महावीर पुनले पिपिई निःशुल्क दिने



Download our app to get more features

काठमाडौँ, १४ चैत । महावीर पुनले कोरोना भाइरस संक्रमणका बिरामीको उपचार गर्न चिकित्सकले लगाउने पोशाक व्यक्तिगत सुरक्षा उपकरण (पिपिई) निःशुल्क उपलब्ध गराउने भएका छन् । बिहीबारदेखि पिपिई बनाउन थालेका पुनले सरकार र अस्पताललाई निःशुल्क रुपमा ती सामग्री वितरण गर्ने बताएका हुन् ।

नेपाल मेडिकल काउन्सिलका अध्यक्ष. डा भगवान कोइरालालाई बिहीबार नमूना देखाएपछि साँझैबाट उत्पादन शुरु गरिएको उनले बताए । उनले भने, ‘एउटा पिपिई बनाउनका लागि एक हजार पर्छ, एक हजार उठाउँदै जान सम्भव हुँदैन । त्यसैले तीन सामग्री निःशुल्क दिनेछु ।’ चप्पल कारखाना र पेप्सीकोला दुई ठाउँमा ६ जना मजदुरले अहिले पिपिई उत्पादन गरिरहेका छन् । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्षसमेत रहेका पुनका अनुसार एक जना मजदुरले दिनमा आठ वटा पिपिई बनाउछन् ।

त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, बिपी कोइराला विज्ञान प्रतिष्ठान अस्पताल धरानका चिकित्सकले पिपिई बनाउन भनेपछि उनले बनाउन थालेका हुन् । ‘शिक्षण अस्पतालका चिकित्सकले एउटा नमूना दिनुभयो’ उनले भने, ‘अनि त्यही नमूनाअनुसार मैले पिपिई बनाउन थालेको हुँ ।’ उनले पिपिई बनाउन थालेपछि जिल्लाका अस्पतालबाट चाहियो भनेर फोन आउने गरेकोका बताए ।

मजदुर र कच्चा पदार्थको अभाव
पुनले कोरोना भाइरस रोकथाम गर्न प्रयोग गरिने पिपिई उत्पादन गरे पनि लकडाउनका कारण मजदुर र कच्चा पदार्थ अभाव भएको बताए । ‘मैले चाहिनेजति नै पिपिई बनाउने थिएँ’ उनले भने, ‘तर अहिलेको अवस्थाले गर्दा मजदुर र कच्चा पदार्थ पर्याप्त नपाइएकाले धेरै बनाउन समस्या भइरहेको छ ।’ रासस


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts