यस्ताे छ कोराेना रोकथामका लागि प्रदेश २ काे तयारी, तर जनशक्ति र सामग्रीको भने अभाव



Download our app to get more features

जनकपुरधाम, १४ चैत । विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिएको नोवेल कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रण गर्न सरकारले अहिले देशभर ‘लकडाउन’ गरेको छ । विदेशबाट फर्केका कोरोना शंकास्पद बिरामीको स्वास्थ्य जाँच तीव्र रुपमा गरि रोग निदान गर्न सरकारले देशभरिका स्वास्थ्य संस्था तथा अस्पतालहरुलाई निर्देशन समेत दिएको छ । तर, प्रदेश २ सरकार भने आफ्नै तालमा देखिएको छ । जनकपुरधामस्थित प्रादेशिक अस्पतालले कोरोना संक्रमणका शंकास्पद बिरामीको जाँच गर्ने हालसम्म कुनै तयारी नै गरेको छैन् । 

प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले स्वास्थ्यकर्मीलाई आवश्यक सुरक्षा उपकरणहरु उपलब्ध गराउन नसकेपछि प्रादेशिक अस्पतालमा कोरोना शंकास्पद बिरामीको स्वास्थ्य जाँच हुन सकेको छैन् । शंकास्पद बिरामीहरु अस्पतालसम्म पुग्दा उनीहरुलाई कुनै जाँचै नगरी सोझै काठमाडांै पठाउने गरेको देखिएको छ ।

प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय मातहत रहेको प्रादेशिक अस्पतालमा स्वास्थ्यकर्मीले प्रयोग गर्ने स्यानिटाइजर, पञ्जा, मास्क, गाउन, थर्मल गन, पिपिई लगायतका सामग्रीहरु उपलब्ध हुन नसकेको त्यहाँ कार्यरत नर्सहरु बताउँछन् ।

अस्पतालमा कार्यरत नर्सहरुले आफूहरु स्वयं सुरक्षित नरहेकोले बिरामी नजिक जान कठिनाइ भएको बताउँछन् । अस्पतालले आफूहरुलाई पञ्जा, स्यानिटाइजर, गाउनलगायत सामान्य सामग्रीसमेत उपलब्ध नगराएको उनीहरुको गुनासो छ ।

प्रादेशिक अस्पताल जनकपुरमा कार्यरत नर्स रिभा यादवले भनिन,‘कोरोना भाईरस संक्रमितहरुको स्वास्थ्य जाँचका लागि हामीलाई आवश्यक पर्सनल प्रोटेक्टिभ इक्यूपमेन्ट (पीपीई) त परै जाओस अहिलेसम्म पञ्जा, गाउनसमेत उपलब्ध गराइएको छैन्, कसरी बिरामीको नजिकमा जाने ? आफूहरुले सुरक्षा सामग्री उपलब्ध गराउन आग्रह गरेपनि अस्पताल व्यवस्थापनदेखि प्रदेश सरकार र स्थानीय सरकारसम्मले कुनै चासो नदिएको उनको गुनासो छ । 

कोरोना संक्रमण रोकथाम गर्न प्रदेश सरकारले गम्भीरताका साथ पहल गर्न नसकेको भन्दै व्यापक आलोचना भइरहेको छ । 

आइसोलेशन वार्ड तयारी अवस्थामा
प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजयकुमार झाले यसका लागि प्रदेश राजधानी जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा ३, नारायणी उपक्षेत्रीय अस्पतालमा ५, क्षीरेश्वरनाथ नगरपालिकाको रमदैयास्थित जानकी मेडिकल कलेज एवं शिक्षण अस्पतालमा ६० र वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा ५० वेडको आइसोलेशन वार्ड निर्माण गरिएको जानकारी दिएका छन् । धनुषाको नगराईनस्थित क्वारेन्टाइनमा बिहीबारसम्म ६ जना शंकास्पदलाई राखिएको छ ।

प्रदेश २ मा ५५ क्वारेन्टाईन 
प्रदेश सरकारले धनुषा, सिरहा, सप्तरी र पर्सा लगायतका जिल्लाहरुमा अहिलेसम्म ५५ वटा क्वारेन्टाइन तयारी अवस्थामा राखेको छ । वरिष्ठ जनस्वास्थ्य प्रशासक झाले धनुषाको नगराईन नगरपालिकास्थित गंगुलीमा सय बेड, वीरगन्जस्थित डेन्टल केडियामा ५० र सप्तरीस्थित साई कृष्ण अस्पतालमा ५० बेडको क्वारेन्टाइन तयारी अबस्थमा रहेको जानकारी दिए । त्यस्तै जनकपुरको मणिपाल, सिरहाको महेन्द्र गेनाई, सप्तरीस्थित प्रहरी अस्पतालमा क्वारेन्टाइन निर्माण भइरहेको उनले बताए । अन्य ठाउँमा पनि चाँडै क्वारेन्टाइन निर्माण गरिने झाको भनाइ छ । वीरगञ्जस्थित १ हजार ५० बेडको नेशनल मेडिकल कलेजले आफ्नो सबै कोठाहरु क्वारेन्टाइनका लागि सरकारलाई उपलब्ध गराएको अधिकृत झाले बताए । 

८ सय ५० बेड क्षमताको क्वारेन्टाईन
प्रदेश २ को धनुषा, सिरहा, सप्तरी र पर्सा लगायतका जिल्लाहरुमा अहिलेसम्म तयारी अबस्थामा रहेका ५५ वटा क्वारेन्टाइनमा साढे आठ सय बेड क्षमता रहेको बताइएको छ । प्रदेशभरिका स्थानीय तहहरुले पनि गाउँगाउँमा क्वारेन्टाइनहरु तयारी अवस्थामा राखेको अधिकृत झाले बताए । 

१ सय ६५ जना क्वारेन्टाईनमा
प्रदेश २ मा कोरोनाको आंशकामा अहिलेसम्म १ सय ६५ जनालाई ‘क्वारेन्टाइन’मा राखिएको छ । उनीहरुलाई विभिन्न अस्पताल र स्थानीय तहमा बनाइएको क्वारेन्टाइनमा राखिएको हो । कतार, मलेसिया र भारतका विभिन्न शहरमा रोजगारी गरी फर्केकाहरुलाई क्वारेन्टाइनमा राखिएको झाले जानकारी दिए । 

३ जनाको रिजल्ट नेगेटिभ
प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत बिजयकुमार झाले प्रदेश २ मा कोरोनाका ३ जना शंकास्पद विरामीको स्वाब परीक्षणका लागि काठमाडौं पठाइएकोमा सबैको रिजल्ट नेगेटिभ आएको जानकारी दिएका छन् । कोरोना संक्रमणको आशंका गरिएका तीनजनामा परीक्षणपछि नेगेटिभ परिणाम भेटिएको झाले बताए । काठमाडौंको टेकुस्थित अस्पतालले तीनैजनामा कोरोना संक्रमण नरहेको पुष्टि गरेको झाले जानकारी दिए । उनले कुनै पोजेटिभ केश फेला परे त्यसको उपचारका लागि पनि हामी पूर्ण तयारी अवस्थामा रहेको बताए । 

स्वास्थ्यकर्मीलाई पिपिईको अभाव 
कोरोना संक्रमितको उपचार गर्न आइसोलेशन वार्डसम्म पुग्नलाई स्वास्थ्यकर्मी पुर्ण तयारी अबस्थामा सुरक्षाकवच लगाएर मात्रै त्यहाँ प्रवेश गर्नुपर्ने हुन्छ । अर्थात उनीहरुलाई आफ्नो व्यक्तिगत सुरक्षामाथि ध्यान पुर्याउँदै आइसोलेशन वार्डमा पुग्नुपर्छ । तर प्रदेश २ मा स्वास्थ्यकर्मीले प्रयोग गर्ने पर्सनल प्रोटेक्टिभ इक्यूपमेन्ट (पीपीई) को अभाव रहेको प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत बिजयकुमार झाले बताए । उनले यसका लागि पनि प्रदेश सरकारसँग समन्वय गरेर तयारीमा लागेको जानकारी दिए । 

पिसिआर मेशिन ल्याउने तयारी
कोरोनाको पोजेटिभ नेगेटिभ केश छुट्याउने रियलटाईम पिसिआर मेशिन जनकपुरमै ल्याउने तयारी भईरहेको प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत बिजयकुमार झाले जानकारी दिए । उनले कोरोना संक्रमितहरुको रिजल्ट पत्ता लगाउन कठिनाई भईरहेको अवस्थामा प्रदेश सरकारसँग समन्वय गरि सो मेशिन जनकपुरमै ल्याउन आफुहरुले तयारी गरिरहेको बताए ।

Last modified on 2020-03-27 17:03:02


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts