हतियार बिनाको तयारी : प्रादेशिक अस्पताल जनकपुरमा आइसोलेसन वार्डमा बेड नै छैन



Download our app to get more features

जनकपुरधाम, १० चैत । कोरोना भाइरस संक्रमणको आशंका लागेमा वा पुष्टि भएमा उपचारका लागि राखिने वार्डलाई आइसोलेशन वार्ड भनिन्छ । आइसोलेसन वार्डमा राख्दा भेन्टिलेटर सहितको सघन उपचार कक्ष हुनुपर्छ तर भेन्टिलेटरको कुरा त परै जाओस,जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा बेड बिनाकै आइसोलेसन वार्ड स्थापना गरिएको देखिएको छ । 

मापदण्डअनुसार प्रत्येक आइसोलेशनमा तौलिया, चप्पल, साबुन, मञ्जन, ब्रस, मास्क, औषधि लगायतका दैनिक उपभोग्य सामग्री प्रत्येक बेडमा व्यवस्थापन गरिनुपर्छ । एउटा कोठामा कम्तीमा एक मिटरको फरकमा दुईदेखि तीन वटा बेड रहने गरी कोठाको व्यवस्थापन गरिनुपर्ने प्रावधान छ । तर यस अस्पतालमा बेड नै छैन् भने अन्य सुविधाहरुको कुरा त परै जाओस । 

आकस्मिक भवनमा कामचलाउ आइसोलेशन वार्ड स्थापना गरिएको छ । नेपालमा पनि कोरोना भाइरसका पोजेटिभ संक्रमित फेला परेपछि अब जनकपुरमा पनि यसको जोखिम बढेको स्थानीय सरोज मिश्रले बताए । यदि कोरोना भाइरसको शंकास्पद संक्रमित फेला पर्यो भने उनीहरूको स्वास्थ्य जाँच र उपचारका लागि उक्त आइसोलेशनमा कुनै सुविधा उपलब्ध नरहेको उनको आरोप छ । 

स्थानीय सुशील कर्णले पनि औपचारिकताका लागि मात्र आइसोलेसन वार्ड स्थापना गरिएको आरोप लगाए । आइसोलेसन वार्डमा मापदण्ड अनुसार हुनुपर्ने कुनैपनि सुविधा नभएको उनले बताए । ‘शंकास्पद ब्यक्तिको ‘थ्रोड र नेजल स्वाब’ लिन सक्ने अवस्था समेत छैन्,’उनले भने,‘कोरोना भाइरसका शंकास्पद विरामीको थ्रोड र नेजल स्वाब संकलन गर्ने ज्ञान चिकित्सक र प्राविधिक कसैमा पनि छैन ।’

यता, प्रदेशभित्रका नारायणी अस्पताल वीरगञ्जमा ५० शैया, गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल राजविराजमा ३ शैया, नेशनल मेडिकल कलेज वीरगञ्जमा ५ शैया, जानकी मेडिकल कलेज रमदैयामा ६०,जनकपुरस्थित सिटी अस्पतालमा २० शैया, प्रादेशिक अस्पताल जनकपुरमा ३ शैयाको आइसोलेशन वार्डको व्यवस्था मिलाइएको प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजयकुमार झाले दाबी गरेका छन् । 

प्रदेशका अधिकांश अस्पतालहरुमा स्वास्थ्यकर्मी र चिकित्सकले प्रयोग गर्ने पिपिई (पर्सनल प्रोटेक्टिभ इक्यूपमेन्ट) समेत अभाव देखिएको छ । रेस्क्यू गर्ने साधन पनि अस्पतालहरुसँग उपलब्ध छैन् । यस्तो अबस्थामा कोरोना संक्रमित भेटिएमा उनीहरूको अवस्था जोखिममा पर्ने निश्चित छ ।

Last modified on 2020-03-23 16:17:02


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts