भरतपुर अस्पतालमा कोरोना संक्रमितलाई उपचार गर्ने तयारी



Download our app to get more features

भरतपुर, १४ चैत । चितवनस्थित भरतपुर अस्पतालले कोरोना प्रमाणित भएका बिरामीलाई उपचार गर्ने तयारी गरेको छ । 

अस्पतालले भाईरसको लक्षण देखिएकाहरुलाई अन्य अस्पतालमा उपचार गराए पनि प्रमाणित भएकाहरुलाई अस्पतालमा पठाउन अनुरोध गरेको छ । “कोरोना प्रमाणित भएकाहरुको उपचार सरकारी अस्पतालमा हुन्छ । त्यसको सम्पूर्ण तयारी हामीले गरिरहेका छौँ ।” अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. श्रीराम तिवारीले आग्रह गरेका छन् ।

अस्पतालले हाल रहेका १९ शय्याको आइसोलेशन वार्डलाई ३० शय्याको बनाउने भएको छ । अस्पतालमा गठित नोेबेल कोरोना रोग रोकथाम तथा नियन्त्रण समन्वय समितिको बिहीबार बसेको बैठकले हाल अस्पतालमा सञ्चालनमा रहेको सर्जरी वार्डको क्याविनमा ११ शैयाको आइसोलेशन थप गर्ने निर्णय गरेको हो । त्यस्तै कोभिड–१९ सङ्क्रमितलाई व्यवस्थापन तथा उपचार गर्नका लागि हाल सञ्चालनमा रहेको न्यूरो वार्डलाई आवश्यक उपकरण थप गरी १० शय्याको सघन उपचार कक्ष सञ्चालन गर्ने निर्णय भएको छ । 

अस्पतालले उपकरण थप गर्नका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसंँग आग्रह समेत गरेको छ । कोरोना संक्रमितहरुको लागि तयारी गर्न लागिएको सघन उपचार कक्षमा भेन्टिलेटर आवश्यक रहेकाले १० भेन्टिलेटर र पिपिई उपलब्ध गराइदिन मन्त्रालयलाई अस्पतालले अनुरोध गरेको छ । साथै अस्पतालले कोरोना भाइरसका बिरामीको उपचारमा खटिने स्वास्थ्यकर्मीको पूर्ण बीमा गरिदिन सरकारसंँग माग गरेको छ । 

पछिल्लो १० दिनभित्र रुघाखोकी तथा ज्वरो आएका, दुई हप्ताभित्र कोरोना जोखिम देशको भ्रमण गरेका वा ती व्यक्तिसँग सम्पर्कमा आएका व्यक्तिलाई आइसोलेशनमा राखेर सेवा दिइने अस्पतालले जनाएको छ । अस्पतालमा हालसम्म १७ जनाको कोरोना सङ्क्रमण परीक्षण भएको र सबैको नतिजा नेगेटिभ आएको बताइएको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts