मेडिकल सामग्री लिन एनएसीको वाइडबडी जहाज आज ग्वाङ्जाओ जाँदै 



Download our app to get more features

काठमाडौ, १५ चैत । छिमेकी मुलुक चीनबाट मेडिकलजन्य सामग्री लिन राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमको वाइडबडी जहाज आज मध्यान्ह त्यसतर्फ जाँदैछ । 

वाइडबडी ए–३३० जहाज मध्यान्ह साढे १२ बजे चीनको ग्वाङ्जाओ पठाउने तयारी गरिएको निगमले जनाएको छ । मेडिकल कार्गो उडानका लागि निगमको वाइडबडी जहाजले नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणबाट उडान अनुमति पाइसकेको छ ।

प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले निगमको वाइडबडी जहाज ग्वाङ्जाओ पठाउने सबै प्रक्रिया पूरा भएको भन्दै वाइडबडी जहाज काठमाडौँबाट खाली जाने र आजै राति चीनबाट मेडिकल सामग्री लिएर फर्कने बताए । 

करिब ३० टन मेडिकल सामग्री रहेको बताइएको छ । 

निगमका अपरेशन विभाग प्रमुख क्याप्टेन दिपु ज्वार्चनले निगमको वाइडबडी जहाज आज मध्यान्ह चीन जाने र उताबाट मेडिकल सामग्री लिएर राति साढे १० बजे नेपाल फर्कने जानकारी दिए । निगमको यो उडानमा चालकदलसहित १० प्राविधिक जनशक्ति खटिने ज्वार्चनले बताए ।     

ज्वार्चनले स्वास्थ्य मन्त्रालयले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई आग्रह भएबमोजिम निगमले उक्त निर्णयलाई कार्यान्वयन गरेको उल्लेख गरे ।

वाइडबडी जहाजले कोभिड–१९ परीक्षण गर्ने किट र पिपीइलगायतका औषधिजन्य सामग्री ल्याउनेछ । चीनको वुहानमा रहेका नेपालीलाई उद्दारका लागि पनि निगमकै वाइडबडी जहाज प्रयोग गरिएको थियो ।

सरकारले कोभिड–१९ परीक्षण तथा उपचारका लागि अत्यावश्यक सामग्री चीनबाट ल्याउने यसअघि नै निर्णय गरेको थियो । 

कोरोना भाईरस सङ्क्रमण नियन्त्रणका लागि नेपाल सरकारले यही चैत ११ देखि १८ गतेसम्म देशभर लकडाउन गरेको छ । यो अवस्थामा आपतकालीन, कार्गो, उद्दारलगायत उडान मात्र हुनेछ । अहिले आन्तरिकतर्फ पनि लुक्ला पोखरालगायत गन्तव्यबाट विदेशी नागरिकको उद्दार उडान भइरहेको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts