कोरोनाका बिरामी उपचार गर्नेगरी सैनामैनामा अस्थायी अस्पताल निर्माण सुरु



Download our app to get more features

रुपन्देही, १४ चैत । सैनामैना नगरपालिकाले कोरोना भाइरस नियन्त्रण र उपभारका लागि अस्थायी अस्पताल निर्माण सुरु गरेको छ । अस्पतालको शुक्रबार नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीले शुभारम्भ गरेका छन् ।

सैनामैना नगरपालिका–१ स्थित पद्मपाणि योग तथा प्राकृतिक चिकित्सालयमा कोरोना विशेष अस्थायी अस्पताल बनाउने निर्णय दुई दिनअघि भएको थियो । अस्पतालमा एक चिकित्सकसहित, एक हेल्थ असिटेण्ट र दुई नर्स रहनेछन् । ‘कतिपय गम्भीर बिरामीलाई आवश्यकतानुसार बुटवल वा काठमाडौँ सिफारिस गरिनेछ’, प्रमुख कार्कीले भने ।

बिरामीको लक्षणअनुसार विज्ञ चिकित्सकसँग अनलाइन परामर्श लिइनेसमेत उल्लेख गर्दै नगरप्रमुख कार्कीले बिरामीलाई अलग–अलग राख्ने गरी अस्पतालमा ३० शय्या रहने बताए । विपद् व्यवस्थापनसँग सम्बन्धित रहेको २० लाखमध्ये  पाँच लाखका विभिन्न साम्रगी खरिद भएको जानकारी दिँदै कतिपय रकमलाई रकमान्तर गरेर भए पनि यसलाई प्रभावकारी बनाइने बताए ।
सैनामैनाका उद्योग वाणिज्य सङ्घ, व्यापार सङ्घ, नेपाल रेडक्रस सोसाइटी, रोटरी कलब अफ सैनामैना, लायन्स क्लब अफ सैनामैना, होटल तथा रेष्टुरेष्ट व्यवसायी सङ्घ, नेपाल जेसिसलगायतका विभिन्न सङ्घसंस्थाले सहकार्य गर्ने बताइएको छ । रोटरी क्लब अफ सैनामैनाले कोरोनाविरुद्धको सहकार्यका लागि एउटा एम्बुलेन्स हस्तान्तरण गरेको छ । हेल्थपोष्टमा रहेको एम्बुलेन्स तयारी अवस्थामा राखिएको छ । नगरप्रमुख कार्कीले सैनामैनामा रहेका निजी मेडिकल तथा क्लिनिक बन्द गर्न नहुनेमा जोड दिँदै अहिलेको सङ्कटको घडीमा सबैको साथ र सर्मथन आवश्यक भएको बताए ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले विपद् व्यवस्थापन कोषबाट नै कोरोना भाइरसविरुद्ध काम गरिने जानकारी दिए । सामुदायिक पद्मपाणि योग तथा प्राकृतिक चिकित्सालय केही महिनाअघि मात्रै सञ्चालनमा आएको थियो ।

लगत सङ्कलन हुँदै
कोरोना भाइरसविरुद्ध रुपन्देहीको सैनामैना नगरपालिकाको विभिन्न वडामा टोल संस्थामार्फत लगत सङ्कलन कार्य भइरहेको छ । सैनामैना नगरपालिकाको आग्रहमा वैदेशिक रोजगारीमा गएर फर्किएकामा कोरोना भाइरसको सङ्क्रमण भएको वा नभएको पहिचान गर्न लगत सङकलन कार्य भइरहेको वडा नं ४ का वडाध्यक्ष धनबहादुर कार्कीले जानकारी दिए । वडा नं ४ मा अहिलेसम्म ६ जनाको लगत सङ्कलन भएको र उनीहरुको नियमित जाँच भइरहेको बताइएको छ ।

त्यस्तै वडा नंम्वर ६ मा पनि ४५ जना विदेशबाट आएकाको लगत सङ्कलन भएको छ । उनीहरुलाई निगरानीमा राखेर ज्वरो आउँदा जाँच गर्न पठाउने व्यवस्था मिलाइएको वडाध्यक्ष वसन्त पाण्डेले जानकारी दिए ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts