्यालयले जनाएको छ । सो खोपको पहुँच देशभरमा ९५ प्रतिशतभन्दा माथि भएको सुनिश्चित हुनुपर्ने साथै अभियानको अवसरमा नियमित खोपको समेत सुदृढीकरण गर्ने लक्ष्य रहेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ध्रुव गिरीले बताए । 

बालमृत्युको कारणमध्ये दादुरासमेत एक भएकाले यसबाट बालबालिकालाई बचाउन सरकारले उच्च प्राथमिकता साथ खोप कार्यक्रम सञ्चालन गर्दै आएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्राथमिकता कार्यक्रमभित्र खोप कार्यक्रम रहेको छ । 

यसैबीच स्वास्थ्य कार्यालय म्याग्दीले सञ्चालन गरेको स्थायी परिवार नियोजन स्वास्थ्य शिविर कोरोना भाइरसको जोखिमका कारण स्थगित भएको छ । सामाजिक विकास मन्त्रालयमा शनिबार बसेको बैठकको निर्णयअनुसार शिविर स्थगित गरिएको कार्यालयका परिवार नियोजन सुपरीवेक्षक नारायणप्रसाद रेग्मीले बताए ।
 

Last modified on 2020-03-22 11:13:01


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts