कोरोना संक्रमितको उद्धार र उपचार सरकारले गर्ने



Download our app to get more features

काठमाडौं, १० चैत । स्वास्थ्य मन्त्री भानुभक्त ढकालले कोरोना भाइरस पोजेटिभ देखिएका बिरामीलाई सरकारले उद्धार गरी उपचार गर्ने बताएका छन् । मन्त्रालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले कोरोना भाइरस (कोभिड–१९) का बिरामी भेटिए सरकारले निःशुल्क उपचार गर्नेसमेत बताएका हुन् । 

उनका अनुसार कोभिड–१९ पोजेटिभ देखिए हवाईमार्ग वा स्थलमार्गबाट जहाँबाट भए पनि त्यस्ता व्यक्तिको सुरक्षित रूपमा उद्धार गरी अस्पताल लगेर उपचार गरिनेछ । उनले नेपालमा पनि कोभिड–१९ पोजेटिभका घटना देखिएपछि नेपाल अब ग्रीनजोनमा नरहेको समेत पैष्टाए । उनले भने, ‘हिजोसम्म हामी ग्रीन जोनमा थियौँ, कोभिड–१९ पोजेटिभ देखिएपछि हामी अब धैर्य गरेर थप सावधानी अपनाउनुपर्छ ।’ फ्रान्सबाट नेपाल आएकी १९ वर्षीया युवतीमा कोभिड–१९ देखिएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । गत मङ्गलबार आएकाी युवतीको परीक्षणका क्रममा कोभिड–१९ पोजेटिभ देखिएपछि आइतबार बेलुका शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना गरिएको थियो ।

मन्त्री ढकालले विगतमा पनि कोभिड–१९ पोजेटिभ देखिएको र १० दिनको उपचारपछि नेगेटिभमा परिणत भएको भन्दै अहिले देखिएका व्यक्तिलाई उपचारपछि नेगेटिभ परिणत गराइने प्रतिबद्धता जनाए । उनले कोरोना भाइरस परास्त गर्न नेपालीले देखाएको दृढताप्रति सराहना गर्दै कोभिड–१९ पोजेटिभ देखिएपछि अझ सावधानी अपनाउनुपर्ने बताए । उनले कोभिड–१९ पोजेटिभ देखिएका व्यक्तिका सम्पर्कमा रहेका परिवार तथा साथीभाइ पनि क्वारेन्टाइनमा राखी उपचार गरिने जानकारी दिए ।  “उहाँको परिवारलाई समेत होम क्वारेन्टाइनमा राखिएको छ । फ्रान्सबाट आएका साथीभाइको पनि हामीले खोजी गरिहेका छौँ”, उनले भने, “उहाँहरु सबैलाई क्वारेन्टाइनमा राखी उपचार गछौँँ ।”

सबै प्रदेशमा टेकु अस्पतालको जस्तै प्रयोगशाला
सातै प्रदेशका मुख्यमन्त्री र सामाजिक विकासमन्त्रीको बैठकपछि सबै प्रदेशमा टेकु अस्पतालमा रहेको जस्तै प्रयोगशाला निर्माण गरिने  मन्त्री ढकालले बताए । सम्बन्धित प्रदेशमा कोभिड–१९ सँग सम्बन्धित रोगका बारेमा मात्र उपचार गर्ने गरी परिभाषित गरेर अस्पताल निर्माण गरिने उनले बताए । सञ्चारमाध्यमलाई कोरोना भाइरससँगको लडाईम ाकमजोर बनाउने खालका सूचना प्रवाह नगर्न समेत मन्त्री ढकालले आग्रह गरे । 
कोरोना भाइरससँग सम्बन्धित औषधि सामग्री ल्याउनका विदेशस्थित कूटनीतिक नियोगबाट पहल भइरहेको उनले बताए । विदेशबाट अत्यावश्यक सामग्रीको सुनिश्चिता हुनेबित्तिकै सरकारले तयारी अवस्थामा राखिएका हवाईजहाजलाई पठाइने उनको भनाइ थियो । -रासस

Last modified on 2020-03-23 14:53:41


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts