कोरोना महामारीमा मनोस्वास्थ्य     



Download our app to get more features
Spark_health_home Mountain Heart Nepal

कोरोना समूहको नयाँ प्रजाति नोवेल कोरोना भाइरस (कोभिड–१९) संक्रमण १५ पुस ०७६ (३१ डिसेम्बर २०१९) मा चीनको वुहान शहरमा देखा परेको हो । त्यसपछिका करिब तीन महिनामा विश्वका १६० भन्दा बढी मुलुकहरुमा यो फैलिसकेको छ । कोरोना संक्रमित व्यक्तिहरु मध्ये करिब १–३% को ज्यान गइसकेको स्थिति छ । गत २८ फागुनमा यसलाई विश्व स्वास्थ्य संगठनले विश्वव्यापी महामारी घोषणा गरिसकेको छ । संसारका धेरैजसो मुलुक यसको कहर सामना गर्दैछन् । हाम्रो छिमेकी मुलुक चीन यसको व्यवस्थापनमा परिपक्व देखिँदैछ । कतिपय अन्य देशहरु आ–आफ्ना वस्तुगत यथार्थताकाबीच चुनौती सामना गर्दैछन् ।
      
कोरोना चर्चा
विश्वमा अहिले कोरोना भाइरस (कोभिड–१९)े को त्रासदी व्याप्त छ । सर्वत्र कोरोना महामारीको चर्चा छ । आमसञ्चार, जनबोली, कुराकानीमा तत्काल र निकट भविष्यमा समाधान नदेखिएको मूल विषयवस्तु वनिरहेको छ । सामान्य रुघाखोकी १००.४ फारेनहाइटको ज्वरो र सास फेर्नमा समस्या जस्ता सामान्यदेखि कडा निमोनिया र मिर्गाैलाको खराबी जस्ता कडा लक्षण र शरीरको प्रतिरोध क्षमता कमजोर हुने व्यक्तिको ज्यानसम्म लिनसक्ने यो महामारी अब विश्वव्यापी रुपमा फैलिसकेको छ । 
कोरोना प्रकरणमा सबैलाई अरु मानिससँग उपयुक्त ढंगले शारीरिक दूरी बनाएर, हुलहुज्जत र भेलाहरु घटाएर संक्रमण रोक्ने, हात, मुख, नाक र शरीरका अरु भागहरु बेलाबेला धोएर सफा राख्ने, पटक पटक गरी पर्याप्त पानी पिउने, लक्षणको शंका लागेमा आफूलाई अरु मानिसबाट टाढा राखेर व्यवस्थापन गर्ने र सम्बन्धित स्वास्थ्य सेवामा जाने जस्ता विशेष अभिभारा छन् ।

कोरोना महामारीमा देखिएका परिदृश्य
यस्तो समयमा अवाञ्छित् तत्वहरुले अनूचित फाइदा उठाउन कुत्सित चालहरु पनि चाल्ने गर्छन् । भएका कुराहरु पनि लुकाएर कृत्रिम अभाव सिर्जना गर्ने, गलत जानकारी फैलाउने, भ्रमको खेती गर्ने लालचा पनि फस्टाउने गर्छ । विशेषतः शासन व्यवस्था कमजोर रहेका अराजक देश, समाजमा यस्ता महामारी र विपद्को अझ बढी असर हुन्छ । हुनुपर्ने र गर्नुपर्ने भन्दा उल्टो कुरा पनि हुन जान्छ । हठात् मनस्थितिले आम मानिसलाई यस्तै लहरतिर दोह¥याउनसक्छ; हामी कहाँ यस्तै परिदृश्य देख्न आइरहेछन् । अरुबेला त्यत्तिकै बस्ने सानातिना रोग, स्वास्थ्य बीमा र अन्य सामान्य परीक्षण गर्ने तथा नियमित फलोअपका केशहरु अहिले नै अस्पतालहरुमा हूलका हूल बढ्नु, दैनिक उपभोग, इन्धनलगायतका सामानका लागि लाम लाग्नु आदि यसका उदाहरण हुन् । कसैले, कुनै एक परिवारले आफू बाँच्छु भनेर धमिलो पानीमा माछा मार्ने सोचेको भए, त्यो अभिसाप बन्नसक्छ । एक हिसाबले, जनता, नेता, व्यापारी सबै नेपालीको लागि आफू के कस्तो हो भनेर प्रकट हुने बेला पनि हो यो । सही गलत, उदार स्वार्थी, यथार्थपरक वा अन्ध, वा दुनियाँको वस्तुस्थितिबाट सिकेर अघि बढ्न सक्ने वा एकोहोरो रट लगाउने । सरकारले यस्तो विषम घडीमा सर्वसाधारणको मर्का प्रतक्ष्य सम्बोधन हुने, आडभरोसा, संरक्षण र सुरक्षाको प्रत्याभूति हुने रणनीति, कार्यक्रम तथा व्यवस्थाहरु गरेर देखाउनु पर्ने हुन्छ । सही जानकारी उपयुक्त रुपमा सरोकारवालाहरुसम्म पु¥याउने, दैनिक उपभोग्य वस्तु, पेयजल पानी, औषधि, मास्क, साबुन, स्यानिटाइजर जस्ता अहिले आवश्यक कुराहरु सर्बसुलभ बनाउने, यसमा निगरानी, नियमन गरेर कालोबजारी रोक्ने, संक्रमण घटाउन सहयोगी हुने यावत् नीतिगत निर्णयहरु (जस्तैः मानिसको आवत्जावत्, हुलहुज्जत, सम्पर्क, उत्सर्जन आदि बढ्ने क्रियाकलापमा रोक) व्यावहारिक रुपमा अवलम्बन गर्ने, गराउने, शंकास्पद केशहरुको व्यवस्थापनको व्यवस्था मिलाउने जस्ता प्रतक्ष्य जनस्वास्थ्यका कदमहरु प्रभावकारी रुपमा चाल्ने चुनौती सरकारलाई आइपरेको छ । जनमानस पनि हल्लाको पछि नदौडेर भरपर्दा सरकारी, विश्व स्वास्थ्य संघठन जस्ता निकायको जानकारीमा भर पर्न र यसतिर सजग हुन जरुरी छ ।

vayoda

Hamro Doctor Apps2

रोना महामारीको मनोवैज्ञानिक असर 
कुरा त भाइरस संक्रमणको हो प्रतक्ष्य रुपमा त शारीरिक हो । तथापि अरु समस्या, विपद् वा महामारीको जस्तैं प्रभावको पहिले महसुस हुने, असर निरन्तर र निर्णायक रुपमा पर्ने भनेको हामी मान्छेको मनमा नै हो । अहिले कोरोनाको यथार्थ असरले हुने शारीरिक अस्वस्थता र मृत्यु त छँदैछ; साथमा मनमनमा तनाव, अनिश्चय, छट्पटी, बेचैनी, डर, त्रास, भय र अशान्तिको राज फैलिएको छ । यो स्थिति सामना गर्न हाम्रो मन पनि सन्तुलित, स्थिर, शान्त र स्वस्थ राख्न आवश्यक हुन्छ । 
यस्तो अन्यौल, अनिश्चय, चिन्ता, तनावको समयमा तन, मन र साधनश्रोतमा केही त भार बढी पर्छ नै । मनमा केही हदसम्म छट्पटी, बेचैनी वा तनाव हुनु स्वाभाविक हो । यस्तो बेला तनाव व्यवस्थापन लगायत झन् पर्याप्त, पोषक तत्व, पानी, झोलकुरा, नियमित पर्याप्त निद्रा, हल्का व्यायाम जस्ता आधारभूत स्वास्थ्य आवश्यकताहरुको ख्याल राख्न आवश्यक हुन्छ । 

अरु तनाव वा विपद्मा जस्तै यसमा पनि कोही पनि मानिस अत्याधिक तनावग्रस्त हुनसक्छन् । यस्तोमा आफ्नो, परिवार, प्रियजनको स्वास्थ्य र सुरक्षाको चिन्ता, पीर, छट्पटी, अनिद्रा, खानामा अरुची लगायत आफूलाई कोरोना लागेको बिचारलहरी, डर वा भ्रम हावी हुनसक्छ । कतिपयमा उदासी, शारीरिक लक्षण तथा जाडरक्सी, चुरोट र अरु नशालु चिजको सेवन र लत बढेर जान सक्छ । पहिले मनोरोग निको भएका व्यक्तिहरुमा फेरि ती लक्षणहरु बल्झिन वा अरुमा पनि मानसिक रोगका लक्षणहरु पैदा हुनसक्छन् । यस्तो अवस्थामा समयमै मानसिक स्वास्थ्य सेवामा सम्पर्क राख्नुपर्छ ।

कोरोना महामारीमा मानसिक स्वास्थ्य         
समाज र राज्यको तहमा कोरोना समस्या, यसबाट श्रृर्जित तनाव र जटिलताहरुको व्यवस्थापनका उपाय त महत्वपूर्ण छन् नै, साथमा व्यक्ति, परिवारको तहमा पनि केहि कुरामा ध्यान दिन आवश्यक हुने तथ्य विश्व स्वास्थ्य संघठन र चिकित्सक तथा मनोचिकित्सक संघहरुले पनि औंल्याएका छन् । कोरोना महामारीको बेलामा हामी सबैले मनोस्वास्थ्यको लागि अपनाउन सकिने केहि बुँदाहरु यसप्रकार छन्:-

१. कोरोना संक्रमणको रोकथामको लागि आवश्यक जानकारी भरपर्दो माध्यमबाट लिने र अबलम्बन गर्ने तर यससम्बन्धी समाचार, अपडेटहरु निरन्तर रुपमा अत्याधिक लिएर तनावग्रस्त भइएला भन्नेमा सजग रहने । बालवृद्ध र पृथक हिसाबले समर्थ आफन्तहरुसँग उनीहरुले बुझ्ने ढंगले कुराकानी गर्ने र स्वस्थ व्यवहारको लागि प्रेरित गर्ने ।    
२. कोरोना संक्रमण रोक्न आवश्यक व्यवस्था मिलाउने, जस्तै,  हात धुन साबुनपानी, सफा राख्न स्यानिटाइजर, मास्क, पिउने पानी आदि । हात आवश्यकता अनुसार बेलाबेला धुने, धुँदा समय (२० सेकेण्ड जति) लगाएर राम्ररी धुने तर अति नहोस्, खाली मनको सन्तोकको लागि नाम मात्र हुने किसिमले, धोएको हो ? हो भन्ने खालले धुने प्रवृत्ति भएमा सजग हुने, यो ठिक होइन । धेरै मानिस एकै ठाउँमा गुम्म परेर ताजा हावा नछिर्ने, राम्रो घाम नलाग्ने ठाउँमा बस्न नपरोस् भनेर बस्ने उपयुक्त ठाउँ र भेन्टिलेसनको व्यवस्था मिलाउने ।  
३. कोरोनाको तनावको व्यवस्थापनका लागि निर्दिष्त रुपमा यससम्बन्धी अत्याधिक समाचार र अपडेटहरुबाट टाढा रहने, फेसबुक, पत्रपत्रिका जस्ता मेडिया र सञ्चारबाट केही समय बिराम लिने, स्वस्थ मनोरञ्जन लगायत तनाव व्यवस्थापनका अरु उपायहरु पनि अवलम्बन गर्ने । 
४. भेटघाट, हुलहुज्जत तथा प्रतक्ष्य सम्पर्कले कोरोना संक्रमणको सम्भावना बढ्ने हो । भोज, मेला, पर्व जात्रा जस्ता सामाजिक, साँस्कृतिक उत्सवहरुले यो बेला परिमार्जित रुप मागिरहेछ । यसैले, सामाजिक रुपमा प्रतक्ष्य सम्पर्क यथासम्भव कम गर्न आवश्यक छ । लक्षणको शंका भएमा सबैबाट टाढिएर क्वारेन्टाइनमा रहन अत्यावश्यक छ । यस्तो बेलामा पनि आफ्ना नजिकका नातागोता, परिवारजन, साथीभाईसँग टेलिफोन, मोबाइल जस्ता शारीरिक रुपमा प्रतक्ष्य भेट्नु नपर्ने माध्यमबाट आवश्यक कुराकानी र सामाजिक अन्तरक्रिया गरी सम्पर्क र सम्बन्ध भने कायम गरिराख्ने । कुराकानी सकारात्मक, हौसलापूर्ण र सहयोगात्मक बनाएर मनोबल उच्च राख्ने । 
५. यस्तो बेलामा मध्य, नशा तथा मादक पदार्थको सेवन शुरु हुने र बढ्ने बढी सम्भावना हुन्छ, यसतिर सतर्क रहौं ।  
६. हरेक दिन हल्का शारीरिक व्यायाम, योग गरौं । प्रतक्ष्य शारीरिक स्पर्श र सम्पर्क नहुने, घरभित्र वा सिमित परिवारजनबीच हुने खालका खेलकूद, रचनात्मक क्रियाकलाप, भजनकिर्तन, ज्ञानमाला, गायन आदि उपयोगी हुन्छन् ।  
७. सन्तुलित, स्वच्छ, सफा, ताजा खानाले मनमष्तिस्क, रोगसँग लड्ने बल र समग्र स्वास्थ्य ठीक हालमा राख्न सहयोग पुग्छ । बेलाबेलामा पानी पिइ रहनाले शरीरमा पानीको मात्रा सन्तुलित राख्नुका साथै मुख सफा राख्न सहायता पुग्छ । यसले संक्रमण न्युनिकरणमा बल मिल्छ ।    
८. नियमित समयमा र पर्याप्त रुपमा हरेक दिन सुत्ने गरौं, निद्रा नबिथोलौं । गहिरो सास लिने गरौं । 
९. कुनै रोगको उपचार चलिरहेको भए सम्बन्धित चिकित्सकको सल्लाह अनुसार उपचार अघि बढाउने, यस्तो बेलामा आफैं औषधिमा परिवर्तन गर्नु राम्रो होइन । आजभोलि चिकित्सककोमा जाने विचार भएमा पहिले फोन वा मोबाइलमा बुझेर मात्र जाँदा राम्रो हुन्छ । 
१०. पहिले मानसिक रोग भएका व्यक्तिहरुले चिकित्सकको सल्लाह अनुसार साबिक दवाइ लिइरहनुपर्छ र थप समस्या नभएमा चाँडो आत्तिएर बोलाए भन्दा पहिले, अहिले नै देखाउन जानु पर्दैन । जाने विचार भएमा पहिले फोन वा मोबाइलमा सम्पर्क गरेर मात्र जाँदा राम्रो हुन्छ । 
११. यस्तो बेलामा अत्याधिक तनाव, छट्पटी, उदासी, अनिद्रा लगायतका लक्षणहरु देखा परेमा समयमै मानसिक स्वास्थ्य सेवामा सम्पर्क राख्न सकिन्छ ।  
अहिले हामी महामारी झेल्दैछौं । हुनसक्छ, अन्य ठाउँमा जस्तै यसले अझ अरु बिकराल रुप पनि लिनसक्छ । जे जस्तो भए पनि यो एकदिन साम्य हुनेछ । हामी सबैको उचित, स्वस्थकर र विवेकी पहुँचले भने यो कोरोना कहर काट्न र हामीलाई अगाडि बढ्न सहज बनाउनेछ ।           
 

Last modified on 2020-03-23 14:19:21

Kathmandu Cancer Center alka

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts