धनगढीका कोरोना संक्रमित व्यक्तिलाई डाक्टरले भेटे, स्वास्थ्य अवस्था सामान्य



Download our app to get more features

धनगढी, १५ चैत । सेती प्रादेशिक अस्पतालमा भर्ना भएका धनगढीका ३४ वर्षीय पुरुषलाई कोरोनो संक्रमण भएको पुष्टि भएपनि उनको स्वास्थ्य अवस्था भने सामान्य रहेको चिकित्सकहरुले बताएका छन् । आज मध्यान्न बिरामीलाई भेट्न गएका डाक्टरहरुले संक्रमित युवकको स्वास्थ्य अवस्था सामान्य नै रहेको बताएका हुन्।

मध्यान्न सेती प्रादेशिक अस्पतालका मेसु डाक्टर हेमराज पाण्डेय, डाक्टर शेरवहादुर कमर, निराजनदत्त शर्मा पौडेल, जगदिश जोशी लगायत डाक्टरहरुले उनको स्वास्थ्य अवस्था बुझेका थिए। स्वास्थ्य अवस्था बुझेपछि डाक्टर कमरले उनको स्वास्थ्य अवस्था सामान्य नै रहेको बताए।

उनले भने, ‘आईसोलेसनमै खाना र तातो पानीको पनि व्यवस्थापन गरिएको छ। केही समस्या भए फोन गर्नु भनेका छौं। अस्पतालमा ड्युटीमा रहेका चिकित्सकहरुले बेला–बेला उनको स्वास्थ्य अवस्था बुझिरहनेछन्।’

सेती प्रादेशिक अस्पतालले उनको उपचारमा कुनै कमजोरी नभएको दावी गरेको छ। उनलाई अस्पतालको छुट्टै कोठामा राखिएको छ। सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत रहेका धनगढी उप–महानगरपालिका वडा नम्वर ५ का ३४ बर्षीय पुरुषमा कोरोनाको संक्रमण देखिएको थियो। उनी चैत ८ गते काठमाडौँ–नेपालगञ्ज हुँदै धनगढी आएका थिए।

ति युवक युएईको दुबईबाट भारतको राजधानी दिल्लै हुँदै काठमाडौँ पुगेका थिए। २१ मार्च अर्थात चैत ८ गते काठमाडौँबाट नेपालगञ्ज हुँदै धनगढी पुगेका थिए। उनी बुद्ध एयरको विमानबाट नेपालगञ्ज पुगेका थिए भने नेपालगञ्जबाट सार्वजनिक बस हुँदे धनगढी आएका थिए। 

८ गते धनगढी पुगेका उनी चैत ११ गते सेती प्रादेशिक अस्पताल भर्ना भएका थिए। उनीमा कोरोना संक्रमणको पुष्टि शुक्रमवार मात्रै भएको हो। उनको स्वाब अस्पतालले संकलन गरेर टेकुस्थित जनस्वास्थ्य प्रयोगशालामा पठाएको थियो जहाँ परीक्षण हुँदा कोरोना पोजेटिभ पाइएको हो।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts